मन्त्री चयन विधानविपरीत

काठमाडौं, २५वैशाख । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा जाने संस्थापन पक्षको निर्णय विधानविपरीत भएको ठहर गरेको छ । देउवा पक्षका केन्द्रीय सदस्य र सभासद्हरूको आइतबार भएको भेलाले पार्टीमा सहमति नगरी संस्थापन पक्ष एकलौटी ढंगबाट सरकारमा सहभागी भएको निष्कर्ष निकालेको हो ।

भट्टराई नेतृत्वमा गठित बहुमतको सरकारमा नजाने निर्णय यथावत् रहेका बेला केन्द्रीय समितिले अर्को निर्णयसमेत नगरी संस्थापन पक्ष सरकारमा गएको भन्दै भेलाले आपत्ति जनाएको छ । भेलाले भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने अडान लिएको केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जानकारी दिए ।
देउवा पक्षको बहिष्कारबीच शनिबार साँझ संस्थापन पक्षको बैठकले पाँचबुँदे सहमतिअनुसार भन्दै महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सूर्यमान गुरुङलाई सरकारमा पठाउने निर्णय गरेको थियो । सरकारमा पार्टीको सहभागिता विधानविपरीत भएको देउवा पक्षधर केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । पार्टी विधानमा सरकारमा जाने व्यक्तिको चयन संसदीय समितिले गर्ने व्यवस्था छ । भेलाले पार्टीको आन्तरिक विवाद समाधान नभएसम्म वर्तमान सरकारमा सहभागी नहुने निर्णयसमेत गरेको छ ।
भेलाले कांग्रेस नेतृत्वमा बन्ने सहमतीय सरकारको नेतृत्व देउवाले गर्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरूले यसअघि नै सहमतीय सरकारको नेतृत्व देउवाले गर्ने निर्णय भएको तर्कसहित सहमतीय सरकारको नेतृत्व देउवाले पाउनुपर्ने उनीहरूको दाबी छ । दलहरूबीच संविधान जारी गर्नुअघि नै कांग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गर्ने सहमति भइसकेको छ ।

प्रतिक्रिया