वार्षिक ६ अर्बको विद्युत चुहावट


काठमाडौं, ३ जेठ । नेपाल विद्युत् प्राधिकरणमा वार्षिक ६ अर्ब रुपियाँ बराबरको चुहावट हुने गरको छ ।
विद्युत् परियोजना र प्रसारण लाइनमा गुणस्तरहीन सामान प्रयोगका कारण बर्सेनि प्राधिकरणले त्यस्तो चुहावट बेहोर्नु परेको हो ।
विद्युत् उत्पादनका आधारमा प्रत्येक वर्ष करिब २६ अर्ब रुपियाँको कारोबार हुनुपर्ने भए पनि २० अर्ब रुपियाँको मात्र बिलिङ हुने गरेको प्राधिकरणले जनाएको छ । ‘विद्युत् र प्राविधिक चुहावटको कारण २६ अर्ब रुपियाँको बिलिङ हुनुपर्ने भए पनि २० अर्ब रुपियाँको मात्र हुने गर्छ,’ प्राधिकरणका उपनिर्देशक लवबहादुर घिमिरेले भने ।
प्राधिकरणका चुहावट महाशाखा प्रमुख दीपक आचार्यका अनुसार प्राधिकरणमा करिब २५ प्रतिशत विद्युत् चुहावट छ, त्यसमध्ये १० प्रतिशत प्राविधिक चुहावट छ भने १५ प्रतिशत चोरीको चुहावट हुने गरेको छ । चुहावटबाट बर्सेनि प्राधिकरणले ६ अर्ब रुपियाँ घाटा बेहोर्नुपरेको छ ।
एक मेगावाट विद्युत् चुहावट हुँदा बर्सेनि पाँच करोड रुपियाँ घाटा बेहार्नुपर्छ । तराईका विभिन्न जिल्लामा र भक्तपुरलगायतका क्षेत्रमा बढी चुहावट हुने गरेको छ । चुहावट हुने क्षेत्रमा प्राधिकरणले बढी लोडसेडिङ गर्दै आएको छ । ‘पहिलाभन्दा हामीले चुहावट नियन्त्रणका लागि अभियान चलाउँदा दुई प्रतिशत चुहावट घटिसकेको छ,’ महाशाखा प्रमुख आचार्यले थपे, ‘बढी विद्युत् चोरी भएका ठाउँमा बढी लोडसेडिङ गर्दा पनि विद्युत् चुहावट कम गर्न सहयोग पुगेको छ ।’ चुहावट गर्नेलाई पक्रेर कारबाही, विद्युत् चुहावट नगर्नका लागि सचेतनामूलक कार्यक्रमलगायतका कार्यक्रम प्राधिकरणले गर्दै आएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसी बताउँछन् । ‘दुई प्रतिशत चुहावट कम गरेका छाँै, राम्रो काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्ड दिने व्यवस्था गरेका छौँ,’ उनले थपे, ‘प्राधिकरणभित्रका विकृति, विसंगति अन्त्य गर्न सके विद्युत् प्राधिकरणको साख बढ्छ, प्राधिकरण घाटा मात्र जान्छ भन्ने गलत सन्देशको अन्त्य गर्नुपरेको छ ।’
विद्युत् चुहावट बढी हुँदा तथा प्रसारण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा गुणस्तरीय सामान उपयोग नगर्दा विद्युत्को चुहावट बढेको हो । आर्थिक चलखेलका साथै प्राधिकरणको अनुगमनको अभावका कारणले विद्युत्को प्रसारण लाइन, ट्रान्सफर्मर, सबस्टेसन, तारलगायतका सामानको कमसल हालिने गरिएको छ ।
‘विद्युत्का सामानहरू कम गुणस्तरीय हुनाले बढी चुहावट भएको छ, यसको नियन्त्रणका लागि प्राधिकरणले विशेष पहल चाल्नुपर्छ,’ जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठले थपे, ‘विद्युत्को प्रसारण लाइन जति कम क्षमताको भए, त्यति नै बढी चुहावटको सम्भावना रहन्छ ।’ उनका अनुसार नेपालमा बढी ११ केभी, ३३ केभीका प्रसारण लाइन भएकाले विद्युत् चुहावट बढी छ । १३२, २२० र ४०० केभीसम्मका ठूला प्रसारण लाइन बनाउन सके र गुणस्तरीय सामान हाल्न सके प्राविधिक चुहावट धेरै कम गर्न सकिन्छ ।
छिमेकी मुलुक भारतमा ४०० केभी प्रसारण लाइन भएकाले प्राविधिक चुहावट एकदम कम छ तर नेपालमा पछिल्लो समयमा १३२ केभी र २२० केभी प्रसारण लाइन निर्माण सुरु गरे पनि स्थानीयवासी र वन मन्त्रालयलगायतका सरकारी निकायको सहयोगमा अभावमा बन्न सकेका छैनन् । खिम्ती र भोटेकोसीमा उत्पादित विद्युत् सिधै ढल्केबार लैजाने गरी बनाउन लागिएको २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइन समयमै नबन्दा १० मेगावाट विद्युत् चुहावट भएको आयोजनाले जनाएको छ । अहिले २६ वटा प्रसारण लाइन र सवस्टेसन निर्माण भइरहे पनि अधिकांश विभिन्न बाधाअवरोधका कारण बन्न सकेको छैन । १३२ केभी प्रसारण लाइन मात्र भएकै कारणले काली गण्डकी जलविद्युत् आयोजनाबाट वर्षामा उत्पादन हुने १४४ मेगावाटमध्ये करिब ४४ मेगावाट विद्युत् खेर नै जाने गरेको छ ।
‘विद्युत् चुहावट घटाउनका लागि गुणस्तरीय सामान र प्रसारण लाइनको स्तरउन्नति गर्नु आवश्यक छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘खाली आर्थिक चलखेल र लेनदेनमा बढी हुने  कारण ठेकेदारले जस्ता कमसल सामान हाल्दा पनि बेवास्ता गर्ने प्रवृत्तिले विद्युत् चुहावट बढेको छ ।’

प्रतिक्रिया