यिनलाई भारत फर्काऊ

काठमाडौं, ६ जेठ । नेपाली राजनीतिमा घुसेर नेताहरूलाई आºनो इच्छाअनुसार चलाउन तल्लीन भारतीय राजदूत जयन्तप्रसादले शुक्रबार भने फरक परिस्थितिको सामना गर्नुपर्‍यो । परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले उनलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण लिए ।

नेपालको कूटनीतिक इतिहासमा एउटा विरलै हुने घटना हो यो । वीरगन्जस्थित महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले स्थानीय मधेसी नेतालाई ‘मधेसमा आन्दोलनको आँधी–बेहरी ल्याउन’ उक्साएकोबारे मन्त्रालयले उनको स्पष्टीकरण लिएको हो ।
‘सचिवज्यूले भारतीय राजदूतलाई बोलाएर राजनीतिक दलहरूलाई आन्दोलन गर्न उक्साएको समाचारबारे गम्भीर चासो व्यक्त गर्नुभयो,’ मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले भने, ‘राष्ट्रिय तथा क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता र सामाजिक सद्भावमा आँच आउनेगरी अभिव्यक्ति दिएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।’
यस्ता घटनाले नेपाल–भारतको मैत्री सम्बन्धमा आँच आउन सक्ने भन्दै सचिव भट्टराईले भारतले यसबारे आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्नेमा ‘नेपाल सरकार विश्वस्त रहेको’ बताएका थिए । जवाफमा राजदूत जयन्तले प्रारम्भिक छानबिनका क्रममा मेहताको भनाइलाई गलत व्याख्या गरी समाचार प्रकाशन भएको पाइएको दाबी गरे । प्रवक्ता थापाले सौर्यसँग भने, ‘यसबारे भारत सरकारले थप छानबिन गर्ने र दोषी पाइएमा कारबाही गर्ने आश्वासनसमेत (राजदूतले) दिनुभएको छ । उहाँले भारत सधँै नेपालको स्थिर, लोकतान्त्रिक र समृद्ध नेपालको पक्षमा रहेको बताउनुभएको छ ।’
मेहताले बुधबार वीरगन्जमा स्थानीय मधेसी नेता–कार्यकर्ता भेला गरी मधेसमा आन्दोलनको आँधी–बेहरी सिर्जना गर्न उक्साएको समाचार सञ्चारमाध्यममा आएको थियो । समाचारअनुसार ११ प्रदेशको संघीयतामा मधेसलाई टुक्रा गरिँदा आºनो हृदय टुटेको समेत उनले बताएका थिए ।
तत्काल फिर्ता गर : तीन दल
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर मेहताको उत्तेजक अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा खुला हस्तक्षेप गरेको भन्दै तीन दलका शीर्ष नेताले आपत्ति जनाएका छन् । उनीहरूले कूटनीतिक मर्यादाविरुद्ध अभिव्यक्ति दिने विदेशी अधिकारीलाई फिर्ता पठाउन सरकारसित माग गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान बसेको तीन दलको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसहित शीर्ष नेताहरूबीच मेहताको अभिव्यक्तिबारे छलफल भएको थियो । छलफलमा भारतीय कूटनीतिज्ञले नेपाली समाजलाई द्वन्द्वमा धकेल्न खोजेको निष्कर्ष नेताहरूले निकाले ।
यसैबीच, एमालेको बैठकले पनि मेहतालाई फिर्ता पठाउने पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकपछि एमाले अध्यक्ष खनालले विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन् ।
केन्द्रीय कमिटीको अपर्झट बसेको बैठकले एक मधेस प्रदेशका लागि अन्दोलन चर्काउन मेहताले दिएको दबाबप्रति तीव्र आपत्ति जनाएको थियो । ‘जेठ ३ गते भारतीय दूतावासका कन्सुलर मेहताले राजनीतिक दलका स्थानीय प्रतिनिधिलाई आमन्त्रण गरी दिएका आपत्तिजनक, विवादास्पद अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ खनालको विज्ञप्तिमा उल्लेख छ, ‘उत्तेजक र नेपाललाई द्वन्द्वतर्फ धकेल्ने निजको अभिव्यक्तिप्रति नेकपा एमाले घोर भत्र्सना गर्दछ ।’
एमालेले कतिपय भारतीय अधिकारीले अनावश्यक र हस्तक्षेपकारी रुचि देखाएकोप्रति भारत सरकारसमक्ष आपत्ति जनाउनसमेत माग गरेको छ । मेहताको अभिव्यक्ति र पछिल्लो समय भारतीय कूटनीतिक अधिकारीले नेपालको आन्तरिक मामिलामा देखाएको अस्वाभाविक चासोप्रति एमाले केन्द्रीय सदस्यहरू बैठकमा कडा रूपमा प्रस्तुत भएका थिए । उनीहरूले नेपालका दलहरूको राजनीतिक बैठकमा राजदूतको उपस्थिति र मुलुकको अखण्डताका सम्बन्धमा अत्यन्तै संवेदनशील क्षेत्रमा कन्सुलरले गरेको आह्वान कुनै पनि स्वतन्त्र मुलुकका लागि सैह्य नहुने बताएका थिए । बैठकमा नेताहरू रघुजी पन्त, योगेश भट्टराई, प्रकाश ज्वाला, भानुभक्त ढकाल, रकम चेम्जोङलगायतले मेहताको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका थिए ।
लैनचौरमा ज्ञापनपत्र
एमालेसम्बद्ध जनसंगठनहरूले मेहताको अभिव्यक्तिविरुद्ध लैनचौरस्थित भारतीय दूतावासमा विरोधपत्र बुझाएका छन् । उनीहरूले मेहताको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथिको नांगो प्रहार भएको बताउँदै उनलाई फिर्ता पठाउन माग गरेका छन् ।
नाराबाजीसहित गएका युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताले दूतावास पुगी विरोधपत्र बुझाएका हुन् । हस्तक्षेपकारी अभिव्यक्ति दिने कन्सुलरलाई फिर्ता नपठाए कडा संघर्षमा उत्रने चेतावनीसमेत उनीहरूले दिएका थिए । विरोधपत्र बुझाएपछि आयोजित कोणसभामा युवा संघका अध्यक्ष महेश बस्नेत र अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले बोलेका थिए । यस्तै, नेकपा मालेका महासचिव सिपी मैनालीले पनि मेहताको अभिव्यक्ति राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको बताउँदै भत्र्सना गरेका छन् ।
षड्यन्त्र : दूतावास
काठमाडौंस्थित भारतीय दूतावासले भने आºना अधिकारीले मधेसमा आन्दोलन गर्न उक्साएको समाचारको खण्डन गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले समाचार नेपाल–भारतबीचको मैत्री सम्बन्ध बिगार्ने प्रयोजनले आएको दाबीसमेत गरेको छ ।
‘भारत सधँ स्थिर, लोकतान्त्रिक तथा समृद्ध नेपाल स्थापनाका लागि नयाँ संविधान निर्माणमा नेपाली राजनीतिक दल र जनताले निर्धारण गरेको प्रक्रियामा सहयोग गर्न तयार रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, अनेरास्ववियु (क्रान्तिकारी)ले कूटनीतिक मर्यादा बिर्सेर बोल्ने वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर मेहतालाई कारबाही गर्न माग गरेको छ । क्रान्तिकारी अध्यक्ष हिमाल शर्माले विज्ञप्ति जारी गरी मेहतालाई कारबाही गर्न माग गरेका हुन् ।
शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको आन्तरिक मामलामाथि अनावश्यक हस्तक्षेप नगर्न भारतीय सरकारसमक्ष आग्रह गर्दछौँ । साथै, कुनै पनि विदेशीको उक्साहटमा लागेर मुलुक बर्बाद नगर्न सम्बन्धित नेपाली पक्षलाई अनुरोध गर्न चाहन्छौँ ।’
क्रान्तिकारीले नेपाली जनतासँग एसडी मेहताले माफी माग्नुपर्ने पनि बताएको छ । ‘अन्यथा हाम्रो मुलुकमा बसेर षड्यन्त्रमूलक राजनीति गर्न कुनै विदेशीलाई छुट छैन,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया