बन्दमा अगाडि–अगाडि बालबालिका

काठमाडौं, ३० वैशाख । ‘जो पनि प्रेस भन्दै कार्ड देखाउँछन्, पत्रकार पनि कति धेरै हुँदा रहेछन् है †’ नयाँ बानेश्वर चोकमा बन्दकर्ताको हुलमा एक बालक आफ्ना साथीसँग यसरी गफिए । त्यसपछि उनीहरू ‘यसको पनि हावा फुस्काउनुपर्छ’ भन्दै मोटरसाइकलतिर जाइलागे ।
नेपाल बन्दको दोस्रो दिन शुक्रबार छिटफुट चलेका मोटरसाइकलका हावा फुस्काउनेमा बालबालिका अगाडि देखिन्थे । सुजन र अमूल  नाम बताउने ती बालक नयाँं बानेश्वर चोकमा बिहानैदेखि बसेका रहेछन् । सक्रियता हेर्दा यस्तो लाग्छ उनीहरु आफ्नो अधिकारका लागि लड्दै छन् । तर, उनीहरुलाई आन्दोलन केका लागि भन्ने जानकारी भने छैन । किन बन्द गरेको भन्ने सौर्यको जिज्ञासामा उनीहरु अलमलमा परे । तब उनीहरुले भने, ‘खै † त्यो त ठूला मान्छेलाई सोध्नुपर्छ ।’ त्यसबेलासम्म दुईवटा बाइकको हावा फुस्काइसकेको उनीहरुले बताए ।
बुवा पनि बन्द गर्न लागिपरेको बताउने सुजनले भने, ‘आन्दोलनमा हल्ला गर्न रमाइलो लाग्छ ।’ अरु दिनमा बन्दमा जानु हुन्न भन्ने उनका बुवाले यसपटक भने नरोकेको उनले बताए । विद्यालय पनि बन्द हुने र अभिभावकले पनि बन्दमा जान स्वीकृति दिएपछि बालबालिका बन्दलाई ‘पर्वजसरी’ मनाइरहेका छन् ।
काठमाडौंका चोकमा जम्मा भएका बन्दकर्तामा बालबालिकाको संख्या उल्लेख्य थियो । पसल बन्द गराउने र बाइकको हावा फुस्काउनेमा पनि उनीहरु नै अगाडि देखिन्थे । उनीहरुको सहभागिता र सक्रियतालाई आन्दोलनकर्ताले प्रयोग गरेको प्रतिक्रिया दिन्थे अन्य सर्वसाधारण । तर, उनीहरु स्वस्फुर्त रुपमा आएको आन्दोलनकर्ताको दाबी छ ।
पुतलीसडकमा बन्दको नेतृत्व गरिरहेका नवलपरासीका सन्तोष अधिकारीले भने, ‘हामीले किन बोलाउनु ? जातीय राज्यविरुद्ध बन्द गरिएकाले आए होलान् नि बाहुन क्षत्रीका बच्चाबच्ची ।’
बालबालिकालाई आन्दोलनमा सहभागी गराउंदा उनीहरुमा नकारात्मक प्रभाव पर्ने विशेषज्ञ बताउँछन् । बालबालिकालाई आन्दोलनमा जान रोक लगाउने कुरामा अभिभावकले ध्यान नदिएको उनीहरुको बुझाइ छ  । ‘अभिभावकले आफ्नै बालबालिकालाई अन्धकारमा धकेलिरहेका छन् । अहिले ध्यान नदिनाको परिणाम पछि थाहा हुन्छ,’ मनोचिकित्सक गंगा पाठक भन्छिन्, ‘बालबालिकाले हरेक कुरा पाउन आन्दोलन गर्नुपर्छ भन्ने सिकिरहेका छन् ।’
बालबालिकाले ७५ प्रतिशत हेरेरै सिक्ने गरेको पाठकको भनाइ छ । उनका अनुसार ‘बालमनोविज्ञान हेर्दा उनीहरुले यो आन्दोलनबाट धेरै उत्प्रेरणा पाइरहेका छन् तर सबै नकारात्मक छन् ।’ आन्दोलनमा सहभागी बालबालिकालाई विद्यालयमा आफ्नो दिमाग पढाइमा केन्द्रित गर्न एकदमै अप्ठ्यारो हुने र आन्दोलनको असर दिमागबाट हटाउन धेरै समय लाग्ने उनी बताउं छिन् ।

प्रतिक्रिया