प्रहरी हिरासतभित्र मृत्यु

सुर्खेत, २ जेठ । करणी आरोपपछि अनुसन्धानका लागि ल्याइएका व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका वीरेन्द्रनगर–१२ नेवारेका ४१ वर्षीय राजकुमार गन्द्रमाको आइतबार राति उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार दिउँसो गन्द्रमाले लगातार बान्ता गरेपछि उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ पठाइएको थियो ।
एसपी गोविन्दराम परियारले सामान्य उपचारपछि उनलाई हिरासतमा ल्याएर राखिएको र राति पौने ११ बजे मुखबाट फिँज निकालेर छट्पटाउन थालेपछि पुन: अस्पतालमा भर्ना गरिएको बताए । उपचारका क्रममा राति पौने १ बजे गन्द्रमाको मृत्यु भएको हो ।
जबर्जस्ती गरेको अभियोगमा उनलाई प्रहरीले १९ वैशाखमा हिरासतमा लिएको थियो । दमका रोगी गन्द्रमालाई स्थानीयवासीले समातेर प्रहरीलाई बुझाएका थिए । प्रहरीमा जाहेरी दर्ता भएपछि आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।
मृतकका आफन्तले झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाएका छन् । मृतककी पत्नी लीलाले व्यक्तिगत रिसिइबीका कारण पतिको हत्या गरिएको आरोप लगाइन् । उनले गाउँकै केही व्यक्तिले काम गरिरहेको अवस्थामा कुटपिट गरी प्रहरीलाई बुझाएको बताइन् ।
उनका अनुसार पति घटना हुनुभन्दा एक साताअघि मात्रै भारतबाट घर आएका थिए । आम्दानीको स्रोत केही नभएपछि पैसा कमाउन भारत गएर आएको एक साता नबित्दै केही व्यक्तिले कुटपिट गरी प्रहरीलाई बुझाएको उनले बताइन् । हिरासतमा रहँदा भेट्न जाँदासमेत प्रहरीले भेट्न नदिएको उनीले गुनासो गरिन् ।
मृतकका दाजु धनबहादुरले पहिले हिरासतमा हुँदा भेट्न पनि नदिइएको र बिरामी हुँदासमेत परिवारलाई खबर नगरिएकाले कुटपिटबाटै भाइको मृत्यु भएको बताए । उनले भाइको मृत्यु भइसकेपछि पनि बिरामी भएको भन्दै ढाँटेर राति एक बजे भेट्न बोलाएको बताए । परिवारले घटनाको न्यायिक छानबिन नभएसम्म शव नउठाउने बताएको छ ।
जिल्लास्थित विभिन्न अधिकारीकर्मीले घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । अधिकारकर्मीहरूको सोमबार वीरेन्द्रनगरमा बसेको बैठकले घटनाको छानबिन गर्न पार्वती गिरीको अध्यक्षतामा ६ सदस्यीय समितिसमेत गठन गरेको छ । समितिले घटनाको अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया