सौर्यकर्मी बजगाईं र गौतममाथि दुर्व्यवहार

काठमाडौं, २९ वैशाख । सौर्य दैनिकका वरिष्ठ उपसम्पादक रामशरण बजगाईं र उपसम्पादक भीम गौतममाथि भक्तपुरको नलिञ्चोकमा बन्द समर्थकले दुर्व्यवहार गरेका छन् ।
बन्द उलंघन गरेको आरोप लगाउदै बन्द समर्थकले नलिञ्चोकमा बजगाईं र गौतममाथि दुर्व्यवहार गरेका हुन् । मोटरसाइकल मार्फत बागवजारस्थित कार्यालय आउदै गरेका उनीहरुको परिचयपत्र खोसेर फ्याकिदिएका थिए ।
प्रेस अंकित मोटरसाइकल रोकी परिचयपत्र देखाउदा पनि बन्दकर्ताले परिचयपत्र खोसेर गौतम र बजगाईंको कठालोमा समाती कुटपिटको प्रयास समेत गरेका थिए ।
मोटरसाइकलमा लात्तिले हानेर बन्दकर्ताले पत्रकारद्वयलाई कार्यालय जानवाट रोक्ने प्रयास गरेका छन् ।
‘पत्रकार परिचयपत्र देखाएर हुँदैन यस्ता कार्ड त सबैले बनाउन सक्छन्’ बन्दकर्ता अगुवा एक कार्यकर्ताले भने, ‘पत्रकार भए देश भरी के भइरहेको छ यहाँ बसेर भन् ।’ बन्दकर्ताले नक्कली पत्रकार भनेपछि बन्दकर्ताको समूहनै आक्रमणप्रयासमा उत्रेको थियो ।
प्रहरीले आक्रमणकारीलाई छुटाएर सौर्य सहकर्मीलाई अर्कै मार्गमा पठाएका थिए ।
यसैवीच, सौर्य दैनिकले पनि सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीले विज्ञप्ती जारी गरेर वरिष्ठ उपसम्पादक बजगाईं र उपसम्पादक गौतममाथि बन्दकर्ताले गरेको दुर्व्यवहारको निन्दा गरेका छन् ।
‘परिचयपत्र खोसी बन्दकर्ताले गरेको दुर्व्यवहार स्वतन्त्र प्रेसमाथिको आक्रमण हो’ जारी विज्ञप्तीम उल्लेख छ, ‘जस्तो सुकै अवस्थामा पनि पत्रकारहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन र नागरिकको सूचित हुने हकको सम्मान गर्न हामी बन्दकर्तालाई आग्रह गर्दछौ ।’

प्रतिक्रिया