इजरायल जाबो मच्छड हो :अहमदिनेजाद

तेहरान, १ जेठ । इजरायलले इरानमाथि हमला गर्ने चेतावनी दिइरहेका बेला इजरायललाई मच्छडको संज्ञा दिँदै उसको सैन्य सामथ्र्यको इरानले खिल्ली उडाएको छ । इरानको खोरासन प्रान्तमा इरानी राष्ट्रपति महमुद अहमदिनेजादले शनिबार इजरायलाई मच्छडसँग तुलना गर्दै इजरायली चेतवनीको बेवास्ता गरेका छन् ।
‘इजरायल जाबो मच्छडभन्दा बढी अरू केही होइन, उसले इरानी राष्ट्रको फराकिलो सीमा कसरी देख्न सक्छ,’ राष्ट्रपति अहमदिनेजादले भने । साथै, उनले ‘क्षेत्रीय राष्ट्र’हरूले ‘अहंकारी र साम्राज्यवादी’ शक्तिबाट अर्बौंको हतियार खरिद गरेर मुख्र्याइँ गरिरहेको आरोप पनि लगाए ।
पश्चिम एसियाका कतिपय शासकले ६० अर्ब डलरको हतियार खरिद गर्न आफ्नो पेट्रोल बेचिरहेको भन्दै उनले व्यंग्य गरे । तर, तेल र हतियार बिक्रेताको नाम भने उनले खुलाएनन् । गत २० वर्षभित्र इरानको छिमेकी राष्ट्र साउदी अरबले अमेरिकासँग ६० अर्ब डलरको हतियार खरिद सम्झौता गरेको सन्दर्भमा राष्ट्रपति अहमदिनेजादको व्यंग्य साउदी अरबतर्फ लक्षित रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हर्मुज जलनाकामा इरानले सक्रियता बढाउन खोजेपछि जलनाकासँग जोडिएको साउदी अरबले गत वर्ष मात्रै अमेरिकासँग ३० अर्ब अमेरिकी डलर बराबरको हतियार खरिद सम्झौता गरेको थियो । सम्झौतामा एफ–१५ जस्तो अत्याधुनिक युद्धक विमान खरिद गर्ने उल्लेख थियो । विश्वको एक मात्र यहुदी राष्ट्र इजरायलको चर्का आलोचक राष्ट्रपति अहमदिनेजादले ‘इजरायलविहीन विश्व’ का पक्षमा भनाइ राख्दै आएका छन् । विश्व मानचित्रबाट इजरायलको नामोनिसान मेटाइदिने चेतावनी उनले पटकपटक दिएका छन् ।
‘अल्लाहको शक्तिको सहायताले हामीले चाँडै अमेरिका र यहुदीवाद उन्मूलन भएको विश्व देख्नेछौँ,’ उनले भने । पश्चिम एसियाली राष्ट्रले इजरायलसँग सम्बन्ध विच्छेद गरे इजरायलको पतन हुने दाबी उनले गरे । इजरायललाई तेल बिक्री नगरे मात्रै पनि उसको पतन निश्चित रहेको उनले बताए । (एजेन्सी)

प्रतिक्रिया