वित्त कम्पनीको निक्षेप वृद्धिदर नकारात्मक

काठमाडौं, २९ वैशाख । वित्त कम्पनीको निक्षेप संकलनमा ह्रास आएको छ । विगत वर्षमा वित्त कम्पनीमा आएको संस्थागत सुशासनको कमीका कारण निक्षेपकर्तामा अविश्वास पैदा भएपछि वित्त कम्पनीमा निक्षेप संकलनमा ह्रास आएको एक वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको पहिलो आठ महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकको निक्षेप संकलन १३ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने विकास बैंकको ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ तर वित्त कम्पनीको निक्षेप संकलनमा भने ह्रास आएको छ ।
तथ्यांकअनुसार चालु आवका फागुनसम्म वित्त कम्पनीको निक्षेपमा एक करोड ८६ लाख रुपियाँले कमी आएको छ । चालु आवको फागुन मसान्तसम्म ८१ अर्ब ५३ करोड रुपियाँ संकलन गरेको छ । गत आवको सोही अवधिसम्म वित्त कम्पनीले ८१ अर्ब ५५ करोड रुपियाँ संकलन गरेको थियो । वाणिज्य बैंकहरुमा तरलता फालाफाल भएको समयमा पनि वित्त कम्पनीमा भने निक्षेपको वृद्धिदर नकारात्मक अवस्थामा रहेको छ । विगतमा एक दुईवटा वित्त कम्पनीको खराब प्रदर्शनका कारण निक्षेपकर्तामा खराब सूचना बाहिर गएकाले वित्त कम्पनीको निक्षेप बढ्न नसकेको फाइनान्स कम्पनीका एक सञ्चालकले बताए ।
गत आर्थिक वर्ष सम्झना फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, पिपल्स फाइनान्स र नेपाल सेयर मार्केट््स एन्ड फाइनान्सलगायतका कम्पनीमा संस्थागत सुशासनमा कमी एवम् संकलित निक्षेपलाई जथाभाबी तबरले नक्कली ऋणी सिर्जना गरी आफँैले चलाउनेलगायतका बदनियतका कारण राष्ट्र बैंकले कारबाही गरेको थियो । त्यसमध्ये सम्झना फाइनान्स खारेजी प्रक्रियामा छ भने क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्सका अधिकारी र नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका कार्यकारी अध्यक्ष अहिले थुनामा छन् ।
विगतमा ‘ग’ वर्गका वित्तीय संस्थाले निक्षेपमा अत्यधिक ब्याज दिएर निक्षेपकर्ता आकर्षित गरेका थिए । वाणिज्य बैंक र विकास बैंकभन्दा २/३ प्रतिशत बढी पाइने लोभमा वित्त कम्पनीमा निक्षेप राखेका निक्षेपकर्ता आफ्नो पैसा नै डुब्ने आशंकामा बिस्तारै वाणिज्य बैंकतर्फ नै फर्किएको ती अधिकारीले बताए । नेपालको वित्तीय क्षेत्रमा संस्थागत निक्षेपकर्ताको अहम् भूमिका रहने गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोष, विभिन्न बिमा कम्पनी र बचत तथा ऋण सहकारी संस्था विशेषगरी वित्त कम्पनीका स्थायी निक्षेपकर्ता थिए । करिब आधा दर्जन वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले विभिन्न कारण देखाई कारबाही गरेपछि संस्थागत निक्षेपकर्ता पनि बिस्तारै वाणिज्य बैंक एवम् विकास बैंकतर्फ आकर्षित भएकाले वित्त कम्पनीमा निक्षेप संकलनमा कमी आएको राष्ट्र बैंकका एक अधिकारीले बताए । राष्ट्र बैंक अधिकारीका अनुसार वित्त कम्पनीको ५० प्रतिशतभन्दा बढी निक्षेप संस्थागत निक्षेपकर्तामा निर्भर रहने गरेको छ ।
नेपाली सेनाको कल्याणकारी कोषले आफ्नो लगानी नीतिमै बिस्तारै भाका नाघिसकेको निक्षेप ‘ख’ र ‘ग’ वर्गको वित्तीय संस्थाबाट झिकेर ‘क’ वर्गको वाणिज्य बैंकमा मात्र राख्ने नीति लिइसकेको छ । राष्ट्र बैंकले आफैँले पनि ‘ग’ वर्गका वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने गरेको छैन । वित्तीय संस्थाका सञ्चालकहरुले गरेको बदमासी एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेपछि साधारण निक्षेपकर्ता पनि क वर्गको वाणिज्य बैंकतिरै आकर्षित भएको ती अधिकारीले बताए ।
वाणिज्य बैंकहरुमा निक्षेप फालाफाल भए पनि वित्त कम्पनीका निक्षेपमा समस्या हुन थालेपछि बिस्तारै वित्त कम्पनीहरु मर्जरतिर अगाडि बढेका छन् । हालै शिखर फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा गाभिएको छ भने युनिभर्सल फाइनान्स र वागेश्वरी विकास बैंक पनि मर्ज भएका छन् । त्यसैगरी अन्य आधा दर्जन कम्पनी मर्जको तयारीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया