अनुदान लिन तीन सय ७० सहकारीको आवेदन


काठमाडौं, २ जेठ । चालु आर्थिक वर्ष ०६८/६९ को बजेटमा सरकारले उत्पादनमूलक सहकारीलाई उपलब्ध गराउने भनेको अनुदान एवं भन्सार छुट सुविधा लिन  सहकारी विभागमा तीन सय ७० वटा आवेदन परेको छ ।
केही समयअघि मात्रै मन्त्रिपरिषद्को बैठकले उत्पादनमूलक सहकारीलाई अनुदान एवं भन्सार छुट सुविधा सिफारिससम्बन्धी कार्यविधि– ०६८ पास गरेको थियो ।
‘विभागमा तीन सय ७० वटा आवेदन परेको छ,’ सहकारी विभागका उपसचिव विष्णुप्रसाद घिमिरेले भने, ‘करिब एक सय २४ वटाले सहकारी संघ/संस्थालाई अनुदान दिने तयारीमा छौँ ।’
‘गत वर्ष ४० वटा सहकारी संघ/संस्थाले मात्र अनुदानको रकम पाएका थिए,’ घिमिरेले भने, ‘यस वर्ष बजेट पनि बढेकाले धेरै सहकारीलाई अनुदान दिन लागेका हौँ ।’ आवेदन परेका सहकारी संघ/संस्थाको अनुगमन तथा मुल्यांकन गरी अनुदान एवं भन्सार छुट सुविधा दिने विभाग तयारीमा रहेको घिमिरेले जानकारी दिए ।
वितरण गरिएको रकम दुरूपयोग भएपछि त्यसलाई नियन्त्रण गर्नका लागि कार्यविधि बनाएको विभागका एक अधिकारीले बताए । चालु आवको सुरुवातमै मस्यौदा तयार गरी सहकारी विभागले कात्तिकमै मन्त्रालयमा पठाइएको थियो, सिफरिसमा ढिलाइ भएका कारण अनुदान दिन पनि ढिलाइ भएको विभागको भनाइ छ ।
बजेटमा सहकारीमार्फत उद्योग व्यवसाय गर्दा अनुदान उपलब्ध गराइने र बाहिरबाट सामान खरिद गर्दा भन्सारमा भारी छुट उपलब्ध गराइने उल्लेख गरिएको थियो । सोहीअनुरूप जग्गाबाहेक अन्य पुँजीगत खर्चमा सहकारी संघ/संस्थालाई ५० प्रतिशतसम्म  अर्थात् १० लाख रकम अनुदान उपलब्ध गराउन सकिने, कृषि फार्म जग्गाबाहेक पुँजीगत लागतको ५० प्रतिशत (१५ लाख) सम्मको रकम अनुदानको रूपमा उपलब्ध गराउन सकिन्छ ।
त्यस्तै साझेदारी कृषि फर्म, कृषि प्रशोधन उद्योग, लघु खाद्य प्रशोधन उद्योग, ठोस तथा पेय खाद्य वस्तु प्रशोधन, साना, मझौला तथा ठूला उद्योग स्थापना गर्दा शीत भण्डार, उच्च मूल्यका कृषि उपज निर्माण गर्दा सहुलियत दिइने कार्यविधिको मस्यौदामा उल्लेख छ ।
संस्थालाई व्यावसायिक कार्यमा खर्च गर्ने गरी परियोजनाको ५० प्रतिशत लागत तथा जनसहभागिताको आधारमा प्रतिसंस्था पाँच लाख रुपियाँसम्म पुँजीगत अनुदान उपलब्ध गराउने र  उपलब्ध गराइने अनुदान रकम पाँच लाख वा सोभन्दा कम भएमा बिल/वीजक र कार्यसम्पन्न प्रतिवेदनका आधारमा एकमुष्ठ भुक्तानी गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
अनुदान एवं भन्सार छुट सुविधा कृषि, दुग्घ, मौरी पालक, साना किसान, कफी, चिया, उपभोक्ता, तरकारी तथा फलफूल, उखु, अलैची, बहुउद्देश्यीयलगायतका सहकारी संघ/संस्था पर्छन् ।

प्रतिक्रिया