मिसबाहले टी–ट्वान्टी कप्तानी छाडे

इस्लामाबाद, २९ वैशाख । मिसबाह–उल–हकले पाकिस्तानको टी–ट्वान्टी क्रिकेट टोलीको कप्तान पद छाडेका छन् । उनको ठाउँमा मोहम्मद हााफिज नयाँ टी–ट्वान्टी कप्तान हुने पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) अध्यक्ष जाका अशरफले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
टी–ट्वान्टीमा नगरे पनि एकदिवसीय र टेस्टमा यथावत् कप्तान रहिरहने मिसबाहले आठवटा टी–ट्वान्टी म्याचमा पाकिस्तानको नेतृत्व गरेका थिए । त्यसमध्ये पछिल्लो तीन म्याचको शृंखला युनाइटेड अरब इमिरेट्समा इङल्यान्डविरुद्ध भएको थियो र त्यसमा पाकिस्तान १–२ ले पराजित भएको थियो । उनलाई आगामी जुनमा श्रीलंकाविरुद्ध खेलिने टी–ट्वान्टी म्याचहरूको शृंखलामा समावेश गरिएको छैन । उक्त शृंखलाका लागि फास्टबलर मोहम्मद सामीलाई चयन गरिएको छ । पछिल्लोपटक सन् २०१० मा राष्ट्रिय टोलीका लागि खेलेका सामीले श्रीलंकामा एकदिवसीय र टेस्ट म्याच शृंखला पनि खेल्नेछन् ।
पाकिस्तानको तीन फरकफरक टोलीमा यसपटक अनेक नयाँ अनुहार समावेश गरिएका छन् । शकील अन्सर, हरिश सोहेल र रजा हसनलाई टी–ट्वान्टी स्क्वाडमा स्थान दिइएको छ भने राहत अलि एकदिवसीयमा र अफाक रहीम र मोहम्मद आयुबलाई टेस्ट टोलीमा समावेश गरिएको छ ।
वहाब रियाज एकदिवसीय टोलीमा नपरेको एउटा ठूलो नाम हो भने शोएब मलिक, अहमद शहजाद, यासेर अराफात र खालिद लतिफले फेरि एकपटक टोलीमा प्रवेश पाएका छन् । पछिल्लोपटक सन् २०१० मा आफ्नो २६औं टेस्ट खेलेको ब्याट्सम्यान फैजल इकबाललाई फेरि टेस्ट खेल्नका लागि बोलाइएको छ । पाकिस्तानले १ जुनदेखि १२ जुलाईसम्मको श्रीलंका भ्रमणको क्रममा दुईवटा टी–ट्वान्टी, पाँचवटा एकदिवसीय र तीनवटा टेस्टको शृंखला खेल्नेछ ।

प्रतिक्रिया