एक करोड लुट्ने प्रयास असफल

काठमाडौं, १ जेठ । बालाजुस्थित डिडिसी दूध उद्योगको एक करोड रुपियाँभन्दा धेरै रकम लुट्ने योजना बनाएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा नुवाकोटका २२ वर्षीय सुजन तामाङ, ३४ वर्षीय वासु कार्की, २० वर्षीय अनिल तामाङ, २० वर्षीय सन्तबहादुर तामाङ, ३४ वर्षीय रामबहादुर तामाङ र धादिङका २१ वर्षीय पूर्णबहादुर तामाङ छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनीहरूलाई आइतबार बिहान साढे ११ बजे उद्योगको मूलगेट अगाडिबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उद्योगमा लुट्ने उद्देश्यले उनीहरू तीनवटा मोटरसाइकल, हतियार र खुर्सानीको धुलोसहित त्यहाँ पुगेका थिए । उद्योगमा जम्मा रकम बैंकमा राख्न लैजाने थाहा पाएपछि लुट्ने उद्देश्यले उनीहरू गेटनजिकै ढुकेर बसेका थिए । लुटपाटको मुख्य योजनाकार नुवाकोटको मनकामना–२ का ३४ वर्षीय कार्की रहेको प्रहरीले जनाएको छ ।
दुई दिनसम्मको नेपाल बन्द र शनिबार पनि बैंक बन्द भएपछि उद्योगमा एक करोड रुपियाँभन्दा धेरै रकम जम्मा भएको थियो । उक्त रकम आइतबार गाडीबाट ठमेलस्थित हिमालयन बैंकमा लैजाने तयारीमा कर्मचारी थिए । यसको सुराक पाएर उनीहरू लुट्न बसेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरू मुलगेटबाट गाडी बाहिरिनासाथ चालक र गाडीभित्र रहेका व्यक्तिको आँखामा खुर्सानीको धुलो हाल्ने र रकम लुट्ने, त्यसो हुन नसके आक्रमण गरेरै भए पनि रकम लैजाने तयारीमा थिए । ‘उनीहरू जसरी हुन्छ रकम लुट्ने तयारीमा थिए,’ प्रहरी वृत्त महाराजगन्जका डिएसपी जगदीश पोखरेलले भने, ‘उद्योगको अघिल्तिरको ओरालोमा भएको स्पिडब्रेकरमा गाडीको गति कम हुने भएकोले केहीगरी गेटबाट उम्के पनि त्यहाँ आक्रमण गर्थे ।’
उनीहरूसँगै प्रहरीले बा ४९ प २३३४, बा ४१ प २६२ नम्बरको पल्सर र बा १६ प ३३६५ नम्बरको इनटाइसर मोटसाइकल बरामद गरेको छ । त्यसमध्ये दुईवटा मोटरसाइकलको नम्बरप्लेट पोतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट खुकुरी, तरबार, रबर पन्जा र खुर्सानीको धुलो बरामद गरिएको छ । उनीहरूका गतिविधिलाई प्रहरीले विगत केही सातादेखि नै निगरानीमा राखेको थियो । डिएसपी पोखरेलले भने, ‘पिछा गर्दै जाने क्रममा उनीहरूलाई बालाजुस्थित डिडिसी दूध उद्योग अघिल्तिर भेटियो, शंका लागेपछि नियन्त्रणमा लिइयो, अनुसन्धान गरेपछि मात्रै उनीहरूको यो योजना खुल्यो ।’

प्रतिक्रिया