व्यापारीसँग रकम असुल्ने तीन प्रहरी पक्राउ

वीरगन्ज : सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल गर्दै आएका असईसहित तीन प्रहरीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रामबाबु यादव र प्रहरी हवल्दारद्वय रामनाथ यादव र लालबाबु साहलाई कलैयाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले बुधबार राति कलैया–२ अवधापुर टोलमा रहेको एक होटलमा पैसा मागेका थिए ।
मदिरा सेवन गरेर जगदीश पटेलको होटलमा पुगेका उनीहरूले मासु र रक्सी खाएपछि पैसा नतिरी उल्टै होटलसँग पैसा मागेका थिए । आफूलाई घुमुवा प्रहरीको धाक देखाउँदै उनीहरूले पटेललाई कुटपिट र गालीगलौज गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।
असई यादव र हवल्दारद्वय यादव र साह यसअघि पनि पटकपटक यस्तो काममा लागेको पाइएको छ । उनीहरूले होटल सञ्चालकसँग पैसा असुल्दै आएको पाइएको छ । पक्राउ परेका तीनविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले विभागीय कारबाही सुरु गरेको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए ।
एक महिनाअघि सिमरामा सञ्चारकर्मी सन्तोष देउजालाई हातपात र दुव्र्यवहार गरेको आरोपमा हवल्दार साहलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको थियो भने असई यादवलाई गण्डक प्रहरी चौकीमा कार्यरत छँदा तस्करी नियन्त्रणमा उदासीन रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झिकाइएको हो ।
यस्तै, छिमेकका व्यक्तिको हत्या योजना बनाइरहेका दुईलाई प्रहरीले कटहरिया–८ बाट हतियारसहित पक्राउ गरेको छ । प्रहरीले लक्ष्मी साह सोनार र विन्देश्वर साह सोनारलाई पक्राउ गरेको हो । उनीहरूका साथबाट एक थान थ्री फिप्टिन नलकटुवा बन्दुक र दुई थान गोली बरामद भएको छ । उनीहरू स्थानीय राकेश गिरीको हत्याको योजना बनाउँदै गर्दा पक्राउ परेको प्रहरीको दाबी छ । (सौस)

प्रतिक्रिया