सदाबहार स्वरसम्राट

भाइबहिनीहरू नेपाली संगीत क्षेत्रमा थुप्रै कुशल गायकगायिकाको योगदान छ । तीमध्ये नारायणगोपाललाई महत्त्वपूर्ण रूपमा हेरिन्छ । उनलाई नेपाली संगीत क्षेत्रमा स्वरसम्राटको उपाधिले सम्मानित गरिएको छ । स्वरसम्राट भनेको ‘स्वरको राजा’ हो ।
उनको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो । विसं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडांैको किलागलमा उनको जन्म भएको हो । सबैभन्दा सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुन् उनी । नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेसाका रूपमा अँगाले । उनले करिब पाँच सयवटा नेपाली गीत गाएका छन् । उनका गीत नेपाली चलचित्र तथा नाटकमा पनि प्रयोग गरिएका छन् । विसं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार दाजु–भाइ र तीन दिदी–बहिनीमध्येका एक नारायणगोपालले मानविकीशास्त्रमा स्नातकोत्तर गरे । भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन सुरु गरे पनि पूरा नहुँदै नेपाल फर्किए ।
नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए । नजिकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिङ बस्ने प्रेमध्वज प्रधान हिन्दी गीतमा स्वराभ्यास गर्थे । तर, नारायणगोपाल भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाइदिन्थे । प्रेमध्वज र माणिकरत्नका अनुसार उनी हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउँथे रे ।
उनलाई नेपाली गीत गाउन उक्साइयो । स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो–भो मलाई नछेक, मधुमासमा यो दिलजस्ता गीत गाएपछि उनी एकाएक चर्चित बने । उनले गीतको चयन, शब्दको छनोट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए, जसकारण नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अकासिँदै गयो । यस समय नेपाली संगीतमा जमजमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलास, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसित स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे । उनले दार्जिलिङमा गएर संगीतकार गोपाल योञ्जनसँग मितेरी साइनो पनि लाए । यही क्रममा नारायणगोपालले गोपाल योञ्जनसित मिलेर असाध्य लोकप्रिय शैलीका आधुनिक गीत गाए ।
पछि उनले भूपी शेरचनको सानै हुरीमा बैँसको सपना, अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा र भीम विरागको रचना र संगीतमा तिमीले पनि मजस्तै माया दिएर हेर गाए ।
नारायणगोपाल राष्ट्रिय नाचघरमा जागिरे पनि भए । एक सफल गायक मानिने नारायणगोपालले यसका लागि जिन्दगीमा गरेका संघर्षमा कयौँचोटि असफलता पनि भोगेका छन् । उनी पहिलोपटक स्वरपरीक्षामा अनुत्तीर्ण भएका थिए भने भारतको बडोदास्थित महाराज फिरदौस संगीत महाविद्यालयको पढाइ अपूरो छाडेर फर्किए । चलचित्र माइतीघरमा पाश्र्वगायकका रूपमा गीत गाउन जाँदा उनी अस्वीकृत गरिएका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा पनि उनले थुप्रै संघर्ष गरे । तैपनि उनी आफ्नो कर्ममा लागिरहे र सफल बने ।
नारायण गोपालले धेरै पुरस्कार पनि पाए । सर्वोत्तम संगीतकार (रेडियो नेपाल), सर्वाेत्तम गायक (रेडियो नेपाल), रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु चौथो, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, लायन्स अवार्ड, छिन्नलता पुरस्कार आदिबाट उनी सम्मानित भए ।
खाना बनाउने, चेस खेल्ने, चंगा उडाउने, फुटबल म्याच हेर्ने उनका सोख थिए । उनको निधन विसं. २०४७ मंसिर १९ गते राति ९ बजे वीर अस्पतालमा भएको भयो ।

प्रतिक्रिया