बीउ उत्पादनमा किसान निर्भर

काभ्रे, २९ वैशाख । काभ्रे मेथिन्कोटका किसान बी उत्पादनमा आत्मनिर्भर हुन थालेका छन् ।

उत्पादित बीउ खेर जान नदिन सहकारीमार्फत व्यापारीसँग सम्झौता गर्ने गरिएको जोरसल्ला तरकारी बीउ उत्पादक सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर विशुंखेले बताए । यो वर्षको वर्षे सिजनमा सो क्षेत्रका किसानले काँक्रो, करेला, लौका, सिमी, बोडी, गोलभेंडालगायतका बालीको बीउ उत्पादन गर्ने सम्झौता गरेको पनि विशुंखे बताउँछन् । हिउँदयामका लागि रायो, केराउ, चम्सुर, बकुल्लालगायतका बालीको सम्झौता गरी बीउ उत्पादन गरिएको छ । तरकारीको बीउ उत्पादन गर्न मेथिन्कोट गाविसको अलावा कानपुर गाविसका ३,४,८ र ९ नम्बर वडाका स्थानीयले समेत सहभागिता जनाएको वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड) ले जनाएको छ ।
ताजा तरकारी बिक्री गर्न समस्या भएका क्षेत्रमा बीउ उत्पादन गर्दा कृषक थप लाभान्वित हुने सिप्रेडका बजार व्यवस्थापक केशव पाण्डे बताउँछन् । अकबरे खोर्सानीको बीउको माग कम भए पनि प्रतिकेजी पाँच सय रुपियाँ लागतमा उत्पादन हुने भए पनि व्यापारीसँग कृषकले प्रतिकेजी चार हजार दुई सयको सम्झौता गरेका छन् ।
बीउ उत्पादनका लागि कृषकले १५ वटा तरकारी बीउ उत्पादक समूह गठन गरी सहकारी स्थापना गरेका छन् । सहकारी स्थापनापछि रकम संकलन गरी विनाधितो ३० हजार ऋण तरकारी खेतीका लागि लिने गरेका छन् । सिप्रेडले काभ्रेको मेथिन्कोट, कानपुर, सस्र्युंखर्कमा दुई र सिपालीमा एक/एक सहकारी गठन गरी बीउ उत्पादन तथा संकलन गर्दै आएको छ ।
गत वर्ष सिप्रेडले काभ्रेका कृषकमार्फत उत्पादन भएको ५५ मेट्रिक टन बीउबाट एक करोड २३ लाख बराबरको कारोबार गरेको थियो । पछिल्लो समय छिमेकी देश भारतले प्रशिक्षणका लागि नेपालमा तरकारीका बीउ पठाउने गरेकाले नेपालमा उत्पादन भएका धेरै बीउले बजार पाउन नसकेको सिप्रेडका बजार व्यवस्थापक पाण्डे बताउँछन् । कृषकलाई बीउ तथा ताजा तरकारी उत्पादनमा सहयोग गर्न गाउँ गाउँमा प्राविधिक खटाइएको उनले बताए ।

प्रतिक्रिया