‘मिश्रित शासकीय स्वरुपमा सहमति नजिक’

काठमाडौं, १ जेठ । राज्य पुनर्संरचना र शासकीय स्वरुपका बारेमा प्रमुख दलहरु सहमतिको नजिक पुगेको पुनः दावी गरेका छन् ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुका वीच आज बेलुका भएको बार्तामा राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमतिको नजिक पुगेको नेताहरुले बताएका हुन् । शासकीय स्वरुपमा दलहरु मिश्रित प्रणालीमा जाने सहमति गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बसेको बैठक पछि सञ्चारकर्मीसँग करागर्दै एमाले अध्यक्ष झलनाथ खनालले मिश्रित शासकीय स्वरुपका विषयमा सहमति भएको दावी गरे । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा सहमति भएको बताए ।
यद्यपी अधिकार बाँडफाँटका बारेमा भने मंगलबार विहान बस्ने शीर्ष बैठकले टुङगो लगाउने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले राष्ट्रपतिमै कार्यकारी अधिकार राख्ने बताए ।
राज्य पुनर्संरचनामा भने दलहरुका वीच टुङगो लगाउन दलहरु आजपनि असमर्थ भएका छन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि शासकीय स्वरुपमा मिश्रित प्रणालीमा जाने विषयमा सहमति नजिक पुगेको बताए । उनले मंगलबार हुने छलफलबाट अन्तिम टुङगो लगाउने बताए ।
राज्य पुनर्संरचनामा भने दलहरुका वीच एघार वटा संघीय राज्यका बारेमा छलफल भएको थियो । संघीय राज्यको नाम बहुजातीय राख्ने भन्ने विषयमा समेत परामर्श भएको नेताहरुको भनाई छ ।
दलहरुले आज दिनभरी विभिन्न चरणमा छलफल गरेका थिए । एमाओवादीले पनि एघार वटा संघीय राज्य बनाउने विषयमा स्थायी समितिबाट निर्णय गर्दै छलफल चलाउने निणय गरेको थियो ।

प्रतिक्रिया