आठ महिनामा अग्निका दुई ठूला दुर्घटना

काठमाडौं, २ जेठ । निजी क्षेत्रको विमान कम्पनी अग्नि एयरले ८ महिनाभित्रै दुई ठूला दुर्घटना व्यहोर्नुपरेको छ । जर्मनीमा निर्मित डोर्नियर तथा जेटस्ट्रिम जहाजबाट हवाईसेवा सञ्चालन गरिरहेको कम्पनीका लागि ०६८ र ०६९ साल अफापसिद्ध भए ।

सोमबार पोखराबाट उडेको कम्पनीको ९–एन एआइजी डोर्नियर जहाज अवतरणका लागि कागबेनी हँदै पुथाङस्थित जोमसोम विमानस्थलतर्फ आउँदै गर्दा भएको दुर्घटनामा १५ जनाले ज्यान गुमाए । ०३६ सालदेखि उडान सुरु भएको मुस्ताङ विमानस्थलमा नेपाल एरलाइन्स, सीता एयरलगायत आधा दर्जन कम्पनीका विमान सामान्य दुर्घटनामा परेका थिए तर सोमबारको दुर्घटनामा १३ भारतीय पर्यटकसहित १५ जनाले ज्यान गुमाउन पुगे ।
गत वर्ष भदौमा मकवानपुरको शिखरपुर गाविसस्थित बस्तीपुरमा भएको दुर्घटना सेलाउन नपाउँदै भएको अर्को दुर्घटनाबाट कम्पनी आहत बनेको छ । अघिल्लोपटक काठमाडौंबाट लुक्लाका लागि उडेको कम्पनीको ९–एन एएचई डोर्नियर जहाज दुर्घटनामा पर्दा चालक दलसहित १४ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । सो जहाजमा ६ विदेशी पर्यटक थिए । १९ सिटे सो जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुरक्षित अवतरणका लागि काठमाडौं फर्कंदै थियो ।
माउन्टेन फ्लाइटका अतिरिक्त पोखरा, पोखराबाट जोमसोम, तुम्लिङटार, फाप्लु, भद्रपुर तथा लुक्लालगायत गन्तव्यमा उडान भरिरहेको कम्पनीका जहाज पुराना हुनु दुर्घटनाको एउटा कारण हुन सक्ने विज्ञहरू बताउँछन् । नागरिक उड्डयन प्राधिकरणको अनुगमन पनि प्रभावकारी नभएको उनीहरूको भनाइ छ तर कम्पनीका अधिकारीहरू भने पुरानो जहाजका कारण दुर्घटना भएको कुरा स्विकार्न तयार छैनन् ।
कम्पनीसँग रहेका तीनवटा डोर्नियरमध्ये दुईवटा दुर्घटनामा ध्वस्त भइसकेका छन् । कम्पनीसँग अब तीनवटा जेटस्ट्रिम र एउटा डोर्नियर बाँकी छन् । यात्रुसंख्याको आधारमा अग्नि एयर मुलुकको तेस्रो ठूलो विमान कम्पनी हो । यसले सन् २०११ मा ९ हजार ६ सय ८९ उडानमार्फत ८ लाख ६४ हजार ६ सय ७२ यात्रु बोकेको तथ्यांक छ । कम्पनीले आन्तरिक वायुसेवाको रूपमा सन् २००५ मा लाइसेन्स पाएको थियो ।

कस्तो जहाज हो डोर्नियर ?
दुईवटा इन्जिन हुने डोर्नियर आधुनिक प्रविधियुक्त जहाज हो । विज्ञहरूका अनुसार दुवै इन्जिन बन्द भए पनि यो जहाज हावामा तैरिँदै ‘ल्यान्ड’ हुन सक्छ । दुर्घटना छानबिन समितिले जेनेरेटर र ब्याट्रीले सँगसँगै काम नगर्दा दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरेपछि गत वर्ष भएको शिखरपुर दुर्घटनालाई जर्मनीस्थित जहाज निर्माता कम्पनीले अद्वितीय दुर्घटनाको संज्ञा दिएको थियो ।
‘नेपालमा अग्नि एयरको डोर्नियर जहाज दुर्घटना यसअघि संसारमा कहिल्यै नभएको घटना हो,’ कम्पनीले भनेको थियो । डोनिर्यर जहाजका दुवै जेनेरेटर र ब्याट्री एकसाथ फेल भएको कम्पनीको इतिहास नै नभएको कम्पनीको भनाइ थियो ।
संसारका थुप्रै धनाढ्यले व्यक्तिगत जहाजका रूपमा जर्मनीमा बनेका डोर्नियर जहाज प्रयोग गरिरहेका छन् । सुरक्षा दृष्टिले यो जहाजलाई मजबुत मानिन्छ । नेपालजस्तो भौगोलिक विशेषता भएको मुलुकमा यो जहाज उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया