चौथो खेलमा पनि बराबर


मस्को,४ जेठ । डिफेन्डिङ च्याम्पियन विश्वनाथन आनन्द र बोरिस गेल्फान्दबीचको विश्व च्याम्पियनसिपको चौथो खेलमा पनि बराबरी भएको छ । शृंखलाका यसअघिका तीनवटै खेल बराबरीमा सकिएका थिए । चौथो चरणमा सेतो गोटीबाट चलेका गेलफान्दका विरुद्धमा आनन्दले स्लाभ डिफेन्स खेलेका थिए । खेलको बीचमा च्यालेन्जर गेल्फान्दको दुवै बिसप बाँकी रहेपछि उनले जितको सम्भावना देखेका थिए । ‘उसको दुईवटै बिसप भएका कारण मलाई दबाब थियो । तर, गोटीहरूको समन्वय मिलाउन नसकेका कारण खेल बराबरीमा सकियो,’ खेलका बारे आनन्दले भने । चार चरणको समाप्तिमा खेलको अवस्था २–२ छ ।
यी दुईबीचको दोस्रो र चौथो खेलमा समानता भए पनि १०औं चालमा गेल्फान्दले मूललाइन छाडेर नयाँ नोभलिटीको रूपमा क्युसी–टु चलेका थिए । यसपछि खेल हेरिरहेका विश्लेषक आचश्र्यमा परे पनि आनन्दले एच–सिक्सको मूललाइन छाडेर ई–फाइभ चलेका थिए । २४औं र २५औं चालमा इजरायली ग्रान्डमास्टर गेल्फान्द अलिकति बलियो रहेको आनन्दले स्वीकार गरे । २९औं चालमा आनन्दले बराबरी प्रस्ताव गरे पनि ३४औं चालमा दुवै खेलाडी बराबरीमा मञ्जुर भए । पाचौंपटक विश्व च्याम्पियन बन्नका लागि खेलिरहेका आनन्दले दुवैपटक कालो गोटीबाट बराबरी गरे पनि उपाधि रक्षाका लागि सेतो गोटीबाट राम्रो नतिजा पाउन अनिवार्य रहेको छ । गेल्फान्दले सेतो गोटीबाट जित हात नपारे पनि कालो गोटीबाट ग्रुनफेल्ड डिफेन्स खेल्दै आनन्दलाई जितविमुख बनाएका छन् ।
लगातार चार बराबरीपछि चेस समीक्षकहरूले भिन्नाभिन्नै मत व्यक्त गर्न थालेका छन् । केहीले १२औं खेलसम्म पनि बराबर भएर टाइब्रेकरको आधारमा विश्व च्याम्पियनको छनोट हुन सक्ने अनुमान गर्न थालिसकेका छन् । दुवै खेलाडी ग्रुनफेल्ड भेरिएसनमा तयारी गरिरहेको अवस्थामा आनन्द आफै भने तेस्रो खेलबाट असन्तुष्ट रहेका छन् । उनले पाँचौं खेलमा जित हात पार्ने आशा राखेका छन् । चार चरणसम्म खेलमा बराबरी रहनुले धेरैलाई आश्चर्यमा पारेको छ भने आनन्दका लागि भ्लादिमिर क्रमेनिक र भेसेलिन टोपोलोभभन्दा ग्यालफ्यान्ड कठिन प्रतिद्वन्द्वीको रूपमा उभिएका छन् ।
यसअघि टोपोलोभलाई हराएर विश्व च्याम्पियन बन्ने क्रममा आनन्दले सेतो गोटीबाट खेलेका पहिला दुवै खेलमा जित हात पारेका थिए । सन् २०१० को च्याम्पियनसिपको पहिलो खेलमा टोपोलोभले सेतो गोटीबाट खेलेर जित हात पारे पनि दोस्रो खेलमा जित हात पारेका आनन्दले तेस्रो खेलमा बराबरी र चौथो खेलमा जित हात पारेपछि अग्रता लिएका थिए ।

प्रतिक्रिया