स्थानीयले रोके समाजकल्याण परिषद्का निर्देशकलाई

सुर्खेत, १ जेठ । स्थानीयस्तरमा जानकारी नगराई कार्यालयका सामान लिएर काठमाडौं फर्कन लागेका समाजकल्याण परिषद्, क्षेत्रीय कार्यालय सुर्खेतका निर्देशकलाई स्थानीयले रोकेका छन् । गैरसरकारी संस्था सुर्खेत र सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीले निर्देशक रामराज भट्टराईलाई नियन्त्रणमा लिएका हुन् ।

निर्देशक भट्टराईले जानकारी नदिई कार्यालयका सामान गाडीमा लोड गरेर काठमाडौं फर्कन लागेका थिए । उनलाई मानसरोवर होटलमा खाना खाइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष डिल्लु घिमिरे, एकीकृत नेकपा (माओवादी) वीरेन्द्रनगरका नगर इन्चार्ज गंगाराम तिमिल्सिनालगायतको टोलीले उनलाई रोकेपछि गाडीमा लोड गरिएको सामान पुन: कार्यालयमै ल्याइएको छ ।
शनिबार काठमाडौंबाट सुर्खेत आएका निर्देशक भट्टराईसहितको टोलीले कार्यालयका सामान बसपार्कमा लगेर गाडीमा लोड गरिसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । निर्देशक भट्टराईले परिषद्को केन्द्रीय कार्यालयले नै क्षेत्रीय कार्यालय बन्द गरेर सबै सामान लिएर परिषद्मा दाखिला गर्न निर्देशन दिएकाले सामान लैजान लागेको बताए । उनले परिषद्को १२ वैशाखमा बसेको बैठकले सम्पूर्ण क्षेत्रीय कार्यालय विघटन गर्ने निर्णय गरेको जानकारी दिए ।
मध्यपश्चिम क्षेत्रका जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले ५ भदौमा तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री जयपुरी घर्तीले क्षेत्रीय कार्यालयको उद्घाटन गरेकी थिइन् । कार्यालय सञ्चालन भएको नौ महिना नपुग्दै कार्यालय बन्द गर्ने भन्दै निर्देशकले स्थानीयस्तरमा जानकारी नदिई सामान लिएर आउन लागेपछि अवरोध भएको हो ।
समाजकल्याण परिषद्को सुर्खेतस्थित क्षेत्रीय कार्यालयका निर्देशक रामराज भट्टराई नौ महिनामा जम्मा २४ दिन मात्रै कार्यालयमा हाजिर भएका थिए । ५ भदौमा सुरु भएको कार्यालयमा हालसम्म रहेका निर्देशक भट्टराईले हाजिरी पुस्तिकामा २४ दिन मात्रै हाजिर गरेका छन् ।

प्रतिक्रिया