सेनामा उच्च अधिकृत पद बढउन प्रस्ताव

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री बाबुराम भट्टराईले सेनालाई वैज्ञानिकीकरण र अन्तर्राष्ट्रिय मापदण्डअनुसार संरचनागत सुधार गर्न नेपाली सेनाको सङ्गठनात्मक आन्तरिक पुनःसंरचना गर्न लागिएको बताएका छन् ।
सिंहदरबारमा आज बसेको राज्य व्यवस्था समिति बैठकमा उनले नेपाली सेना मुलुकको सबैभन्दा उच्च सम्बेदनशील अङ्ग रहेको भन्दै सेनाको पुनःसंरचना गर्दा बृहत् राजनीतिक सहमति र संविधानको भावनाअनुरुप राजनीतिक सहमतिमा अगाडि बढाइने बताए ।
मुलुकको ऐतिहासिक, राजनीतिक, सामाजिक परिवर्तन एवम् प्रविधिको विकाससँगै सैनिक सङ्गठनको समयसापेक्ष परिवर्तन र वैज्ञानिक ढाँचाको सङ्गठनात्मक विकासका क्रममा आन्तरिक पुनःसंरचना मात्र गर्न खोजिएको भट्टराईको भनाई छ ।
उनले सेनालाई समावेशी बनाउने भन्ने बारेमा राष्ट्रिय सुरक्षा परिषद्मा छुट्टै छलफल गरी आवश्यक ऐन तयार पारिने उल्लेख गरे ।
‘सेनाको हालको दरबन्दीमा रहेको ज्येष्ठ अधिकृतको सङ्ख्यालाई छिमेकी राष्ट्रको सङ्ख्यासँग तुलना गर्दा धेरै कम सङ्ख्या रहेको छ,’ भट्टराईले भने, ‘नेपाली सेनाको समग्र संरचना, स्टाफ प्रक्रिया एवम् नेतृत्व प्रणाली सकेसम्म अन्तर्राष्ट्रियरुपमा मिल्दोजुल्दो हुन आवश्यक छ ।’
प्रधानमन्त्री भट्टराईले नेपाली सेनाको आन्तरिक पुनःसंरचना गर्दा हालको दरबन्दी सङ्ख्या ९२ हजार ७ सय ५३ मा वृद्धि नहुनुका साथै सरकारलाई कम आर्थिक भार १२ करोड पाँचलाख ७८ हजार ४ सय २८ रुपियाँ मात्र लाग्ने भन्दै सो रकम सेनाका लागि विनियोजित बजेटबाटै चरणबद्धरुपमा व्यवस्थापन गर्न सकिने बताए ।
समिति सदस्यहरुले भने सेनाको पुनःसंरचना तथा लोकतान्त्रिकीकरणको सवालमा महिला, दलित, आदिवासी र जनजातिलाई पनि समेट्ने गरी समावेशी ढङ्गबाट सेनाको पुनःसंरचना हुनुपर्नेमा जोड दिए ।
समितिका सदस्य प्रदीप ज्ञवालीले सेनाको लोकतान्त्रिकीकरणका लागि राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो ल्याएर राजनीतिक सहमतिबाट पुनःसंरचना गर्दा वस्तुनिष्ठ र व्यावहारिक हुनेमा जोड दिए ।
समिति सदस्य अर्जुनप्रसाद जोशीले सेनाजस्तो राष्ट्रिय विषयलाई कसरी पुनःसंरचना गर्दा त्यसले सहज निकास र सहज वातावरण बनाउन सक्छ भन्ने बारेमा पर्याप्त छलफल र गृहकार्य हुन आवश्यक रहेको बताए ।
समितिका सभापति रामनाथ ढकालले सेनाको पुनःसंरचना गर्ने कार्यमा सरकारलाई कुनै अवरोध सिर्जना गर्न नभई त्यसलाई सहज बनाउन छलफल आयोजना गरिएको बताए ।
नेपाल एकीकरणको सुरुवातसँगै विक्रम संवत १८१६ मा ४ वटा कम्पनीका रूपमा नेपाली सेना गठन भएको थियो ।
हाल नेपाली सेनामा रथी २, उपरथी १८, सहायकरथी ६९, महासेनानी १३२ र प्रमुख सेनानी ३ सय ८८ रहेको र पुनःसंरचना गर्दा रथी २, उपरथी ६, सहायकरथी १०, महासेनानी १४ र प्रमुख सेनानी ५० हुने छ ।

प्रतिक्रिया