रंग‍-विविध

“आवाज नसुनी निदाउनै सकेनौँ”

सौर्य अनलाइन २०६९ वैशाख २९ गते २:०८ मा प्रकाशित


मेरो पहिलो डेटिङ मेलिनासँगै भएको हो, जो अहिले मेरी श्रीमती छन् । उनीभन्दा अघि मेरा कुनै गर्लफ्रेन्ड पनि थिएनन् । स्कुल जीवनमा चाहिँ मलाई मन पराएर पर्पोज गर्ने थुप्रै थिए । तर, मैले मेलिनाजस्ती राम्री केटी भेट्नै सकेको थिइनँ । जब भेटेँ, उनी मेरो जीवनै भइन् । हाम्रो प्रेम कुनै चलचित्रको कथाजस्ता मोडबाट गुज्रिएन । फूल दिएर पर्पोज गर्ने काम रियल लाइफमा हुँदो रहेनछ ।
उनीसँग पहिलो भेट २०६४ साल पुसमा भएको हो । म २८ वर्षको थिएँ, उनी ३१ वर्षकी । बंगाली फिल्म माया आचलका लागि सिलिगुढीमा रहँदा हामीबीच चिनजान भयो । त्यस क्रममा २० दिन सँगै भइयो । सुटिङस्थलसम्म जाँदा हामी गाडीमा सँगै हुन्थ्यौँ, रमाइलो कुराकानी चल्थ्यो । म नेपाली चलचित्र उद्योगमा छिरिसकेको थिइनँ । केही टेलिसिरियलमा मात्र अभिनय गरेको थिएँ ।
अपरिचितसँग सुरुमै बोलिनहाल्ने, बोल्न थालिसकेपछिचाहिँ एकदमै क्लोज भएर जिस्किने मेरो स्वभाव छ । उनीसँग पनि त्यस्तै भयो । सुरुदेखि नै हामीबीच कुराकानी मिल्न थालिसकेको थियो । कतिखेर माया बसेछ, दुवैलाई पत्तो भएन । उनले सबैभन्दा पहिले मायालु आवाजमा मलाई भनेको शब्द ‘हिरोजी’ हो । पछिसम्म पनि यसै भनेर बोलाउँथिन् । मोबाइलमा पनि मेरो नम्बर त्यही नाममा सेभ गरेकी रहिछन् । उनीसँग हाँसे–जिस्किए पनि वैवाहिक सम्बन्धसम्मै आइपुगिएला भन्नेचाहिँ मलाई लागेकै थिएन । सुरुमा मेलिनासँग फिल्म खेल्दै छु भन्ने थाहा पाउँदा छक्कै परेको थिएँ । म नयाँ थिएँ, उनी स्थापित कलाकार । सँगै सट दिनुपर्दा निकै अप्ठ्यारो महसुस भइरहेको थियो ।
काठमाडौं फर्किएपछि पनि हामीबीच फोनमा कुराकानी हुन्थ्यो । फोनमा मात्रै कुराकानी गर्दा चित्तै नबुझेजस्तो लाग्यो । आफैँले भेट्न रिक्वेस्ट गरेँ । एकजना दाइको घरमा दुवैजना पुग्यौँ । दुई–चारचोटिको भेटपछि पनि मनले मान्दै मानेन । आफैँले सुरुमा पर्पाेज गर्ने विचार गरेँ तर सकिनँ । अनि तिनै दाइको सहयोगमा विवाहका लागि पर्पोज गरेँ, उनले स्विकारी पनि हालिन् ।
हामी डेटिङका लागि भनेर पार्कतिरचाहिँ कहिल्यै धाएनौँ । किनकि सम्बन्ध जतिसुकै चोखो भए पनि समाजले कुरा काट्न थालिहाल्छ, गलत अर्थ लगाउँछ । त्यसैले हामी एकअर्काका घरमै जान्थ्यौँ, परिवारकै बीच रहन्थ्यौँ, त्यही नै हाम्रो डेटिङ हुन्थ्यो । हामीबीच विवाह कहिले गर्ने भनेर सरसल्लाह चल्थ्यो । विवाह गरेर सँगै बस्ने, सुन्दर सपनाहरू सजाउने योजनाहरू बुन्थ्यौँ । तर, म जापान जानुपर्ने भएकाले २०६४ सालमै विवाह गर्न पाइएन । फर्किएपछि २०६५ साल असोज १४ गते हामीले हाम्रो मायालाई विवाहको सूत्रमा बाँध्यौँ । अहिले हाम्रो मायाकी प्रतीक एउटी छोरी छन्, २०६७ कात्तिक २८ गते जन्मिएकी ।
अहिले पनि एकअर्काप्रति मनमा माया उत्तिकै छ । तर, बिहे गरी व्यवहारमा फसिसकेपछि माया प्रस्तुत गर्ने तरिका पहिलेजस्तो हुँदो रहेनछ । हामीबीच आपसी माया त छँदै छ, तर अहिले आएर दुवैलाई बच्चाको माया बढी लाग्ने रहेछ । मैले यस्तो अनुभूति गरेको छु ।
मेरो पहिलो प्रेमका ती प्रारम्भिक दिनहरू सम्झँदा अहिले पनि आनन्द लाग्छ । जति बेला हामी एकअर्काको बोली नसुनी निदाउनै सक्दैनथ्यौँ । राति ११–१२ बजेतिर भए पनि कुराकानी गर्नैपथ्र्यो । हाम्रो सेक्स सम्बन्ध भने बिहेपछाडि नै भएको हो । हुन त हामी त्यसअघि पनि त्यस्तो अवस्थासम्म नपुगेका होइनौँ । लामो समय सँगै बसेपछि सेक्सका बारेमा सोच गइहाल्दो रहेछ । तर, हामी सम्हालिन्थ्यौँ । त्यस्तो सम्बन्ध बिहेअगाडि हुन दिएनौँ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय