इन्स्पेक्टरसहित १२ घाइते

नवलपरासी, २८ वैशाख । नवलपरासी कावासोतीमा थरुहट स्वायत्त संघर्ष समितिका कार्यकर्तामाथि गोली प्रहार भएको छ । लठ्ठीसहित आएका प्रदर्शनकारीले ढुंगामुढा गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीको आक्रमणमा परेर दुई इन्स्पेक्टरसहित आठ प्रहरी घाइते भएका छन् । घाइतेमध्ये इन्स्पेक्टर डिल्लीराम पाण्डे र असई कृष्णप्रसाद खनालको अवस्था गम्भीर छ ।

घाइते दुवैलाई भरतपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । घाइते इन्स्पेक्टर उमेश लम्साल, सई देवराज शर्मा, नागेन्द्र चौधरी, हवल्दार कृष्णा वस्ताकोटी, जवान डिगबहादुर थापा, छकबहादुर कार्की, सशस्त्र प्रहरी जवान अनिल गुप्ताको स्थानीय कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा सात प्रदर्शनकारी पनि घाइते भएका छन् । घाइतेमध्ये कुमावर्तीका धनबहादुर थनेत, महेन्द्र आले, अग्यौलीका ताराबहादुर थनेत र विशाल चौधरीको अवस्था गम्भीर छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कालिगण्डकी अस्पतालका डा. सतिशचन्द्र सिंहका अनुसार घाइतेलाई गोली लागेको छ । गाउँबाट लठ्ठीसहित कावासोती आउँदै गरेको प्रदर्शनकारीले ढुंगामुढा बर्साएपछि अनियन्त्रित भिड हटाउन प्रहरीले एक दर्जन गोली र २३ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
नवलपरासी सिडिओ शशिकिरण श्रेष्ठले गोली प्रहार नगरेको तर अनियन्त्रित भिडलाई हटाउन हवाई फायरिङ गर्दा उछिट्टिएर प्रदर्शनकारीलाई लागेको बताए । सिडिओ श्रेष्ठको नेतृत्वमा प्रहरी प्रशासन, बन्दकर्ता र ब्राह्मण–क्षत्री समाजका पदाधिकारीबीच वार्ता भइरहेका बेलामा अनिन्त्रित प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको हो ।
घाइतेलाई उपचार गर्ने, तोडफोड भएका सवारीसाधन र थारू संग्रहालयलाई क्षतिपूर्ति दिने, दोषीलाई कारबाही गर्ने, जातीय सद्भाव खल्बलिन नदिने सहमति भएपश्चात् बन्द फिर्ता लिएको थारू स्वायत्त संघर्ष समितिका सदस्य नरेश चौधरीले जानकारी दिए । थारू कल्याण कारिणी सभाका महामन्त्री मझिलाल थनेतले जातीय सद्भाव खल्बलिने अवस्था आउन दिन नहुने बताए ।
मंगलबार बन्दकर्ता र ब्राह्मण, क्षत्री, दलित, दशनामी समाजका कार्यकर्ता बुटवलमा भएको आमसभामा जाँदै गर्दा डन्डामा झडप भएको थियो । झडपका क्रममा थारू संग्रहालय तोडफोड, मोटरसाइकलमा आगजनी भएपछि विरोधमा थारूले बुधबार नवलपरासी बन्द गराएका थिए  ।

प्रतिक्रिया