बन्दमाथि बन्द घोषणा

काठमाडौं, २ जेठ । १८ दिनदेखि बन्द सुदूरपश्चिम र ६ दिनदेखि बन्द मध्यपश्चिममा सोमबारदेखि अरू बन्द थपिएपछि जनजीवन निकै कष्टकर भएको छ । थरुहट/थारूवान समर्थकले सोमबारदेखि शुक्रबारसम्म नवलपरासीदेखि सुदूरपश्चिम बन्द आह्वान गरेका हुन् । कैलालीमा रानाथारूले छुट्टाछुट्टै माग राखेर अर्को बन्द घोषणा गरेका छन् । लगातारका बन्दपछि चितवन र दाङमा १४ जेठसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

थरुहट/थारूवान समर्थकले कैलाली र कञ्चनपुरसहितको थारूवान स्वायत्त राज्यको माग राखेर सोमबारदेखि शुक्रबारसम्म आमहडतालसहित तराईका जिल्ला बन्द घोषणा गरेका छन् । १४ जेठसम्म विभिन्न ठाउँमा सभा र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।
थारूवान राज्यको पक्षमा एमाओवादी, नेकपा (एमाले), नेपाली कांग्रेसका केही नेता कार्यकर्ता तथा मधेसी मोर्चा र आदिवासी संगठनले ऐक्यबद्धता जनाएका छन् । यस्तै, कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारूले दुई जिल्ला समेटेर रानाथारू स्वायत्त प्रदेश माग राखेर मंगलबारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका छन् । उनीहरूले सोमबार सिडिओमार्फत तीनबुँदे मागको ज्ञापन पत्र प्रधानमन्त्रीलाई
पठाएका छन् ।
राज्य पुन:संरचनामा पहिचान र सामथ्र्यका आधारमा गरिनेछ भन्ने नीतिगत र सैद्धान्तिक सहमति हुँदाहुँदै पनि पुन:संरचना तथा राज्य शक्ति बाँडफाँड समितिमा दलहरूले प्रस्तुत गरेका खाकामा कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आइरहेका नयाँ मुलुकका धर्तीपुत्र रानाथारूको ऐतिहासिक पहिचान र अधिकारलाई बेवास्ता गरिएकाले माग सम्बोधनका लागि सिडिओमार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र र बन्दको कार्यक्रम घोषणा गरिएको रानाथारू संयुक्त संघर्ष समितिका सहसंयोजक नवराज रानाले बताए ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राज्य पुन:संरचना समितिमा राखेको १० प्रदेशको खाकामा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई टुक्रयाएर थरुहट/थारूवानमा राखेको विरोधमा १५ वैशाखदेखि लगातार सुदूरपश्चिम बन्द छ ।
यस्तै, मध्यपश्चिममा विभिन्न समूहबीच बन्द हडताल गर्ने होडबाजी चलेको छ । विभिन्न माग राख्दै छ दिनयता भइरहेका बन्दले जनजीवन कष्टकर बनेका बेला बन्द गर्नेको संख्या बढेपछि दैनिक उपभोग्य सामग्रीको अभाव सुरु भएको छ ।
अखण्ड मध्यपश्चिम, अखण्ड थरुहट, अखण्ड तराई गरी तीन समूहले छ दिनदेखि बन्द गराइरहेको छ । सोमबारबाट अखण्ड थरुहट माग्दै थारू समुदायले शुक्रबारसम्म बन्द आह्वान गरेका छन् ।
यसअघि जातीय राज्यको विपक्षमा ब्राह्मण–क्षेत्रीले बन्द गरेका थिए भने मुस्लिम समुदायले पनि एक दिन बन्द गरे । बन्दकै बीचमा आइतबार मधेसी जनअधिकार फोरम नेपालले अर्को बन्द गरेको थियो ।
थारुहट स्वायत्त संघर्ष समितिले गरेको बन्दका कारण नवलपरासीको जनजीवन पनि प्रभावित छ । जिल्लामा यातायात, उद्योग, कलकारखाना, बजार ठप्प रहेका छन् । आदिवासी जनजाति समुदाय पनि बन्दमा समर्थन जनाउँदै सडकमा उत्रेका छन् ।
यस्तै, जातीय पहिचानसहितको संघीय राज्य स्थापनाको माग गर्दै संघीय पक्षधर संयुक्त संघर्ष समितिले गरेको तराई बन्दका कारण दाङमा पनि जनजीवन प्रभावित भएको छ । बन्दका क्रममा एउटा मोटरसाइकलमा आगजनी भएको छ भने दुईवटा बसमा तोडफोड भएको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले देउखुरी सोनपुर–१ नर्तीमा भे २ प ९५६१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् भने काठमाडांैबाट आइरहेको ना ४ ख २५५० र ना ४ ख ६४५० नम्बरको बस तोडफोड गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । बन्दकर्ताले बस रोकेर तोडफोड गरेपछि यात्रु बाटोमै अलपत्र परेका छन् ।
संघीय पक्षधर संयुक्त संघर्ष समितिमा थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), थरुहट स्वायत्त राज्य परिषद्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी नेपाललगायत १४ पार्टी तथा जातीय संघसंगठन छन् ।

प्रतिक्रिया