पुलिसको जितमा भरत नायक


काठमाडौ, ३१ वैशाख । राष्ट्रिय लिग जिताउनुका बाबजुद प्रेसिडेन्ट्स कपमा नखेलेका स्टार फरवार्ड भरत खवासको उत्कृष्ट प्रदर्शनमा नेपाल पुलिस क्लबले शनिबार मोहन बगानसँग भएको मैत्रीपूर्ण खेलमा २–० को जित हात पार्‍यो ।
प्रेसिडेन्ट्स कप छनोट फुटबलमा निराशाजनक प्रदर्शन गरेर फर्किएको दुई दिनपछि नै दक्षिण एसियाको पायोनियर शक्तिलाई हराउने क्रममा पछिल्लो समय राष्ट्रिय टोलीमा असफल भएका सन्तोष साहुखलले पनि गोल गरे । भरतको गोल भने दशरथ रंगशालामा हालसम्म भएका उत्कृष्ट गोलमध्येको एकको रूपमा रहयो । नियमित समय सकिन चार मिनेट बाँकी रहँदा उनले डिबक्सछेउबाट पाँचजना विपक्षी खेलाडीलाई छलाउँदै लगेर गोल गरे । अस्वाभाविक गोलको खुसी मनाउने क्रममा भरतले मोहन बगानका हसन लिमासँग खेलको समाप्तिपछि जर्सी साटेका थिए । दशरथ रंगशालामा उपस्थित हजारांै दशर्कको मन नै लोभ्याउँदो गोल गरेका भरतले त्यसअघि पनि दुईपटक उत्कृष्ट प्रयास गरेका थिए । भरतले गोल गर्नुअघि ८०आंै मिनेटमा सन्तोषले पुलिस क्लबलाई पहिलो अग्रता दिलाएका थिए ।
उत्कृष्ट गोल गरेपछि भरतले आफूलाई जुन अपेक्षा गरेर खेल्न बोलाइएको थियो त्यसलाई पूरा गरेको बताए । उनले आफूले अवसर पाए गोल गर्ने आत्मविश्वास भए पनि यस्तै गोलको बारे नरहेको बताए । पछिल्लो सत्र फ्रेन्ड्स क्लब छाडेर पुलिस क्लब आएपछि उनले पुलिस क्लबलाई सहिद स्मारक लिग र राष्ट्रिय लिग जिताउन अहं भूमिका निभाएका थिए । यसैकारण उनी राष्ट्रिय लिगका उत्कृष्ट फरवार्ड घोषित भएका थिए । शान्त र भद्र स्वभावका भरतले प्रहरी टोलीले धोका दिएको महसुस गर्दै क्लब छाडेका थिए । हाल उनी अन्य ए डिभिजन क्लबसँगको सम्झौताको तयारीमा छन् ।
पुलिस क्लबले सन्तोषको साथै किरण चेम्जोङ, विराज महर्जन, सन्दीप राई र भरतलाई पनि खेलाएको थियो । पुलिसलाई सहिद स्मारक लिग च्याम्पियन र राष्ट्रिय लिग च्याम्पियन बनाएपछि क्लब छाडेका भरतले आयातीत खेलाडीको रूपमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाएका थिए । नेपाली क्लबसँगको पराजयपछि मोहन बगानका प्रशिक्षक सुव्रतो भट्टाचार्यले आफ्नो टोली घरेलु लिगको व्यस्त तालिकाका कारण थकित भएको बताए । भट्टाचार्यले भनेझैं कप्तान सुनील क्षत्रीले हाफमै दुई राम्रा अवसर नगुमाएको भए खेलको परिणाम अर्कै पनि हुन सक्थ्यो । पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि विपक्षी टोली राम्रो भए पनि प्राप्त मौकाको उपयोग गर्न नसकेका कारण आफ्नो टोलीले त्यसको फाइदा उठाएको बताए । पुलिस क्लबको जितमा पाँच आयातीत खेलाडीको उपयोग गरिए पनि घाइते खेलाडी जुमानु राई मैदान प्रवेश नगर्नु त स्वाभाविक थियो । तर, सबैभन्दा क्लब फुटबलर रविन श्रेष्ठ पनि मैदानमा उत्रेनन् । उनी हाल प्रहरी टोलीमा भएमध्येमा सबैभन्दा क्लास फुटबलरको रूपमा परिचित छन् ।
नेपाली खेलाडीमा रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेको थियो भने भरतले गोल गर्नुअघि दुईवटा सशक्त प्रहार गरेका थिए । २०५३ सालमा भएको आमन्त्रण फुटबलमा फ्रेन्ड्स क्लब र मनाङ–मस्र्याङदी क्लबसँग इस्ट बंगाल पराजित भएयता दशरथ रंगशालामा घरेलु टोलीले पराजित गरेको मोहन बगान नै सबैभन्दा उत्कृष्ट टोली हो ।

प्रतिक्रिया