अर्जेन्टिनाले क्षमा माग्नुपर्छ : इङल्यान्ड

रोयटर्स
लन्डन, २४ वैशाख । विवादास्पद फकल्यान्ड आइसल्यान्डलाई आफ्नो दावी गरिएको टेलिभिजन विज्ञापनमार्फत आसन्न लन्डन ओलम्पिक गेम्सलाई राजनीतिक प्रयोजन गरेको भन्दै इङल्यान्डले अर्जेटिनालाई क्षमा माग्न र अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) लाई छानबिन गर्न अनुरोध गरेको छ । उक्त टिभी विज्ञापन अर्थहीन र अनादरपूर्ण रहेको इङल्यान्डको दाबी छ ।
उक्त विज्ञापनमा फकल्यान्डमा एक अर्जेन्टिनी हकी खेलाडी प्रशिक्षण गरिरहेको देखाइएको छ । साउथ एटलान्टिकमा पर्ने उक्त भूमिका लागि अर्जेन्टिना र इङल्यान्डबीच सन् १९८२ सम्म युद्ध भएको थियो ।
एक मिनेट ३० सेकेन्डको उक्त विज्ञापन भोइस ओभरमार्फत ‘इङलिसको माटोमा भिड्न हामी अर्जेन्टिनाको भूमिमा प्रशिक्षण गरिराखेका छौं’ भन्दै सकिन्छ । बेलायती रक्षासचिव फिलिप हामोन्दले उक्त विज्ञापनप्रति खेद व्यक्त गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई यसबारे छानबिन गर्न अनुरोध गरेका छन् । ‘अर्थहीन यस विज्ञापनले फकल्यान्डको बचाउका लागि ज्यान चढाएका बेलायती सेना, नाभिक र वायुसेनाको अपमान गरेको छ,’ स्काई टिभीसँग बोल्दै हामोन्दले भने ।
उनले अर्जेन्टिनाले ओलम्पिककै अपमान गरेको आरोप लगाए । ‘मलाई लाग्छ, यो ओलम्पिककै आधारभूत सिद्धान्तविपरीत हो जसमा राजनीति एकातर्फ हुन्छ, कसैलाई पनि ओलम्पिक लोगो दुरुपयोग गर्न अधिकार हँुदैन । मलाई लाग्छ, आइओसीले पनि यो हेरिरहेको छ,’ उनले भने । तर, यसैकारण ओलम्पिकमा अर्जेन्टिनालाई सहभागी हुनबाट रोक्नुपर्छ चाहिं उनले भनेनन् । ‘मलाई लाग्छ, चाँडोभन्दा चाँडो अर्जेन्टिनालाई यो विज्ञापन प्रसारण गर्न रोक्नुपर्छ र क्षमा माग्नुपर्छ ।’ लन्डन र ब्युनस आयर्सबीच केही वर्षयता देखिएको कूटनीतिक विचलनको शृंखलामा विज्ञापन पछिल्लोपटक जोडिएको छ । फकल्यान्डमा रहेको तेलका लागि बेलायती कम्पनीहरू लागिपरेपछि यी दुई राष्ट्रबीचको यो पुरानो तनाब पुन: ब्यँुतिएको हो । युद्ध रोकिएको ३० वर्षपछि यी दुवै राष्ट्र पुन: आ–आफ्नो दाबी गर्न थालेका हुन् । युद्धकै कारण विश्वभर चर्चामा रहेको फकल्यान्ड आइसल्यान्डलाई अर्जेन्टिनाले ‘लास मालभिनास’ भन्ने गरेको छ ।
अर्जेन्टिनी पानीजहाज बेलायतले डुबाएको ३०आंै वर्षको भोलिपल्टदेखि अर्जेन्टिनाले यो विज्ञापन प्रसारण सुरु गरेको थियो । यस घटनामा तीन सयभन्दा बढी मानिसको निधन भएको थियो । बेलायती महिला हकी टिम र अर्जेन्टिनी महिला हकी टिमबीच अभ्यास खेल हुन लागिरहेका बेला यी दुई राष्ट्रबीच यस्तो तनाब देखिएको हो ।

कूटनीतिक आक्रमण
विज्ञापनमा अर्जेन्टिनी हकी टिमका कप्तान फर्नान्डो जिलवर्बर्ग बिहानै फकल्यान्डमा प्रशिक्षण गर्न गएको देखाइएको छ । यसक्रममा जिलवर्बर्गले बेलायती ‘लेन्डमार्कस’ लाई बुझाउने राजधानी पोर्ट स्टानले र एउटा रातो टेलिफोन बक्स दौडँदै पार गरेका छन् ।
अर्जेन्टिनी अखबार क्लारिनका अनुसार जिलवर्बर्ग गत मार्चमा फकल्यान्डमा म्याराथन प्रतियोगितामा भाग लिने क्रममा उक्त विज्ञापन तयार गरिएको हो । बेलायती परराष्ट्र सचिव विलियम हेगले उक्त विज्ञापन ‘स्टन्ट’ भन्दै अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले ओलम्पिक गेम्सलाई दुरुपयोग गरेको आरोप लगाए । अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेजले बेलायतले ग्रामीण आइसल्यान्ड फकल्यान्डलाई उपनिवेश बनाइरहेको भन्दै त्यसलाई खुला सार्वभौमिक बनाउनुपर्ने बताउँदै आएकी छन् ।
यता बेलायतले भने १९आंै शताब्दीदेखि शासन गर्दै आइरहेको भन्दै यहाँका मानिस बेलायती बन्न चाहेको भनेर फर्नान्डेजको प्रस्ताव अस्वीकार गर्दै आइरहेको छ । फकल्यान्डको स्वीकृतिविना नै भिडियो तयार पारिएको दाबी गरिएको सो विज्ञापनबारे प्रतिक्रिया दिँदै अर्जेन्टिना सरकारले लन्डन ओलम्पिकबाट राजनीतिक इच्छापूर्ति गर्ने आफूहरूको कुनै योजना नरहेको स्पष्ट पारिसकेको छ । अर्जेन्टिनाका खेलकुद सचिव क्लाउडिओ मोरेसीले रोयटर्सलाई केही दिनअघि भनेका थिए, ‘लन्डन ओलम्पिकमा अर्जेन्टिनी प्रतिनिधि मण्डल मालभिनास पनि अर्जेन्टिनी हुन् भन्ने ‘माइन्डसेट’ मा सहभागी हुनेछन् ।’

प्रतिक्रिया