ओलम्पिकका लागि प्रेमिका परित्याग

जमैका : लन्डनमा हुन लागिरहेको आसन्न ओलम्पिक खेलकुदको तयारीका लागि विश्व कीर्तिमानी धावक युसान बोल्टले आफ्नी प्रेमिका परित्याग गरेका छन् ।
समाचारहरूमा उल्लेख भएअनुसार, बेइजिङमा सम्पन्न गत ओलम्पिकमा प्राप्त उपलब्धि यसपटक दोहोर्‍याउन बोल्टले २८ वर्षीय फेसन डिजाइनर प्रेमिका लुभिका स्लोभाकसँगको सम्बन्ध ‘ब्रेकअप’ गरेका हुन् । बोल्ड र स्लोभाकबीच विगत ६ महिनायता प्रेम सम्बन्ध थियो ।
स्लोभाकियाकी स्लोभाकसँग बोल्टनको परिचय जमैकाकै एक गायकले गराएका थिए । नजिकका मित्र गायक तामी चिनमार्फत बोल्टको स्लोभाकसँग
सम्पर्क भएको हो ।
बोल्टनिकट स्रोतको भनाइ उद्धृत गर्दै चर्चित अन्तर्राष्ट्रिय अखबार ‘द सन’ ले उल्लेख गरेको छ, ‘त्यस्तो सम्बन्धका लागि बोल्टसँग भविष्यमा धेरै समय छ । त्यसैले उनको ध्यान अहिले दौडमा केन्द्रित छ । यतिबेला यो ध्यानभन्दा अरू कुनै कुरामा पनि उनी मोडिन चाहँदैनन् ।’
सन् २००८ को बेइजिङ ओलम्पिक गेम्समा बोल्टले विश्व कीर्तिमानी समयका साथ एक सय र दुई सय मिटर दूरीमा स्वर्णपदक जितेका थिए । तर विगत केही समययता उनको प्रदर्शन सन्तोषजनक छैन । गत वर्ष दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा उनले ‘फल्स स्टार्ट’ गरेपछि पदक जित्ने सम्भावना समाप्त भएको थियो ।
केही समयअघि उनले गोरो वर्णकी स्लोभाकलाई चुम्बन गरिरहेको तस्बिर अखबारमा छापिएपछि बोल्टको आलोचना भएको थियो । ‘श्वेत’ महिलालाई रोजेकोमा धेरैको आपत्ति थियो, कहाँसम्म भने जमैकाको एक स्थानीय अखबारले उक्त तस्बिरलाई इंगित गर्दै कार्टुन नै प्रकाशन गरेको थियो । सो कार्टुनमा बोल्ट टिसर्टमा ‘लोकल’ उल्लिखित एक ‘ब्ल्याक’ महिलालाई पछि राख्दै स्लोभाकियन फेसन डिजाइनरलाई समाएर दौडिरहेको देखाइएको थियो ।
जमैकामा बिक्रीका हिसाबले दोस्रो ठूलो अखबारमा बोल्टको महिला छनोटलाई लिएर सम्पादकलाई चिठी पनि प्रकाशन भएको थियो । स्लोभाक–बोल्ट सम्बन्धलाई लिएर इन्टरनेटमा कयौं आक्रोशजन्य प्रतिक्रिया देखिएका थिए । (एएफपी)

प्रतिक्रिया