रुसलाई बलियो बनाउने प्रतिबद्धता

मस्को, २९ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको शक्तिलाई विश्वस्तरको बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दोस्रो विश्वयुद्धमा जर्मनीमाथि रुसले विजय हासिल गरेको स्मरणमा राजधानी मस्कोस्थित ‘रेड स्क्वायर’ मा बुधबार आयोजित सैन्य परेडमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । परेडमा रुसी सेना, दोस्रो विश्वयुद्धका योद्धालगायत सहभागी थिए ।

प्रधानमन्त्री, प्रतिरक्षामन्त्री, सेना प्रमुखलगायत उच्च पदस्थ सरकारी अधिकारी उपस्थित कार्यक्रममा उनले भने, ‘विश्व सुरक्षा मजबुत पार्ने नीतिलाई रुसले अनवरत रूपमा पछ्याइरहेको छ । यस्तो नीतिमा अडिग रहने नैतिक अधिकार हामीसँग छ किनकि नाजीवादको अतिवाद हाम्रै देशले सहनुपरेको थियो ।’ रुसलाई बर्बाद गर्ने षड्यन्त्र भइरहेकातर्फ सचेत रहन उनले सम्पूर्ण देशवासीको ध्यानाकर्षण गराएका छन् । ‘आततायीहरूले सम्पूर्ण रुस ध्वस्त गर्ने षड्यन्त्र रचिरहेका छन् तर दुष्टताको पराजय अवश्यंभावी छ,’ देशभक्तिप्रति समर्पित भाषणमा उनले भने । यद्यपि, उनले रुसलाई नष्ट गर्न को लागिपरेको छ भन्ने खुलाएनन् । राष्ट्रपतिको निर्वाचनताका उनले रुसमा संकट निम्त्याउन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन सक्रिय रहेको आरोप लगाएका थिए । साथै, उनले पश्चिमी राष्ट्रको ‘पैसा खाएर’ रुसभित्र सञ्चालित एनजिओ, आइएनजिओले रुसमा समाजिक सद्भाव बिथोल्न खोजेको र रुसी समाजमा फाटो ल्याउन खोजेको आरोप लगाएका थिए ।
रुसप्रति अमेरिकी नीतिका कट्टर आलोचक पुटिनले अमेरिकासँग सम्बन्ध विकास गर्न आफू क्रियाशील रहने बताए । तर, समानताका आधारमा द्विपक्षीय सम्बन्ध अघि बढनुपर्ने उनले प्रस्ट पारे ।
राष्ट्रपतिका रूपमा पुटिनले तेस्रो कार्यकाल सम्हालेलगत्तै अमेरिकासँग रुसको सम्बन्ध तनावपूर्ण बन्ने छाँटकाँट देखिएको छ । अमेरिका र नेटोले युरोपमा क्षेप्यास्त्र प्रतिरोधात्मक ढाल निर्माण गर्ने अडान लिएपछि रुससँग उनीहरूको सम्बन्ध तनावपूर्ण बनेको छ । इरानी क्षेप्यास्त्रबाट युरोपलाई जोगाउन ढाल निर्माण गर्न लागिएको अमेरिका र नेटोले दाबी गर्दै आएका छन् । तर, आफ्नो क्षेप्यास्त्र तथा परमाणु शस्त्रागारलाई निष्प्रभावी बनाउने षड्यन्त्रका साथ ढाल निर्माण गर्न लागिएको आरोप रुसले लगाएको छ । ढालबाट रुसको सुरक्षामा खलल पुग्ने देखिए यसमाथि ‘अग्रिम आक्रमण’ गर्ने चेतावनी रुसले दिएको छ ।

प्रतिक्रिया