मेसीसित तुलना गरिंदा रोनाल्डोलाई चिन्ता


म्याड्रिड, ६ जेठ । रियल म्याड्रिडका पोर्चुगाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लिओनेल मेसीसँग आफ्नो तुलना गरिदिंदा आफूलाई चिन्ता हुने गरेको बताएका छन् । दुई फरक शैलीका खेलाडी भएकाले बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेसीसँग आफूलाई तुलना गर्न नमिल्ने रोनाल्डोको भनाइ छ ।
दुवैले क्लबका लागि सक्दो योगदान गरेको र त्यसैकारण आफूहरूले नयाँ उचाइ प्राप्त गरेको सिएनएन स्पोटर््सले गरेको कुराकानीमा यी पूर्वफिफा वर्षखेलाडीले बताए । तर जब दुईमध्ये ‘को उत्कृष्ट’ भन्नेबारे उत्तर दिन दबाब दिइएको थियो, त्यसमा भने रोनाल्डोले अहिले मेसीभन्दा आफू माथि रहेको बताएका थिए । ‘कहिलेकाहीं यस्ता प्रश्नले मलाई थकित बनाउँछ ।’ लगातार तीनपटक फिफा वर्षखेलाडी घोषित मेसीसँग तुलना गराउन खोज्दा रोनाल्डोले भने, ‘किन जहिले पनि मलाई मेसीसँगै तुलना गरिन्छ । तर हामीलाई तुलना गर्न मिल्दैन किनकि हामी फरक ‘इन्जिन’ भएका खेलाडी हौं । उनले बार्सिलोना र मैले म्याड्रिडका लागि सक्दो योगदान गरेका छौं । त्यसैले यसक्रममा हामी आफैले स्वयंलाई पराजित गरी नयाँ कीर्तिमान पनि बनाएका छौं ।’
मेसीसँग खेलका क्रममा हुने झगडा उत्कृष्टताका लागि नभएको उनले जिकिर गरे । ‘कहिलेकाहीं खेलका क्रममा हामी एकअर्कालाई ठेलाठेल गर्छाैं किनभने यस्ता खेल धेरै दबाबपूर्ण हुन्छन् । बार्सिलोना र रियल विश्वकै उत्कृष्ट क्लब भएकाले मलाई लाग्छ यस्तो भएको हो,’ रोनाल्डोले थप प्रष्टयाए, ‘यी सबै घटना को चाहिं राम्रो भन्नका लागि होइन । म आफूलाई कोहीसँग पनि तुलना गर्न रुचाउँदिन । तर मानिसहरूबाट तुलना भएको पाएको छु । कसैले मलाई सर्वोत्कृष्ट भन्छन् भने कसैले मेसीलाई । तर यदि अहिलेको समयमा को सर्वोत्कृष्ट भनियो भने मलाई लाग्छ त्यसमा मेरो विकल्प छैन ।’
यस सिजनमा स्पेनिस लिगमा रोनाल्डोले ४६ गोल गरेका थिए भने मेसीले ५१ । युरोपस्तरका घरेलु लिगमा सर्वाधिक गोलकर्ता भएर मेसीले युरोपियन गोल्डेन बुट पाउने निश्चित भइसकेको छ । मेसी पछिल्ला तीन संस्करणमा लगातार फिफा वर्षखेलाडी घोषित भइसकेका छन् र थप अर्कोपटकका लागि पनि बलियो प्रत्यासी बनिसकेका छन् । रोनाल्डो सन् २००८ मा फिफा वर्षखेलाडी भएका थिए ।
यसैबीच रोनाल्डोले पुन: एकपटक रियल म्याड्रिड छाड्न सक्ने संकेत गरेका छन् । ‘कसलाई थाहा छ र भविष्यमा के हुन्छ ?’ कूटनीतिक शैलीमा उनले भने । इटालियन सेरी ए क्लबमा जान सक्ने चर्चालाई केही समयअघि रोनाल्डो स्वयंले सम्भावना औंल्याएका थिए । इङलिस क्लब म्यानचेस्टर युनाइटेडमा ६ वर्ष रहिसकेपछि रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियलतर्फ लागेका थिए ।

प्रतिक्रिया