पाकिस्तानले आपूर्ति मार्ग खोल्ने

इस्लामावाद, ४ जेठ । पाकिस्तानको बाटो हुँदै अफगानिस्तानमा तैनाथ उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध सैनिकका लागि सामान आपूर्ति गर्न पाकिस्तानले अनुमति दिएको छ । बुधबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । लगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा औपचारिक निर्णय गर्ने तय भएको समाचारमा उल्लेख छ । गत वर्ष नेटो सैनिकले अफगानिस्तानको सीमावर्ती क्षेत्रबाट अन्तरसीमा हवाई आक्रमण गर्दा २४ पाकिस्तानी सैनिकको मृत्यु भएपछि पाकिस्तानले आपूर्ति मार्ग बन्द गरेको थियो । मार्ग खोल्न अमेरिकी सरकारले पाकिस्तानसँग आग्रह गर्दै आएको थियो । सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी सेनाको नेतृत्वमा नेटो सैनिक तैनाथ छ । त्यसयता नेटो सैनिकका लागि आवश्यक खाद्यान्नलगायत सामग्री पाकिस्तान हुँदै आपूर्ति गरिन्थ्यो ।
नेटो बैठकमा पाकिस्तान
अमेरिकी सहर सिकागोमा हुन लागेको नेटो सम्मेलनमा पाकिस्तानले सहभागिता जनाउने त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रिपरिषद् बैठकले आपूर्ति मार्ग खोल्ने निर्णय गरेपछि सम्मेलनमा पाकिस्तानको सहभागिताका लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । राष्ट्रपति आसिफ अलि जर्दारीको नेतृत्वमा पाकिस्तानी टोलीले सहभागिता जनाउने समाचारमा उल्लेख छ । सम्मेलनमा अफगानिस्तानबाट नेटोको फिर्तिपछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ । एएफपी)

प्रतिक्रिया