चार शक्तिवीच सहमतिको अन्तिम प्रयास गरिने

काठमाडौं, १ जेठ । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले नयाँ संविधानका विवादित विषयमा प्रमुख चार राजनीतिक शक्तिवीच पूर्व सहमति जुटाउने निर्णय गरेको छ ।
उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक समितिमा पेश भई सकेका प्रश्नावलीमा समेत सहमति जुटाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसका लागि एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच विवादित विषयमा पूर्व सहमति जुटाउने प्रयास गरिने छ ।
विवादित विषयका प्रश्नावलीलाई संविधानसभामा प्रक्रियामा लैजानसमेत कठिनाई उत्पन्न भएको भन्दै उपसमितिले संविधानका टुंगो लाग्न बाँकी आधारभुत विषयहरुमा चार राजनीतिक पक्षवीच सहमति नै गर्नु अपरीहार्य रहेको निष्कर्ष निकालेको हो ।
नियमावलीको प्रक्रियाबाट टुंगो लगाउन संविधानसभामा पेश गर्ने निर्णय भई प्रश्नावली निर्माण गरेर उपसमितिले संवैधानिक समितिमा पेश गरेपनि समितिले स्वीकार नगरेको उपसमितिको भनाई छ । यस्तो अवस्थामा सहमति जुटाउनुनै आवश्यक रहेको निष्कर्ष उपसमितिले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
उपसमितिले सहमतिको अन्तिम र निर्णायक प्रयास गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया