बन्दले गिद्ध गणना रोकियो

काठमाडौं, ५ जेठ । राज्य पुन:संरचनाको विषयलाई लिएर विभिन्न पक्षबाट दिनहुंजसो भइरहेको बन्दका कारण ११ दिनअघि सुरु भएको गिद्धगणना कार्य रोकिएको छ । बन्दका कारण नारायणघाटभन्दा पश्चिम जान नसकेपछि ‘आठौँ राजमार्ग ट्रान्सेक्ट सर्वे’ टोली नारायणघाटसम्मको मात्रै गिद्धगणना गरेर बुधबार काठमाडौं फर्केको छ ।
सन् २००२ देखि बर्सेनि गरिँदै आएको राजमार्ग ट्रान्सेक्ट सर्वे यस वर्ष गत २४ वैशाखमा पूर्वको मेची पुलबाट सुरु भएको थियो । गिद्धगणना कार्य अब १४ जेठपछि मात्रै निरन्तरता दिइने नेपाल पक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. हुम गुरुङले बताए । ‘बन्दले सर्वे रोक्नुपर्‍यो, अब नारायणघाटदेखि पश्चिममा १४ जेठपछि मात्रै सुरु गर्छौं,’ डा. गुरुङले बिहीबार सौर्यसँग भने ।
सरकारको वार्षिक कार्यक्रमअनुसार रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्ससँगको सहकार्यमा संघले बर्सेनि गिद्धको गणना गर्दै आएको छ । सर्वेअन्तर्गत मेचीदेखि महाकालीसम्म पूर्व–पश्चिम राजमार्ग आसपासमा गिद्धको गणना गरिन्छ । त्यसका लागि खुला गाडी प्रतिघन्टा मात्र २० किलोमिटरको गतिमा चलाइने र त्यस क्रममा राजमार्गको दायाँ–बायाँ एक/एक हजार मिटरसम्म उडिरहेका र अग्ला रूखमा बसिरहेका गिद्ध गाडीबाटै बाइनोकुलरका माध्यमबाट ‘नोटिस’ गरिने संघले जनाएको छ ।
यसपटकको सर्वेले पूर्व–पश्चिम राजमार्गका साथै पहाडी मार्गमा अवस्थित जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, सल्यान, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरामा पनि सर्वेक्षण गरिने संघका फिल्ड बायोलोजिस्ट कृष्णप्रसाद भुसालले बताए ।
पहिलो गणनामा दुई सय पाँचवटा गिद्ध भेटिएका थिए । सन् २००८ सम्म आइपुग्दा उक्त संख्या घटेर एक सय, २००९ मा झन् ५० को हाराहारीमा झरेको थियो । सन् २०१० मा केही बढेको तथ्यांक आए पनि त्यसमा संरक्षणकर्मीले विश्वास गरेका थिएनन् । २०११ को गणनाले ६८ वटा गिद्ध बढेको देखाएको र गिद्ध संरक्षणमा सबैको चासो बढिरहकाले यो वर्ष गिद्धको संख्या बढेको नतिजा आउने संघले जनाएको छ । ‘पछिल्लो समय गिद्ध संरक्षणका लागि चेतना बढेकाले यसपटकको सर्वेबाट पनि गिद्ध बढेको तथ्यांक आउने आस छ,’ डा. गुरुङले भने ।
सिनो खाने हँुदा गिद्धले दुर्गन्ध फैलिन दिँदैन जसबाट हैजा, रेबिज, प्लेगजस्ता रोग फैलन पाउँदैन । त्यसबाट छाडा कुकुर र स्याल बढ्ने सम्भावना पनि रहँदैन । चराविद्का अनुसार गिद्ध मासिँदा सिनोका कारण वातावरण दुर्गन्धित हुन्छ र हैजा, रेबिज, प्लेगजस्ता रोगको महामारी फैलिन्छ ।
नेपालका कपिलवस्तु, रूपन्देही, दाङ र नवलपरासी गरी चार जिल्ला गिद्धका प्रमुख वासस्थान हुन् भने विभिन्न १३ जिल्लामा समेत गिद्धको वासस्थान रहेको अनुमान गरिएको छ । हाल डंगर, सानो खैरो, सेतो, सुन, हिमाली, राज, खैरो र हाडफोर गरी आठ प्रजातिका गिद्ध पाइन्छन् ।

प्रतिक्रिया