बन्दको चौतर्फी प्रभाव

काठमाडौं, २९ वैशाख । विभिन्न जातीय संगठनले गरेको नेपाल बन्दका कारण बिहीबार देशभरको जनजीवन प्रभावित बनेको छ ।

ब्राह्मण, क्षत्री, ठकुरीलगायत जातीय संगठनले गरेको बन्दका कारण चितवनमा कक्षा १२ को परीक्षार्थीसमेत समस्यामा परे ।
बिहानैदेखि जातीय संगठनका कार्यकर्ता सडकमा निस्किएका थिए । बन्दकर्ताले मोटरसाइकलसमेत चल्न दिएनन् । विद्यालयको पढाइ सञ्चालन हुन सकेन भने पसल, बजार पनि बन्द रहे । नारायणगढको पुलचोक, सहिदचोक, हाकिमचोक, टाँडी, पर्सालगायत स्थानमा बन्दकर्ताको बाक्लो उपस्थिति थियो । जातीय राज्य हुन नहुने तथा बाहुन, क्षत्री, ठकुरी, दशनामीलगायत जातिलाई अन्य जातिबाट हटाएर आदिवासीमा सूचीकृत गर्नुपर्ने माग राखेर संयुक्त संघर्ष समितिले बन्द आह्वान गरेको थियो ।
यस्तै, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले गरेको बन्दका कारण बिहीबार रौतहट जिल्लाको जनजीवन प्रभावित बन्यो । बन्दका कारण रौतहटको सदरमुकाम गौरबाट लामो तथा छोटो दूरीमा चल्ने यातायात चलेनन् । बन्दकर्ताले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा एउटा बसमा तोडफोड गरेका छन् । उनीहरूले मधेसी जनअधिकार फोरमको वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुन गौरबाट आएका फोरम कार्यकर्ता बोकेको ना २ ख ८६१५ नम्बरको बसमा तोडफोड गरेका हुन् ।
मुस्लिम गठबन्धनको रौतहट संयोजक मौलाना जिकुरुल्लाहको नेतृत्वमा सडकमा उत्रिएका बन्दकर्ताले मुस्लिम समुदायका व्यक्तिले नयाँ संविधानमा पहिचानसहितको अधिकार माग गरेका थिए ।
यस्तै, ब्राह्मण र क्षत्री समाजले चन्द्रनिगाहपुरमा छ सय एक सभासद्को श्राद्ध गरेका छन् । उनीहरूले ब्राह्मण र क्षत्रीलाई समेत आदिवासी जनजातिको सूचीमा राख्न माग गरेका थिए ।
यस्तै, नवलपरासीमा पनि बन्दको प्रभाव परेको थियो । यातायात, उद्योग, कलकारखाना, संघसंस्था पूर्णबन्द रहेका थिए भने बन्दकर्ताले कावासोतीमा पूजापाठ र भजनकीर्तन गरेका थिए । प्रदर्शनकारीले पर्यटकलाई समेत नछाडेपछि पर्यटकहरू दिनभर प्रदर्शनकारीसँगै नाचगानमा सरिक भएर बन्द कटाउने प्रयासमा लागे ।
जातीय राज्यको विरोधमा गरिएको बन्दका कारण रूपन्देहीको जनजीवन पनि बिहीबार कष्टकर भएको थियो । बन्दकर्ता बिहानैदेखि विभिन्न सडकखण्ड, राजमार्गमा भेला भएका थिए ।
बन्दकर्ताले रूपन्देहीको आनन्दवनस्थित मणिग्राममा नागरिक र कान्तिपुर दैनिक पत्रिकाका केही प्रति पनि जलाएका छन् । बन्दको समाचार नलेखेको भन्दै पत्रिका जलाइएको आन्दोलनकारीले बताए । यसैबीच, पत्रिका जलाएको प्रति नेपाल पत्रकार महासंघ र प्रकाशन समाज रूपन्देहीले आपत्ति जनाएका छन् ।
यता, नेपालगन्जमा एकैदिन तीनवटा संगठनको बन्द परेपछि जनजीवन अत्यन्त कष्टकर बनेको थियो । बाँके र बर्दियामा बन्दको प्रभाव परेको थियो । राज्य पुन:संरचनामा अखण्ड मध्यपश्चिम कायम गर्नुपर्ने माग गर्दै अखण्ड मध्यपश्चिम संघर्ष समितिले बिहीबार र शुक्रबार दुई दिन मध्यपश्चिम बन्द आह्वान गरेको हो । अखण्ड मध्यपश्चिम संघर्ष समितिको प्रभाव कम भए पनि मुस्लिम र ब्राह्मण क्षत्रीको बन्दको प्रभाव नेपालगन्जमा बढी देखिएको थियो ।
संघीयतामा जाँदा आफ्नो पहिचान गुम्न नहुने भन्दै गरिएको बन्दमा साइकल, रिक्सा, टाँगासमेत चल्न दिइएको थिएन । बन्दका कारण भारतबाट मजदुरी गरी घर फर्किएका मानिस बाटोमै अलपत्र परेका थिए ।
दाङ, देउखुरी, बाँके र बर्दियालाई मध्यपश्चिमबाट विभाजन गर्न खोजिएको भन्दै अखण्ड मध्यपश्चिम आन्दोलनसहितका कार्यक्रम घोषणा भएको थियो । तराई क्षेत्रमात्र मिलाएर संघीय राज्य बनाउँदा दाङ, बाँके र बर्दियामा सिँचाइ र विद्युत् आपूर्ति गर्न सुर्खेतको चेपाङ क्षेत्रको विद्युत् गृह र सिँचाइ सुविधा गुम्ने, बर्दिया जिल्लामा रहेको नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जसमेत बर्दियाबासीबाट गुम्न जाने र निर्माणाधीन संरचना ध्वस्त हुने भएकाले अखण्ड मध्यपश्चिमको मागमा आन्दोलन थालिएको आयोजकले बताएका छन् । बन्दको प्रभाव सबैजसो स्थानमा परेको स्थानीय संवाददाताहरूले जनाएका छन् ।
चार बस तोडफोड
कैलाली : चौध दिनदेखि अखण्ड सुदूरपश्चिम माग राखेर उत्रिएका बन्दकर्ताले बन्द अवज्ञा गरेको भन्दै बिहीबार कैलालीको अत्तरियामा महाकाली यातायातका चारवटा यात्रुबाहक बस तोडफोड गरेका छन् । आन्दोलनकारीले प्रहरीको स्कर्टिङमै ना ४ ख ६०७३, ना ४ ख १८५१, ना ४ ख १८७६ र लु १ ख ६५४३ नम्बरको बस तोडफोड गरेका हुन् । काठमाडौंबाट महेन्द्रनगर आइरहेका बस बन्दका कारण बीचबाटोमै अलपत्र अवस्थामा परेपछि प्रहरी स्कर्टिङ गरेर ल्याइएको थियो ।
झडप
पोखरा : बन्दका क्रममा पोखरामा भएको झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । जातीय सद्भाव कायम हुनुपर्ने माग राख्दै आह्वान गरिएको बन्दका क्रममा झडप भएपछि पोखरा–१७, छोरेपाटनका ४७ वर्षीय नरेन्द्र कार्की र बिरौटाका राजेन्द्र पाठक घाइते भएका छन् । प्रहरीले घटनामा संलग्नमध्ये आठलाई नियन्त्रणमा लिएको छ ।
पोखराको सभागृहचोकमा घटना नियन्त्रण गर्ने क्रममा अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी शैलेष थापा क्षत्रीले जानकारी दिए ।
बन्दका क्रममा पोखरामा केही सञ्चारकर्मीमाथि पनि दुव्र्यवहार भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका सचिव तथा पोखरा हटलाइन दैनिकका कार्यकारी सम्पादक त्रिभुवन पौडेल, ज्योतिष भविष्यवाणी साप्ताहिकका हरि पन्त, बिग एफएमका प्राविधिक अर्पण तिवारीमाथि दुव्र्यवहार भएको हो । पत्रकारमाथि भएको दुव्र्यवहारको महासंघ कास्कीलगायत विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।
बालबालिकाको प्रयोग
चितवन : विभिन्न जातीय संगठनले गरेको नेपाल बन्दका क्रममा चितवनमा बन्द गराउनका लागि बालबालिकाको प्रयोग भएको छ ।
सडकमा चलेका मोटरसाइकल, रिक्सा र साइकल बालबालिकाले रोकेका थिए । अधिकांश बालकको हातमा लठ्ठी थियो । भरतपुरको चौबीसकोठी, नारायणगढको पुलचोक र हाकिमचोकमा बालक बसेर बन्द गराएका थिए । जातीय संगठनले विद्यालय बन्द गराएपछि बालक बन्दमा आएका थिए ।
आन्दोलनकारीले बालकलाई सडकमा गुडेका साइकलसमेत चलाएको देखेमा हावा फुस्काइदिन अह्राएर आफूहरू भजन गाएर मूलसडकमा बसेका थिए ।
संघर्ष समितिका सदस्य चन्द्रकान्त भट्टराईले बालबालिकालाई बन्दमा प्रयोग नगरेको दाबी गरे  । उनले समितिको बालबालिका प्रयोग गर्ने नीति नरहेको बताउँदै बालबालिका आफैँ आएका बताए । संयुक्त जातीय संघर्ष समिति बनाएर ब्राह्मणदेखि दशनामीसम्मका जातीय संघसंगठनका व्यक्तिले देशव्यापी बन्दको आयोजना गरेका हुन् ।

प्रतिक्रिया