निगमको घाटामा कमी

काठमाडौं, ५ जेठ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र पेट्रोलियम पदार्थको आपूर्ति कटौतीले नेपाल आयल निगमको मासिक घाटामा समेत कमी आएको छ । भारतीय आयल निगम (आइओसी) लाई बक्यौता रकम पठाउन नसकेपछि आपूर्तिमा भएको कटौतीले १५ दिन अघिको तुलनामा निगमको घाटा ४ करोड रुपियाँ घटेको हो ।

मे १६ को नयाँ मूल्यसूचीअनुसार निगमको मासिक घाटा एक अर्ब १० करोड ४० लाखमा झरेको जनाइएको छ । करिब १५ दिनअघि १ मेको मूल्यसूचीअनुसार निगमको मासिक घाटा एक अर्ब १४ करोड ४७ लाख थियो । यस्तै, अघिल्लो महिना निगमको मासिक घाटा १ अर्ब ५६ करोड रुपियाँ पुगेको थियो ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले आइओसीले पठाएको मूल्यमा अघिल्लो महिनाको तुलनामा कमी आएको तथा आपूर्तिसमेत अघिल्लो महिनाको भन्दा कमी भएकाले मासिक घाटा कमी भएको बताए । ‘मे महिना लागेपछि अन्तर्राष्ट्रिय मूल्यमा कमी आउनु र बन्द हडतालले आपूर्तिसमेत घटेकाले घाटा कम भएको हो,’ उनले भने, ‘कच्चा तेलको मूल्य यही हिसाबले घटेमा घाटासमेत कम हुँदै जान्छ ।’
अघिल्लो महिना निगमले करिब एक लाख किलो लिटर पेट्रोलियम पर्दाथ आयात गरेको थियो । अन्य समय निगमले प्रतिमहिना एक सय १५ हजार किलो लिटर पेट्रोलियम आयात गर्दे आएको थियो ।
१६ मेको मूल्यसूचीअनुसार एलपी ग्यासमा प्रतिसिलिन्डर ५ सय ९८ रुपियाँ ३४ पैसा घाटा रहेको छ । अघिल्लो महिना एलपी ग्यासमा प्रतिसिलिन्डर ८ सय २ रुपियाँ घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, १६ मेको मूल्यअनुसार डिजेलमा प्रतिलिटर १० रुपियाँ ३१ पैसा घाटा छ । करिब १५ दिनअघि डिजेलमा प्रतिलिटर १० रुपियाँ ६० पैसा घाटा थियो भने अघिल्लो महिना भने डिजलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा घाटा थियो । नयाँ मूल्यसूची अनुसार अहिले पेट्रोलमा प्रतिलिटर ४ रुपियाँ ९९ पैसा नाफा छ । मट्टितेलमा ३ रुपियाँ २ पैसा, आन्तरिक हवाई इन्धनमा १४ रुपियाँ ३९ पैसा र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा १९ रुपियाँ ७३ पैसा नाफा रहेको निगमले जनाएको छ ।
अहिले डिजेलमा ६७ करोड २ लाख घाटा छ । १ मेको मूल्यअनुसार डिजेलमा ६८ करोड ९२ लाख घाटा थियो । यस्तै, अहिले एलपी ग्यासमा ७१ करोड ८० लाख कुल घाटा रहेको पनि निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा ८ करोड ४८ लाख नाफा छ भने मट्टितेलमा एक करोड ८१ लाख, अन्तर्राष्ट्रिय हवाई इन्धनमा १३ करोड ८१ लाख र आन्तरिक हवाई इन्धनमा ४ करोड ३२ लाख रुपियाँ कूल नाफा रहेको छ । १५ दिनअघि पेट्रोलमा ६ करोड ३१ लाख रुपियाँ कुल नाफा थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नै निगमले पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको भए पनि आपूर्ति घटेको समयमा घाटा कम हुने निगम प्रवक्ता मुकुन्द ढुंगेलले बताए । अहिले रकम अभाव भएको भन्दै निगमले बजार मागअनुसार पेट्रोलियम आपूर्ति गरेको छैन । निगमका अनुसार भारतीय आयल निगम (आइओसी) लाई तिर्नुपर्ने बक्यौता रकम बढी भएकाले मागअनुसार आपूर्ति गर्न नसकेपछि राजधानीलगायत मुलुकका प्रमुख सहरमा करिब एक महिनादेखि नै पेट्रोलियम पदार्थको अभाव भएको छ । आइओसीलाई भने करिब एक अर्ब ७० करोड भारु बक्यौता तिर्न बाँकी रहेको निगमले जनाएको छ ।
निगमका अनुसार अहिले दैनिक ३ हजार किलोलिटर पेट्रोलियम खपत हुने गरेको छ । उपत्यकामा भने दैनिक २ सय ५० किलोलिटर पेट्रोल र ३ सय किलोलिटर डिजेल खपत हुने गरेको छ । यो परिमाणमा आपूर्ति नभए बजारमा अभाव देखिन सुरु गर्ने भएकाले निगमले १४ जेठसम्म आपूर्ति सहज गर्न ४ अर्ब रुपियाँ ऋण माग गरेको छ । त्यसमध्ये सरकारले नागरिक लगानी कोषबाट एक अर्ब र कर्मचारी सञ्चय कोषबाट ६० करोड रुपियाँ ऋण खोजिदिएको छ भने अर्थमन्त्रालयबाट ५० करोड रुपियाँ दिने निर्णय गरेको छ ।
तर, दुवै संस्थाको ऋण भार बढी भएकाले रकम पाउने सम्भावना भने कम रहेको निगम अधिकारी बताउँछन् । यसअघि नै निगमले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्नका लागि भन्दै लगानी कोषबाट ४ अर्ब १३ करोड र सञ्चयकोषबाट ६ अर्ब ४० करोड रुपियाँ ऋण लिइसकेको छ ।

प्रतिक्रिया