बन्दले चमेलिया निर्माण रोकियो

काठमाडौं, २ जेठ । अखण्ड सुदूरपश्चिमको माग गर्दै १८ दिनदेखि सुदूरपश्चिम बन्द हुँदा चमेलिया जलविद्युत् आयोजनाको निर्माण पनि रोकिएको छ ।

आयोजनास्थल दार्चुलामा कच्चापदार्थ लैजान नसक्दा निर्माण ठप्प भएको हो । ‘डिजेल, सिमेन्ट, छडलगायत सामान धनगढीमा लैजान सकेका छैनौँ,’ आयोजना प्रमुख गोपालबाबु भट्टराईले भने, ‘त्यसैले काम ठप्प भएको छ ।’ उनका अनुसार स्टक रहेको डिजेल सुरुङ निर्माणका लागि उपयोग भएपछि विद्युत् गृह, बाँध निर्माणलगायत कार्य ठप्प भएको छ । धनगढीबाट डडेल्धुरा, बैतडी, डोटी हुँदै कच्चापदार्थ दार्चुला लैजानुपर्छ ।
डिजेल अभावमा विद्युत् गृहमा जम्मा भएको पानी फाल्न सकिएको छैन । ‘विद्युत् गृह डुब्ने अवस्थामा पुगेको छ, ३/४ दिनभित्र पानी फाल्न सकिएन भने ठूलो क्षतिको सम्भावना छ,’ प्रमुख भट्टराईले भने, ‘पानी भरिँदै जाँदा फलाममा खिया लाग्ने समस्या छ ।’ आयोजनाका लागि आवश्यक कच्चापदार्थ प्रहरीको सहयोगमा लैजान खोजिए पनि सम्भव नभएको आयोजनाले जनाएको छ ।
निर्माणमा २८ महिना ढिला र विभिन्न बाधा अवरोधका कारण चमेलिया जलविद्युत् आयोजनाको लागत चार अर्ब रुपियाँ बढेको छ । जनवरी २००७ मा सुरु भएको आयोजना सन् २०११ मा निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । तर, २० महिना आयोजनाको म्याद थप गरेर अगस्ट २०१३ भित्र निर्माण सम्पन्न गर्ने योजना छ ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै १८ दिनदेखि सुदूरपश्चिम बन्द हुँदा आयोजनाको कार्यतालिका प्रभावित भएको छ । ‘बन्दका कारण समयमा काम गर्न नसक्दा निर्माणको समय लम्बिने र लागत बढ्ने देखिएको छ,’ आयोजनाका एक प्रतिनिधिले थपे, ‘चिनियाँ कम्पनीका मजदुर र परामर्शदाताले कच्चापदार्थको व्यवस्था नगरे काम छाडेर हिँड्छौँ भन्न थालिसकेका छन् तर प्राधिकरण, ऊर्जा मन्त्रालय र सरकारले वास्ता गरेको छैन ।’
बन्दको प्रभावले आयोजनाको लागत बढ्ने र समयमै उत्पादन हुन नसक्दा उत्पादन हुने विद्युत्को घाटासमेत बेहोर्नुपर्ने भएको छ । प्राधिकरण उत्पादन निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डे विद्युत् आयोजनाका लागि कच्चापदार्थ बन्दको बेला पनि निर्बाध रूपमा ढुवानी गर्न दिनुपर्ने बताउँछन् । ‘आयोजना निर्माणमा ढिलाइ हुँदा दूरगामी असर पर्ने भएकाले बन्दको बेला एम्बुलेन्स तथा पर्यटकसरह आयोजनाका सामान निर्बाध रूपमा लैजान दिनुपर्छ,’ उनले थपे, ‘आयोजनाको पत्र हेरेर निर्बाध चल्न दिने व्यवस्था हुनुपर्छ ।’
आयोजनाका अनुसार सुरुङ निर्माण सकिएको छ भने विद्यृत् गृहको निर्माण कार्य ८७ प्रतिशत र बाँध निर्माण ५२ प्रतिशत सकिएको छ । बाधा–अवरोध नआए र समयमै ठेकेदार तथा परामर्शदातालाई भुक्तानी दिन सके सन् २०१३ को अगस्टभित्रै आयोजना सम्पन्न गराउने लक्ष्य छ ।
कोरियन सरकारको ४५ मिलियन डलरसहित कुल १२ अर्ब ५० करोड रुपियाँको लागतमा आयोजना निर्माण हुन लागेको हो । पहिलोपटक नेपालकै इन्जिनियर सहभागी साह सिल्ट आइकन जेभी परामर्शदाता रहेको आयोजनाको बाँधसमेत नेपालमै सबैभन्दा बढी ५४ मिटर अग्लो छ ।
चीनको गेजुवा वाटर एन्ड पावर कम्पनीले मुख्य सिभिल कार्य गरिरहेको आयोजना समन कर्पोरेसन कोरियाले ठेक्का लिएको हो । निर्माण सुरुयता ६७ दिन बन्द भएको आयोजनामा पछिल्लो समय लगातार काम भइरहेको थियो । अहिले सुदूरपश्चिम बन्दले आयोजना निर्माणमा ठूलो असर परेको हो । ‘बन्दले आयोजना निर्माणमा ठूलो समस्या ल्याएको छ,’ आयोजनाका उपप्रबन्धक अजय दाहालले भने । सुदूरपश्चिमको दार्चुला शिखरमा निर्माणाधीन एकमात्र आयोजनाको उत्पादन क्षमता ३० मेगावाट रहेको छ । आयोजनामा एक सय ५० जति चिनियाँ, २० कोरियन तथा दुई हजारभन्दा बढी नेपाली कामदारले रोजगारी पाएका छन् ।

प्रतिक्रिया