सीमा उल्लंघन गरेको भारतीय आरोप अस्वीकार

बेइजिङ, ७ जेठ । चिनियाँ फौजले चीन–भारत सीमा उल्लंघन गरेको आरोप चीनले अस्वीकार गरेको छ । भारतीय गृहमन्त्री मुल्लापाल्ले रामाचन्द्रनले सन् २०१० को जनवरीयता चिनियाँ फौजले दुई देशबीचको चार हजार ५७ किलोमिटर लामो सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पाँच सयपटक उल्लंघन गरेको आरोप लगाएपछि प्रतिवाद गर्दै चिनियाँ विदेश प्रवक्ता होङ लिले शुक्रबार आरोप अस्वीकार गरेका हुन् ।

द्विपक्षीय सहमति कार्यन्वयन गरी सीमा क्षेत्रमा शान्ति सुनिश्चित गर्न चीन प्रतबद्ध रहेको प्रवक्ता लिले बताए । ‘चीन र भारतबीचको सीमाबारे चीनको दृष्टिकोण स्पस्ट र स्थिर छ । द्विपक्षीय सहमति कार्यान्वयन गरी सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्न चीन प्रतिबद्ध छ,’ उनले भने ।
सन् २०१० मा दुई सय २८, सन् २०११ मा दुई सय १३ र त्यसयता ६४ पटक गरी दुई वर्षभित्र चिनियाँ फौजले करिब पाँच सयपटक सीमा उल्लंघन गरेको आरोप गृहराज्यमन्त्री रामाचन्द्रनले लगाएका थिए ।
भारतीय सञ्चारमाध्यममा चीनको ‘अन्तरसीमा आक्रमकता’ को व्यापक विरोध भइरहेका बेला चिनियाँ सञ्चारमाध्यमले भने भारतले उल्टै चीनको सीमा उल्लंघन गरेको आरोप लगाएका छन् । चीनको राज्यसञ्चालित पत्रिका ‘ग्लोबल टाइम्स’ले राजनीतिक विश्लेषक वाङ देहुवालाई उद्धृत गर्दै लेखेको छ, ‘भारतले लगाएको आरोपभन्दा कम्तीमा दोब्बर संख्यामा यही अवधिमा भारतीय पक्षबाट ‘अन्तरसीमा आक्रमकता’ भएको छ ।’ भारतले सीमा उल्लंघन गरेको आरोप लगाउादा कुनै लाभ हुने नदेखेकाले चीन चुप लागेको उनले बताए । ‘अवस्थालाई जटिल र तनावपूर्ण नबनाउने दुवै पक्षबीच भएको सहमतिबमोजिम चीनले भारतीय पक्षबाट भएको सीमा उल्लंघनको घटना ढाकछोप गर्दै आएको छ किनकि यस्तो विवादबाट चीन–भारत सीमा विवाद सुल्झँदैन,’ वाङले भने । ‘साउथ चाइना सी’ बाट चीनको ध्यान मोड्न अमेरिकाले भारतलाई चीनसँगको सीमावर्ती क्षेत्रमा विवाद उत्पन्न गर्न उक्साएको आरोपसमेत उनले लगाएका छन् ।
भारतले एलएसीलाई आधिकारिक चीन–भारत सीमा मान्दै आए पनि चीनले अस्वीकार गर्दै आएको छ । तिब्बतमा चीनले सैन्य पूर्वाधार विकास गरेपछि भारतीय भूमिमा घुसपैठ गर्न चीनलाई हौसला मिलेको भारतीय विश्लेषकको बुझाइ छ । तिब्बतमा पाँचवटा हवाईअड्डा, बृहत् रेल सञ्जाल र ५८
हजार किलोमिटर लामो सडक निर्माण भइसकेको छ । एजेन्सी

चीन ‘हाइ एलर्ट’मा
‘साउथ चाइना सी’मा रहेको हुवानग्यन टापुको स्वामित्वलाई लिएर चीन र फिलिपिन्सबीच विवाद चुलिँदै गरेका बेला चीनले टापुको सुरक्षाका लागि ‘हाइ एलर्ट’ रहने निधो गरेको छ । फिलिपिन्सका अवकाशप्राप्त सैनिकहरूले टापुमा फिलिपिनी झन्डा फहराउने योजना बनाएको सार्वजनिक भएपछि चीनले ‘हाइ एलर्ट’ रहने निधो गरेको हो ।
चिनियाँ विदेशप्रवक्ता होङ लिले हुवानग्यन टापु चीनको भूभागअन्तर्गत पर्ने बताए । टापुमा फिलिपिनी झन्डा फहराउने विषयप्रति आफूहरूको ध्यानाकर्षण भएको टिप्पणी गर्दै उनले टापुमाथिको आक्रमकता रोक्न ‘हाइ एलर्ट’ रहने निधो गरिएको प्रस्ट पारे । गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिन र अतिवादी व्यवहार प्रदर्शन नगर्न उनले फिलिपिन्सलाई सचेत गराए । समस्या समाधानका लागि ‘कूटनीतिक समाधानको सही मार्ग’ अवलम्बन गर्न उनले सुझाब दिए ।

प्रतिक्रिया