वाणिज्य बैंकको नाफामा १६ प्रतिशत गिरावट

काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा वाणिज्य बैंकको नाफामा १६ प्रतिशतले गिरावट आएको छ । रियल स्टेट क्षेत्रमा गएको कर्जा उठ्न नसकेर खराब कर्जामा परिणत भएपछि त्यसबापत ठूलो रकम कर्जा नोक्सानी व्यवस्थामा छुट्याउनु परेकाले वाणिज्य बैंकको नाफामा गिरावट आएको हो । बैंकको नाफामा गिरावट आए पनि दोस्रो त्रैमासिकको तुलनामा नाफामा वृद्धि भएको छ । रियल स्टेट कर्जाका कारण कर्जा जोखिमबापतको रकम फिर्ता आएकाले बैंकहरूको नाफामा पनि सुधार हुँदै गएको एक बैंकरले बताए ।
सञ्चालनमा रहेका कुल ३२ वटा वाणिज्य बैंकमध्ये १२ वटा वाणिज्य बैंकको नाफामा अघिल्लो आर्थिक वर्षको चैत मसान्तको तुलनामा वृद्धि भएको छ भने २० वटा वाणिज्य बैंकहरूको खुद मुनाफामा भने गिरावट आएको छ । ३२ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत्र मसान्तसम्म १० अर्ब ८८ करोड ५१ लाख रुपियाँ खुद मुनाफा गरेकोमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म सो नाफा ९ अर्ब १४ करोड १९ लाख रुपियाँमा झरेको छ । वाणिज्य बैंकहरूले अघिल्लो आवको तेस्रो त्रैमासिकको तुलनामा १ अर्ब ७४ करोड ३२ लाख रुपियाँ कम मुनाफा आर्जन गरेको वाणिज्य बैंकले प्रकाशित गरेको तथ्यांकले देखाएको छ ।
चैत्र मसान्तसम्म अत्यधिक नाफा आर्जन गर्ने बैंकहरूमा कृषि विकास बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौं र नेपाल एसबिआई बैंक रहेका छन् । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले यस अवधिमा सबैभन्दा बढी १ अर्ब १४ करोड ५९ लाख रुपियाँ खुद नाफा गरेको छ । निजी क्षेत्रमा सञ्चालित बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी १ अर्ब १२ करोड ९७ लाख खुद मुनाफा आर्जन गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खुद मुनाफका आधारमा तेस्रो बैंक हुन पुगेको छ । उक्त बैंकले ८५ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी, सबैभन्दा बढी चुक्ता पुँजी रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले ८० करोड, एभरेस्ट बैंकले ७८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६६ करोड, हिमालयन बैंकले ५७ करोड, नेपाल बंगलादेश बैंकले ४८ करोड, बैंक अफ काठमाडौंले ४० करोड र नेपाल एसबिआई बैंकले ३१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेका छन् ।
एक बैंकरका अनुसार रियल स्टेट क्षेत्रमा गएको कर्जामा केही समस्या देखिएकाले खुद मुनाफामा गिरावट देखिएको हो । रियल स्टेटको कारोबार बिस्तारै सहज हुन थालेकाले यस वर्षको अन्तिम नतिजा आउँदा प्राय: बैंकको नाफामा वृद्धि हुने ती अधिकारीले बताए ।
खराब कर्जा विस्तारै उठ्न थालेपछि कतिपय बैंकको नाफामा भने नाटकीय परिवर्तन देखिएको छ । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चैत्र मसान्तसम्म १९ करोड ६६ लाख रुपियाँ खुद मुनाफा गरेकोमा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४८ करोड रुपियाँ खुद मुनाफा गरेका छन् । उक्त बैंकले कर्जा नोक्सानी व्यवस्थाबापत ४६ करोड ७० लाख रुपियाँ फिर्ता गरेको आफ्नो तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरेका छन् । त्यस्तै नबिल बैंकले गत चैत्रको तुलनामा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म करिब १९ प्रतिशतले नाफामा वृद्धि गरी १ अर्ब रुपियाँ भन्दा बढी नाफा गर्न सफल भएका छन् । सरकारी लगानीमा स्थापित कृषि विकास बैंकले पनि करिब १३ प्रतिशतले नाफा वृद्धि गरेको छ भने एभरेस्ट बैंक र मेगा बैंक पनि अत्यधिक नाफा वृद्धि गर्ने वाणिज्य बैंकको सूचीमा उभिएका छन् ।
चालु आवको चैत मसान्तसम्म दुई वाणिज्य बैंकले खुद नोक्सान भएको वित्तीय विवरण प्रकाशित गरेका छन् । किस्ट बैंक र सेन्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा क्रमश: १५ करोड ३७ लाख र ३६ लाख २० हजार रुपियाँ घाटा गरेका छन् । ‘चालु आर्थिक वर्षको चैत्र मसान्तमा रियल स्टेटमा गएको कर्जा उठ्न नसकेर कर्जा नोक्सानी व्यवस्थाबापत ठूलो रकम छुट्याउनु परेकाले घाटा बढी देखिएको हो,’ किस्ट बैंकका नायब महाप्रबन्धक बिएन घर्तीले भने । गत १८ वैशाखमा ठूलो रकमको रियल स्टेट कर्जा उठिसकेकाले नयाँ वित्तीय विवरणमा अहिले नै करिब ३ करोड रुपियाँ खुद मुनाफा भइसकेको उनले बताए ।

बढी नाफा गर्ने १० बैंक

१. कृषि विकास बैंक १,१४,५९,४३,०००
२. नबिल बैंक १,१२,९७,५१,०००
३. स्ट्यान्डर्ड चार्टर्ड बैंक ८५,००,४८,०००
४. नेपाल इन्भेस्टमेन्ट बैंक ८०,१०,०३,०००
५. एभरेस्ट बै.क ७८,६४,१४,०००
६. राष्ट्रिय वाणिज्य बैंक ६६,१९,३८,०००
७. हिमालयन बैंक ५७,०२,२८,०००
८. नेपाल बंगलादेश बैंक ४८,००,२०,०००
९. बैंक अफ काठमाडौं ४०,०४,६४,०००
१०. नेपाल एसबिआई बैंक ३१,९०,०६,०००

प्रतिक्रिया