उखु उत्पादन बढ्यो

नवलपरासी, ४ जेठ । यो वर्ष ६ लाख क्विन्टलले उखु उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्ष करिब २४ लाख क्विन्टल उखुउत्पादन भएकोमा यो वर्ष ३० लाख क्विन्टल उत्पादन भएको उखु कृषक समितिले जनाएको छ ।

गत वर्ष नवलपरासीमा ऊखुको मूल्य देशकै उच्च भएपछि किसानले उखुखेती वृद्धि गरेकाले उत्पादनमा वृद्धि भएको कृषकको भनाइ छ । जिल्लामा लुम्बिनी चिनी उद्योग, बाग्मती चिनी उद्योग र इन्दिरा चिनी उद्योग रहेका छन् । यी उद्योगले उत्पादन गर्दै आएको चिनी मुलुकका विभिन्न सहरमा जाने गर्छ । नवलपरासीमा यो वर्ष उखुउत्पादनमा वृद्धि भए पनि जिल्लामा रहेका चिनी उद्योगलाई भने उखुपर्याप्त मात्रमा पुग्न नसकेको उद्योग सञ्चालनको भनाइ छ ।
जिल्लामा कुल ऊखुखेती गरिने क्षेत्रफलमध्ये ७ हजार १ सय ४९ हेक्टर क्षेत्रफलमा ऊखुखेती गरिँदै आएको छ । जसमध्ये ६८ प्रतिशत समतल खेत र ३२ प्रतिशत पाखो खेतमा उखु उत्पादन हुने गरेको छ ।
गत वर्ष २४ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यो वर्ष ३० लाख क्विन्टल उखु उत्पादन भएको छ । उत्पादन भएको करिब ३० लाख क्विन्टल उखु जिल्लामा रहेका अन्य उखु क्रसर र तीनवटा चिनी उद्योगका लागि निकै कम भएको उद्योगले बताउँदै आएको छ । जिल्लाको परासी र नवलपुर क्षेत्रका अधिकांश स्थानमा यो खेती गरिन्छ भने नवलपुर क्षेत्रका अलि कम मात्रमा ऊखुखेती गर्ने गरिएको छ ।
त्यस्तै, परासी क्षेत्रका बैदौली, भुजहवा, देवगाउ, ठूलोखरेटवा, गुठीप्रसौनी, कुडिया, प्रतापुर, माकर, सुनवल, मनरी, सनई, गेरमी, पाल्ही, प्रतापुर, सरावल, बंजरिया, सुक्रौली, सनई, स्वाठी, बन्जरिया, त्रिवेणी सुस्ता, नर्सही गाविस र रामग्राममा यो खेती बढी मात्रामा गरिने गरिएको छ । जिल्लामा उखुउत्पादनका लागि सबैभन्दा राम्रो जमिन २४ हजार बिगाहा रहेको देखिएको छ भने समग्र रूपमा ५५ हजार बिगाहा क्षेत्रफलमा ऊखुखेती गरिन्छ ।

प्रतिक्रिया