पार्थसारथीलाई “एसियन गोल्ड अवार्ड”

काठमाडौं, ४ जेठ । नेपाल भारोत्तोलन संघका महासचिव एवं भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थसारथी सेनगुप्त ‘एसियन गोल्ड अवार्ड’ बाट सम्मानित भएका छन् ।
एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्‍याएबापत एसियाली भारोत्तोलन संघले ५७ वर्षीय गुप्तलाई उक्त अवार्डबाट सम्मान गरेको हो । भारोत्तोलनमा प्रदान गरिने उक्त अवार्ड एसियाकै सबैभन्दा ठूलो अवार्डका रूपमा रहेको छ ।
दक्षिण कोरियाको इन्चियोनमा गत २२ अप्रिलमा भएको सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिपका दौरान एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद अल्माना तथा महासचिव अलि मुरादीले गुप्तलाई उक्त अवार्ड प्रदान गरेका थिए । उक्त अवसरमा अन्तर्राष्ट्रिय भारोत्तोलन संघका अध्यक्ष तमास अजामको पनि उपस्थिति थियो । एसियास्तरको उक्त भारोत्तोलन च्याम्पियनसिपमा गुप्तले जुरी अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
उक्त अवार्ड उनीसहित अन्य चार भारोत्तोलन अधिकारीले पनि पाए । सम्मान पाउने अन्यमा इराक, लेबनान, यमन र बहराइनका भारोत्तोलन अधिकारी थिए । ‘मेरो मिहिनेतको कदर गर्दै मलाई यो अवार्ड प्रदान गरेकोमा एसियाली भारोत्तोलन संघलाई धन्यवाद दिन चाहन्छु, यसले नेपाल कुनै पनि राष्ट्रभन्दा कम छैन भन्ने प्रमाणित गरेको छ,’ एसियाली भारोत्तोलन संघ, प्राविधिक कमिटीका सचिवसमेत रहेका गुप्तले भने, ‘अवार्डबाट म मात्र होइन, सिंगो राष्ट्र नै सम्मानित भएको छ ।’ उनले यस सम्मानले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा उचाइ दिएको अनुभव बाँडे । ‘अवार्डका माध्यमबाट सिंगो राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाउँदा गर्व महसुस गरेको छु,’ उनले थपे ।
हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को खेलकुद प्रतिष्ठान विभागमा निर्देशक रहेका गुप्त नेपाली भारोत्तोलनका पहिलो ब्याचका खेलाडी हुन् । २०३९ सालमा प्रशिक्षक भएर राखेपमा प्रवेश गर्नुअघि उनी दुईपटक राष्ट्रिय च्याम्पियन पनि भए । तर प्राविधिक जनशक्तिको अभावका कारण उनलाई पछि राखेपले भारतको पटियालामा एनआइएस प्रशिक्षण कोर्सका लागि पठाएको थियो । कोर्स सम्पन्न गरेर आएपछि उनी नेपालको पहिलो भारोत्तोलन प्रशिक्षक बने । उनकै पहलमा भारोत्तोलन देशभर झाँगियो । प्राविधिकहरूको थलो रहेको तालिम विभागमा पाँच वर्ष नेतृत्व गरिसकेपछि अहिले उनी नेपाल खेलकुद प्रतिष्ठानमा छन् । १०आंै सागमा भारोत्तोलनमा कमलबहादुर अधिकारीले पहिलो स्वर्णपदक जित्दा उनी प्रशिक्षक टोलीका महत्त्वपूर्ण सदस्य थिए । दर्जनौं कांस्य र रजत जिते पनि कमलबाहेक अन्य कुनै नेपाली भारोत्तोलकले सागमा स्वर्णपदक जित्न सकेका छैनन् ।
एउटा खेलको सिंगो इतिहास बोकेका यी व्यक्तित्वले अहिलेसम्म सरकारबाट भने खासै कुनै उल्लेखनीय सम्मान पाएका छैनन् । राखेप बोर्डमा हुने निरन्तर नेतृत्व परिवर्तनले कर्मचारी तथा प्रशिक्षक बारम्बार पीडामा पर्ने गरेको कथा अरू जस्तै कर्मचारी भएको हैसियतमा उनको पनि छ । खेलकुदमा बाहेक अन्य कुनै सपना नदेखेका उनले पटकपटक गुनासो गर्ने गरेका छन्, ‘राजनीतिले नेपालको खेलकुदलाई बर्बाद बनायो ।’

प्रतिक्रिया