साइकल चढेर परीक्षा अनुगमन

काठमाडौं, ६ जेठ । उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारीले बन्दका कारण महँगा गाडी छाडेर साइकलमै चढेर परीक्षाको अनुगमन गरेका छन् । परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्र र सदस्य–सचिव भीमलाल गुरुङले शुक्रबार बन्दका कारण साइकल चढेर काठमाडौंमा कक्षा ११ को परीक्षा केन्द्र अनुगमन गरेका हुन् ।

उनीहरूले काठमाडौंको भिएस निकेतन र एसभी एकेडेमी उमाविलगायत परीक्षा केन्द्रमा अनुगमन गरेका थिए । साइकल चढेरै भए पनि गरिएको अनुगमनबाट उपलब्धि भएको उनीहरूले बताएका छन् । सदस्य–सचिव गुरुङका अनुसार अनुगमनका क्रममा भिएस निकेतन परीक्षा केन्द्रबाट एकजना पर्यवेक्षकलाई निष्कासन गरिएको छ । तीन पर्यवेक्षक रहेको उक्त केन्द्रमा एकजना आएको नपाइएपछि जिम्मेवारीबाट हटाइएको गुरुङले बताए ।
उनले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन अनुगमन आवश्यक रहेको बताए । ‘बन्दका बेला गाडी तोडफोड हुनसक्ने भएकाले साइकलमै भए पनि अनुगमनमा गयौँ,’ उनले भने, ‘बन्द भइरहे पनि परीक्षा र अनुगमनलाई निरन्तरता दिन्छौँ ।’
अनुगमनका लागि उपाध्यक्ष मिश्र गौशालादेखि बानेश्वरसम्म गएका थिए भने गुरुङ शंखमूलबाट बानेश्वरलगायत क्षेत्रमा पुगेका थिए । गुरुङले भने, ‘अनुगमन गर्दा फारम लिएर गएका थियौँ, परीक्षाका राम्रा तथा नराम्रा पक्ष सबै आएका छन्, यसले आगामी दिनमा परीक्षालाई झन् व्यवस्थित बनाउन सहयोग गर्नेछ ।’
विगतमा भन्दा यो वर्ष परीक्षा धेरै व्यवस्थित भएको उनीहरूको दाबी छ । यो वर्ष परीक्षाको समयमा बन्दै–बन्द भए पनि विद्यार्थीलाई असर नपारेको उनीहरू बताउँछन् । ‘बन्दले सवारीसाधन नचल्दा विद्यार्थी केही समय हिँड्नुपरेको छ तर परीक्षा नै प्रभावित बनेको छैन,’ गुरुङले भने, ‘विगतमा प्रश्नपत्रलगायतमा गुनासो आउने गरेको थियो, यो वर्ष त्यस्ता गुनासा आएका छैनन् ।’
यस वर्षदेखि परिषद्ले कक्षा ११ र १२ का परीक्षामा दुई खालका प्रश्नपत्र निर्माण गरेको छ । परिषद्का अनुसार कुनै एक ठाउँमा प्रश्नपत्र बाहिरिए देशभरका विद्यार्थीले दु:ख नपाउन् भनेर दुई किसिमको प्रश्नपत्र निर्माण गरिएको हो ।
३१ वैशाखमा सुरु भएको कक्षा ११ को परीक्षामा चार लाख ६२ हजार १५ परीक्षार्थी सामेल छन् । नौ सय २५ परीक्षा केन्द्रमा ३१ हजार ६ सय ६ जना जनशक्ति परिचालन गरिएको छ । यसअघि भएको कक्षा १२ को परीक्षामा चार लाख पाँच हजार पाँच सय २६ परिक्षार्थी सहभागी थिए । ३० हजार दुई सय ६८ कर्मचारी परीक्षामा खटिएका थिए ।

प्रतिक्रिया