‘दैनिक सातजना आउँथे’

हेटौंडा, ७ जेठ । ‘ग्राहक खुसी भएनन् भने चुरोटले पोल्थे,’ १५ वर्ष भारत मुम्बईको कोठीमा नारकीय जीवन बिताएकी मकवानपुर राक्सिराङ–८ की बिन्दिया तामाङ (नाम परिवर्तन) ले भनिन्, ‘दैनिक सातजनासम्म आउँथे र सबैलाई खुसी पार्नै पथ्र्यो ।’

तामाङ आफ्नै पतिबाट भारत मुम्बईको कोठीमा बेचिएकी अभागी महिला हुन् । १५ वर्ष कोठीमा नारकीय जीवन बिताएकी तामाङ तरकारी किन्ने बहानामा बजार निस्केर केही नेपाली महिलाको सहारामा नेपाल फर्कन सफल भएकी हुन् । २१ चैतमा नेपाल फर्किएकी तामाङले आफूलाई वेश्यालयमा पुर्‍याउने पति र दुई मतियारलाई पक्राउन सफल भएकी छिन् ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँ । गरिबी र अभावका बीच चढ्दो उमेरसँगै पलाएका अनेक सपनामा बहकिएर तामाङ ०४५ सालमा काठमाडौंमा गलैँचा बुन्न पुगेकी थिइन् । उनलाई मनहरी– ३ का सीताराम थिङले गलैँचामा काम दिएका थिए भने विवाह गरेको भनेर सँगै पाँच महिना राखेका थिए ।
उनी सम्झन्छिन्, ‘गलैँचामा ल्याएर काममात्र दिएनन्, विवाह गरेको भनेर पाँच महिना सँगै राखेपछि एउटी नारीलाई अरु के सुख चाहियो र ?’ तर उनै पतिले भारत बनारसमा काम गर्न जाउँ भन्दै अरु चारसहित उनलाई पनि गोरखपुर हुँदै मुम्बइ पुर्‍याए वेश्यालयमा बेचेका थिए ।
‘सत्य भन्ने शशिकुमार तितुङ् र श्याम बम्जनले बनारसमा काम खोजेको भन्दै ढाँटेर हामीलाई मुम्बइ पुर्‍याइयो,’ तामाङले भनिन्, ‘त्यतिखेर म गर्भवती भइसकेको थिएँ ।’ मुम्बई पुर्‍याएपछि श्याम लामाले होटलमा लगेको उनले प्रहरीलाई बताएकी छिन् । ‘नेपाली मूलका शिला र बिमला नामका केटीहरूसँग हामीलाई छाडेर पति, सत्य र श्यामले बजार घुम्न जाने भनेर निस्किएको उनले बताइन् । ‘हामी त कोठीमा ५० हजार रुपियाँमा बेचिएछौँ,’ उनले सुनाइन् ।
‘रत्ननगर नगरपालिका–१३ जयमंगलामा बसोबास गरिरहेका पति सीताराम तामाङलाई खोजेर उनले पक्राउ गराएकी छिन् । उनले सत्य भनिने शशिकुमार र श्याम पदमपोखरीमा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी छन् । उजुरीका आधारमा प्रहरीले तीनैलाई पक्राउ गरेर मानव बेचविखनविरुद्धको मुद्दा चलाएको छ । ‘नेपाल फर्किन पाएँ,’ उनले भनिन्, ‘पत्नी बनाएर वेश्यालयमा बेच्ने पतिलाई पक्राउ गराउँन सकेँ, १५ वर्ष मैले पाएको पीडा भुल्न नसकेपछि उनीहरू भाग्न पाएनन्, यसैमा खुसी छु ।’

प्रतिक्रिया