काठमाडौं, २५ वैशाख । प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतृत्ववीच सहमतीय सरकार र संविधानका विवादित विषयमा सहमति खोज्न छलफललाई तिव्रता दिने निष्कर्ष निकालेका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको तीन दलको बैठकमा सहमति गरेपनि एमाले सरकारमा सहभागी नभएको भन्दै एमाओवादीले असन्तुष्टि जनाएको छ । बैठकमा एमाओवादी अध्यक्ष दाहालले पाँच बुँदे सहमति गरेपनि एमालेले सरकारमा सहभागिता नजनाएर धोका दिएको आरोप लगाएका थिए ।
जवाफमा एमालेले सहमति विपरित आफूहरुसँग छलफल नै नगरेर मन्त्रालय विभाजन गर्नुका साथै मन्त्रालय विभाजन गरेको भन्दै असन्तुष्टि जनाएको थियो ।
छलफलमा एमालेलाई सरकारमा सहभागी गराउने र मन्त्रीको सिफारिस गर्न आग्रह गरिएको नेताहरुले बताएका छन् । बैठकमा एमालेले आफूसँग सल्लाहनै नगरेर मधेसी मोर्चालाई महत्वपूर्ण मन्त्रालय दिएको भन्दै असन्तुष्टि जनाएपछि प्रधानमन्त्री भट्टराईले त्यस विषयमा बिचार गर्न सकिने जनाएको बुझिएको छ ।
यसैवीच, प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति खोज्नका लागि दुई दिन थप गर्न संवैधानिक समितिलाई आग्रह गर्ने निर्णय समेत गरेका छन् ।
प्रतिक्रिया