पाकिस्तानले सक्दो प्रयास नगरेको गुनासो

कोलकाता, २६ वैशाख । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले आतंकवादविरुद्धको युद्धमा भारत र अमेरिकाको तुलनामा पाकिस्तानले कम योगदान पुर्‍याएको बताएकी छन् । तीनदिने भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय सहर कोलकातामा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
ओसामा बिन लादेनको मृत्युपछि चरमपन्थी संगठन अलकायदाको सर्वोच्च नेता बनेका अयमन अज ज्वाहिरीले पाकिस्तानमै आश्रय लिएको आशंका उनले व्यक्त गरिन् । एक वर्षअघि अमेरिकी सैनिकको कारबाहीमा परी पाकिस्तानी सहर एबोट्टावादमा लादेनको मृत्यु भएको थियो । ‘ज्वाहिरी पाकिस्तानभित्र छन् भन्ने हामीलाई लागेको छ, उनलाई हामी खोज्न चाहन्छौँ । आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले भारत अथवा अमेरिकाका भन्दा बढी मानिस गुमाएको छ । आतंकवादी हमलामा परी ३० हजारभन्दा बढी पाकिस्तानीको मृत्यु भएको छ । त्यसैले आतंकवादको सामना गर्नु पाकिस्तानको हितमा छ,’ उनले बताइन् ।
‘तेल आयात घटाऊ’
विदेशमन्त्री क्लिन्टनले इरानबाट आयात गर्ने तेलको मात्रा घटाउन भारतसँग आग्रह गरेकी छन् । ‘इरानको परमाणु हतियार कार्यक्रमबाट इजरायलमाथि खतरा उत्पन्न भएको छ । हामी इरानमाथि दबाब बढाएर परमाणु हतियार बनाउने ध्येयबाट इरानलाई विमुख गराउन चाहन्छौँ,’ उनले बताइन् । इरानले परमाणुसम्बन्धी अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको जिकिर गर्दै उनले इरानले अझै परमाणु अप्रसार सन्धिमा हस्ताक्षर नगरेको उल्लेख गरिन् । स्मरण रहोस्, भारतले पनि परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको छैन ।
उनले इरानमाथि दबाब सिर्जना गराउन भारत, चीन, युरोपेली संघ, जापानलगायत राष्ट्रलाई इरानी तेलमाथिको निर्भरता घटाउन आफूहरूले आह्वान गर्दै आएको उल्लेख गरिन् । इरानी तेल कटौतीबाट सिर्जना हुनसक्ने तेल अभाव कम गर्न साउदी अरबले तेल उत्पादन बढाउन लागेको जानकारी पनि उनले दिइन् ।
‘भारतले इरानबाट आयात हुने तेलको मात्रा बिस्तारै कटौती गरिरहेको छ, भारतको यस्तो कदमको हामी स्वागत गर्दछौँ । आगामी दिनमा पनि भारतले जतिसक्दो बढी इरानी तेल कटौती गर्ने अपेक्षा अमेरिकाले गरेको छ,’ उनले भनिन् । इरानसँगका अन्य आर्थिक सम्बन्धलाई पनि भारतले सीमित गर्दै लैजाने आशा आफूहरूले गरेको उनले बताइन् । (एजेन्सी)

प्रतिक्रिया