ममताको सनक

कोलकाता : आफूमाथि व्यंग्य गरिएको कार्टुन बनाउने प्राध्यापक अम्बिकेश महापात्रलाई गिरफ्तार गराएको प्रसंग नउठेको भए पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको होस गुम्ने थिएन होला ! तर, विश्वविद्यालयकी एक छात्राले यो प्रसंग उठाएपछि एकाएक सन्किएकी ममता ती विद्यार्थीसँग चर्चरी बाझिन् र कार्यक्रम हलबाट रिसाउँदै बाहिरिइन् ।
‘त्यो कार्टुन थिएन, न कार्टुन बनाउने मान्छे प्राध्यापक थियो । ऊ त भारतीय माक्र्सवादी पार्टीको एजेन्ट थियो, जो मेरो हत्या गर्ने राजनीतिक षड्यन्त्रमा लागिपरेको थियो,’ उनले भनिन् । जयदेव विश्वविद्यालयकी एक छात्राले गिरफ्तारीबारे अर्को प्रश्न गरेपछि ममताले झोक्किँदै भनिन्, ‘के तँ माओवादी होस् ? होइन भने, यस्तो प्रश्न किन गर्छेस् ?’
‘पहिले माओवादीलाई खुब सहयोग गर्नुभएको थियो, अहिले किन यस्तो भन्नुहुन्छ ?’ दर्शकदीर्घाको अर्को प्रश्नमा उनले भनिन्, ‘यो सत्य होइन, तिमेरू वाहियात कुरा गर्दै छौ ।’ यस विषयमा थप प्रश्न उठ्ने देखिएपछि हड्बडाउँदै ममताले भनिन्, ‘सोध्ने कुरा के यी मात्रै हुन् ? यहाँ के वाहियात काम भइरहेको छ ?’ अन्त्यमा उनले हलमा उपस्थित सबैलाई कम्युनिस्टको आरोप लगाइन् । ‘यहाँ सबै माओवादी छन् । म माओवादी र माक्र्सवादीलाई जवाफ फर्काउँदिनँ’, उनले यसो भन्दै गर्दा विद्यार्थी डराएका थिए । परिस्थिति आफ्नो पक्षमा नदेखेपछि कार्यक्रम सञ्चालकलाई ‘यहाँ यस्तो हुन्छ भनरे पहिल्यै किन नभनेको’ भन्दै उनी बाहिरिएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया