‘थरुहट राज्य चाहिन्छ’

महेन्द्रनगर, २७ वैशाख । कञ्चनपुरदेखि दाङसम्मको क्षेत्रलाई थारूवान वा थरुहट राज्य बनाइनुपर्ने माग राख्दै संयुक्त थारू संघर्ष समितिले प्रदर्शन गरेको छ । बुधबार पश्चिम तराई ठप्प पार्ने पूर्वघोषित कार्यक्रमलाई परिवर्तन गरेर समितिले महेन्द्रनगरमा शान्तिपूर्ण जनप्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी हुन विभिन्न क्षेत्रबाट ट्रयाक्टर, ट्रली र मोटरसाइकलमा आएका जनजाति तथा थारू समुदायको उल्लेख्य सहभागिता थियो । ‘थारूवान राज्य र संघीयताका पक्षमा नाराबाजी गर्दै भाँसी ब्यारियलबाट सुरु भएको र्‍याली महेन्द्रनगर बजार परिक्रमा गरेर पुरानो महेन्द्र स्मारकमा पुगेको थियो । परिक्रमापछि भएको सभामा बोल्दै नेताहरूले थारूवान वा थरुहट माग कुनै पनि हालतमा नछाड्ने घोषणासहित अखण्ड सुदूरपश्चिमको माग संघीयताविरोधी भएको आरोप लगाए ।
‘वर्षांैदेखि शोषित हुँदै आएका छौँ,’ थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारूले भने, ‘अधिकारप्राप्तिका लागि हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ ।’ उनले जातीय आधारमा राज्यको माग गरेर साम्प्रदायिक खलल पुर्‍याउन नखोजेको स्पष्ट पारे ।
‘जनयुद्धमा सुदूरपश्चिमका तीन हजार थारू समुदायको रगत बगेको छ । यसको मूल्यांकन हुने कि नहुने ?’ उनले भने, ‘जनयुद्धमा थारूवान स्वायत्त प्रदेशको एजेन्डा बोकेको जमिनदार लेखराज भट्टजस्ता नेताले अहिले अखण्ड सुदूरपश्चिमको वाहियात नारा लगाएर ठूलो नेता बन्ने प्रयत्न गरेका छन् ।’
बडघर भलमन्सा महासंघका अध्यक्ष डिल्ली चौधरीले थारुवान प्रदेश हुँदैमा अन्य समुदाय बिस्थापित नहुने बताए । सभामा प्राय सबै दलका नेतालाई बोलाइए पनि एमाओवादीका कञ्चनपुर इन्चार्ज डिडी पाण्डेय र मातृका यादव समूह माओवादीका नेता मात्रै सहभागी थिए ।
इन्चार्ज डिडी पाण्डेयले थारुवान स्वायत्त प्रदेश एमाओवादीको एजेन्डा भएकाले  यो एजेन्डालाई कुनै हालतमा नछोड्ने बताए । पाण्डेय एमाओवादी गुट भित्र मोहन वैद्य पक्षधर हुन् ।
सुरक्षा व्यवस्था कडा
आआफ्ना माग राख्दै आन्दोलनमा उत्रेका आन्दोलनकारीलाई वार्तामा आउन आव्हान गरिसकेका अवस्थामा आन्दोलन निरन्तरता भएपछि प्रशासनले सम्भावित स्थितिलाई मध्यनजर गर्दै सुरक्षा सर्तकता अपनाएको छ ।
प्रहरीले बुधवार बिहानैदेखि महेन्द्रनगरको बजारको भानुचोक र मदनचोकमा सवारी साधनमा समेत जाँच कडा पारेको थियो । बिहानैदेखि राजमार्ग र बजार क्षेत्रमा प्रहरी परिचालन भएका छन् । ‘साम्प्रदायिक सद्भावमा खलल नपुगोस् भनेर सुरक्षा जाँच कडा पारेका हौँ,’ सिडिओ वासुदेव दाहालले भने ।
राजमार्ग ठप्प
अखण्ड सुदूरपश्चिमको माग गर्दै जारी आन्दोलनको १२ औँ दिन महेन्द्रनगर बजार खुले पनि यातायात ठप्प रह्यो । राजमार्गमा रहेका झलारी, गुलरियामा राजमार्ग केन्द्रित आन्दोलन र कैलालीका आन्दोलनकारीले बन्द यथावत राखेका कारण यात्रु अलपत्र परेका थिए । ‘सरकारले गठन गरेको वार्ता टोलीलाई स्वागत गर्छौ,’ गुलरियामा अखण्ड सुदूरपश्चिम आन्दोलनको अगुवाई गरेका सुरेश धिक्तले भने,‘ तर माग पूरा नहुञ्जेल सडक छाडदैनौँ ।’
पाँच सदस्यीय वार्ताटोली
कञ्चनपुरका दलले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेका छन् । सरकारीस्तरमा टोली गठन भएलगत्तै स्थानीय प्रशासनले मंगलबार सर्वदलीय र सर्वपक्षीय बैठक गरेर टोलीको नामावली दिन आग्रह गरेको थियो ।
नेकपा एमाले पार्टी कार्यालयमा बुधबार बसेको दलहरूको बैठकले नेपाली कांग्रेसका सभापति बहादुर थापा, नेकपा एमालेका उपाध्यक्ष लालबहादुर खडका, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका सदस्य पूर्णबहादुर चन्द, नेकपा मालेकी सचिव कलशा महरा र संयुक्तका केन्द्रीय सदस्य जयदेव जोशीलाई वार्ता टोलीमा चयन गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले सुदूरपश्चिममा जारी आन्दोलनलाई सम्बोधन गर्न उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा वार्ता टोली गठन गरेपछि आन्दोलनरत दलले पनि वार्ता टोली गठन गरेका हुन् ।
अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन गर्दै आएको अर्को समूह सुदूरपश्चिम जागरण मञ्च, झलारी र कृष्णपुरका आन्दोलनरत पक्षलाई टोलीमा सहभागी गराईएको छैन । त्यस्तै थारुवान राज्यको माग गर्दै आएको आदिवासी जनजाति तथा थारु समुदाय पनि टोलीमा छैनन् ।

जनकपुरमा बन्द स्थगित

काठमाडौं, २७ वैशाख । सर्वसाधारणको दबाबपछि जनकपुर बन्द स्थगित भएको छ । मिथिला राज्य संघर्ष समितिले गरेको जनकपुर बन्द ३० वैशाखसम्मका लागि स्थगित गरिएको मंगलबार विज्ञप्ति जारी गरेर जानकारी दिइएको छ । समितिले आन्दोलनको स्वरूप परिवर्तन गरेको र आन्दोलन निरन्तर हुने जनाएको छ ।
जनकपुर उद्योग वाणिज्य संघ, नागरिक समाज, मानव अधिकारकर्मीको आग्रहमा बन्द फिर्ता लिइएको समितिले जनाएको छ । समितिले नौ दिनदेखि मिथिला राज्यको मागमा अनिश्चितकालीन बन्द गरेपछि जनजीवन प्रभावित भएको थियो भने मंगलबार सर्वसाधारणले प्रतिकारसमेत सुरु गरेका थिए ।
यातायात बन्द गराउँदै हिँडेका समितिका आन्दोलनकारीलाई जनकपुरस्थित बसपार्कमा सर्वसाधारणले मंगलबार कुटपिट गरेका थिए । आन्दोलनकारीले ना २ ख ४०४० नम्बरको बसमा तोडफोड गरेपछि आक्रोशित स्थानीयले कुटपिट गरेर उनीहरूलाई लेखेटेका थिए ।
यस्तै, जनकपुर बजार खुलाउन माग गर्दै व्यापारीले जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा मंगलबार तालाबन्दी गरेका थिए ।
यता, अरूको बन्द हडतालमा प्रतिकार र विरोध गर्ने हिन्दू युवा संघ नेपालले मंगलबार वीरगन्ज बन्द गराएको छ ।
नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने माग गर्दै बन्द गरिएको हो । बन्दबाट वीरगन्जको जनजीवन प्रभावित भएको थियो । जनसंख्याको ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएकाले हिन्दू राष्ट्र घोषणा गर्न वा जनमत संग्रहका माध्यमबाट निर्णय लिन माग गर्दै बन्द गरिएको अध्यक्ष राजेश सिंहले बताए ।
यस्तै, थरुहट/थारूवान प्रदेशको माग गर्दै संयुक्त थारू संघर्ष समितिले गरेको बन्दका कारण चितवनको जनजीवन पनि प्रभावित भएको छ । गन्तव्यमा हिँडेका यात्रु चितवनको आँपटारीमा रोकिएका थिए ।
जातीय राज्यका विरुद्ध प्रदर्शन
जातीय राज्यका विरुद्ध बुटवलमा मंगलबार प्रदर्शन र सभा भएको छ । ब्राह्मण, क्षत्री दशनामीलगायत विभिन्न जातीय संगठनले बुटवलमा सभा गरेका हुन् । सभामा लुम्बिनीका पाँच जिल्लाबाट सर्वसाधारण सहभागी भएका थिए । संयुक्त संघर्ष समितिले गरेको सभाका वक्ताले जातीय आधारमा राज्यको पुन:संरचना गरिए विखण्डन आउने बताएका थिए । सभाअघि बुटवलमा र्‍याली निकालिएको थियो ।

 

प्रतिक्रिया