‘सरकारमा नजने एमाले निर्णय’

काठमाडौं, २४ वैशाख । संविधानसभाको तेस्रो ठूलो दल एमालेले तत्काल प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री भट्टराई र एमाओवादीले पाँच बुँदे सहमति भएको अर्को दिनबाट एमालेलाई वेवास्ता गरेको ठहर समेत गरेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले एमालेले शान्ति र संविधानका लागि सरकार बाहिर रहेर सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘शान्ति र संविधान हाम्रो पहिलो प्राथमिकता हो, त्यसलाई सहयोग गर्छौं ।’
एमालेले संविधानका बिवादित विषयमा हुने सहमति र प्रधानमन्त्री भट्टराईसँगको बार्ताका आधारमा सरकारमा सहभागी हुने वा नहुने विषयमा तय हुने जनाएको छ ।
‘पाँच बुँदे सहमति भएको अर्को दिनबाट एमालेलाई वेवास्ता गरियो’, नेता ज्ञवालीले भने, ‘मन्त्रालय विभाजन होस वा पोर्टफोलियो लगायतमा हामीसँग सरसल्लाहनै गरिएन ।’
बैठकमा स्थायी समितिले राखेको दुई बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी सक्किएको छ ।
बैठकमा धारणा राख्ने अधिकांस केन्द्रीय सदस्यले आफैले विपक्षमा मतदान गरेको सरकारमा सहभागी हुन नहुने भन्दै नेतृत्वलाई सुझाव दिएका थिए । सरकारमा सहभागिताको विषयमा केन्द्रीय सदस्यले आलोचना गरेपछि बैठकमा केही असहज भएको थियो ।
अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म सरकारमा सहभागी हुन नहुने सुझाव दिएका थिए । केहीले संविधानका बिवादित विषयमा सहमति जुटेपछि मात्रै सरकारमा सहभागी हुने अन्यथा बाहिरैबाट समर्थन गर्नपनि सुझाव दिए ।
यद्यपि केही केन्द्रीय सदस्यले भने पाँच बुँदे सहमति गरेर पार्टी चुकिसकेकाले सरकारमा सहभागी हुनुनै उचित हुने सुझाव पनि दिएका थिए ।

प्रतिक्रिया