हतियारको होडबाजी सुरु हुने चेतावनी

बेइजिङ, ४ जेठ । अमेरिकाले दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्ने कोरियाली सञ्चारमाध्यमले जनाइरहेका बेला चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ ले यसबाट कोरियाली प्रायद्वीपमा शस्त्रागार भर्ने होडबाजी सुरु हुने चेतावनी दिएको छ । प्रायद्वीपमा शान्ति स्थापना गर्ने आधार परमाणु हतियारको तैनाथीपछि थप क्षीण बन्ने ‘ग्लोबल टाइम्स’ मा प्रकाशित समाचार विश्लेषणमा जनाइएको छ । उत्तर कोरियाको परमाणु हतियारसामु चुनौती तेस्र्याउन अमेरिकाले दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्न लागेको बताइन्छ ।
शीतयुद्धताका अमेरिकाले दक्षिण कोरियामा नौ सयवटा परमाणु हतियार तैनाथ गरेको थियो । सन् १९९० मा शीतयुद्ध समाप्तिपछि उसले यस्ता हतियार क्रमश: घटाउँदै लगेको थियो । हतियार पुन: तैनाथ गर्ने अमेरिकी निर्णयको चीन र रुसले विरोध गर्ने समाचारमा उल्लेख छ । ‘उत्तर कोरियाको अतार्किक कार्यशैलीले कोरियाली प्रायद्वीपको अवस्था झन् जटिल बनाइरहेको छ । यदि दक्षिणले उग्र शैलीमा उत्तरको कार्यशैलीको जवाफ दिने हो भने विवाद झनै बढ्ने देखिन्छ,’ विश्लेषणमा भनिएको छ ।
परमाणु हतियार पुन: तैनाथ गर्ने निर्णयले उत्तर कोरियामाथि दबाब बढे पनि यसबाट अमेरिका र दक्षिण कोरियाले इच्छित लक्ष्य हासिल गर्न नसक्ने समाचारमा उल्लेख छ । ‘यसबाट चीनमाथि पनि दबाब बढ्ने उनीहरूको सोचाइ होला तर उनीहरूले चिताएको लक्ष्य प्राप्त हुने देखिँदैन,’ समाचारमा भनिएको छ । उत्तरको परमाणु हतियारको सामना गर्न दक्षिणले पनि परमाणु हतियारको मोह बढाए यसबाट उत्तरलाई परमाणु हतियार प्रक्षेपण गर्न उत्प्रेरणा मिल्ने भन्दै समाचारमा यसले दक्षिणका लागि अकल्पनीय अवस्था सिर्जना गराउने दाबी गरिएको छ ।
‘परमाणु हतियारको तैनाथीले दक्षिणलाई मनोवैज्ञानिक सन्तुष्टि मात्रै प्रदान गर्नेछ । परमाणु हतियारविनै उत्तरमाथि हमला गर्नसक्ने क्षमता अमेरिकासँग छ । तर, परमाणु हतियार तैनाथ गरे उत्तरले चुनौती महसुस गर्ने र प्रतिरोधका लागि आवश्यक गतिविधि आरम्भ गर्ने निश्चित भएकाले दक्षिणले होस राख्नु आवश्यक छ,’ समाचारमा भनिएको छ । कोरियाली प्रायद्वीपको अवस्था बिग्रिए परमाणु नीति पुनरावलोकन गर्न चीन पनि बाध्य हुने प्रस्ट पारिएको छ । (एजेन्सी)

प्रतिक्रिया