‘बहिष्कारको चेतावनी पछि बैठक स्थगित’

काठमाडौं, २५ वैशाख । बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि एकीकृत माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको राजीनामा र आन्तरिक विवाद अन्त्य गर्नुपर्ने भन्दै आन्दोलित बनेको वैद्य समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित गरिएको एक नेताले जनाएका छन् । वैद्य समूहले आफूहरुलाई केन्द्रीय समितिको बैठकका बारेमा जानकारी नरहेको भन्दै सहभागी नहुने जनाएको थियो ।
उता, एमाओवादी प्रवक्ता दीनानाथ शमाले पार्टीका प्रमुख नेताहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको बताए । उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री र अन्य जिम्मेवार नेताहरु बिभिन्न छलफलहरुमा व्यस्त रहेपछि समय अभावका कारण बैठक स्थगित गरेका हौं ।’
स्थगित भएको एमाओवादी बैठक अब २७ गते विहान एघार बजे बस्ने छ । बैठकमा सरकारमा सहभागिता, संविधानका विवादित विषय अन्तर्गतका राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल हुने छ ।

प्रतिक्रिया