एमालेलाई चार मन्त्रालय

काठमाडौं, ५ जेठ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा एमालेको भागमा परराष्ट्रसहित ऊर्जा, युवा तथा खेलकुद र कृषि मन्त्रालय परेको छ । एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको बैठकले बिहीबार एमालेले पाउने मन्त्रालयको टुंगो लगाएको हो ।

एमाओवादी र कांग्रेसले पाउने मन्त्रालयको टुंगो भने शुक्रबार लगाइने भएको छ । ‘कांग्रेस र माओवादीले पाउने मन्त्रालयका विषयमा शुक्रबार छलफल गरिनेछ,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने ।
एमालेबाट सरकारमा सहभागिताको नेतृत्व महासचिव ईश्वर पोखरेलले गरिसकेका छन् । एमालेबाट पोखरेलले उपप्रधानमन्त्री र केन्द्रीय सदस्य राधा ज्ञवालीले मन्त्रीको शपथ खाइसकेका छन् ।
प्रधानमन्त्री डा. भट्टराईले यसअघि मधेसी मोर्चामा सहभागी पाँच दललाई गृह, सञ्चार, स्वास्थ्य, सिँचाइ र भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् । कांग्रेससहित राप्रपा, नेपा: संयुक्त, नेपाल परिवार दल, संघीय सद्भावना पार्टी सरकारमा सहभागी भए पनि उनीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । एमाले र मोर्चाले मन्त्रालयको जिम्मेवारी पाएपछि अब रक्षा, अर्थ, शान्ति तथा पुनर्निर्माण, पर्यटन तथा नागरिक उड्डयन, कानुन, विज्ञान, महिला, श्रम, स्थानीय विकास, सामान्य प्रशासन, आपूर्तिसहित १८ मन्त्रालय बाँकी छ ।

जिम्मेवारी नपाएका मन्त्रीहरू असन्तुष्ट

काठमाडौं : मन्त्री पदको शपथ लिए पनि जिम्मेवारी नपाएकोमा असन्तुष्टि जनाउँदै नवनियुक्त मन्त्रीहरूले तत्काल जिम्मेवारी तोक्न माग गरेका छन् । काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा उनीहरूले मन्त्रालयको विभागीय जिम्मेवारी नपाउँदा आफूहरू हाँसोको पात्र बनेको बताए ।
एमालेका तर्फबाट मन्त्री बनेकी राधा ज्ञवालीले आफू मन्त्री भए पनि जिम्मेवारी नपाउँदा हाँसोको पात्र बनेको बताइन् । ‘पार्टीले शिक्षामन्त्रीको जिम्मेवारी तोकेर सरकारमा पठाएको थियो,’ मन्त्री ज्ञवालीले भनिन्, ‘तर, अहिलेसम्म आफूले जिम्मेवारी पाउन सकेको छैन ।’
पार्टीले आफूलाई शिक्षामन्त्रीको जिम्मेवारी दिएको र त्यसैअनुसार प्रचार भएकाले बधाईको ओइरो नै लागेको उनले बताइन् । भनिन्, ‘बधाई नलिऊँ भने मन्त्री भएको छु, लिऊँ भने जिम्मेवारी पाएकी छैन ।’ मुलुक जटिल अवस्थामा रहेकाले मन्त्रीहरू एक मिनेट पनि जिम्मेवारीविहीन रहनु देशकै लागि घाटा भएको उनले बताइन् । छिटोभन्दा छिटो जिम्मेवारी दिएर मन्त्रीहरूलाई काममा लगाउनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका सूर्यमान गुरुङले पनि मन्त्री भए पनि जिम्मेवारी नपाउँदा पीडा भएको बताए । ‘मन्त्री भएपछि मलाई बधाईको ओइरो लागेको छ,’ मन्त्री गुरुङले भने, ‘तर कुन मन्त्रालय पाउनुभयो भनेर अरूले सोध्दा अप्ठ्यारो पर्छ ।’
मन्त्रालयको जिम्मेवारी नपाए पनि शान्ति र संविधान निर्माणको काममा लागेको भन्दै उनले फुर्सद भने नभएको बताए । मन्त्री पदको कुनै टुंगो नलागेकाले मन्त्रीक्वार्टरमा समेत नबसेको जानकारी गराउँदै उनले भने, ‘तर, मन्त्री क्वार्टरमा नबस्दा केही असजिलो हुँदोरहेछ ।’
एकीकृत नेकपा (माओवादी)का तर्फबाट मन्त्री बनेका टोपबहादुर रायमाझीले भने शान्ति र संविधान निर्माणको काममा लागेकाले विभागीय जिम्मेवारी नपाए पनि कुनै त्यस्तो अनुभूति नभएको बताए । ‘एउटा मन्त्रालयमा सीमित हुनुपरेको छैन,’ मन्त्री रायमाझीले भने, ‘म पूर्णरूपमा देशका लागि लागिपरेको छु ।’ (सौस)

प्रतिक्रिया