जग्गा सकियो तर छोरो निको भएन

नेपालगन्ज : रझेना–१ का शोभा थारू दम्पतीले रक्तअल्पतापीडित चारवर्षीय छोरा सहजरामको उपचारका लागि जग्गाजमिन सिध्यायो तर छोरा भने निको भएका छैनन् । महिनैपिच्छे रगत दिइरहनुपर्ने सहजरामलाई समयमा रगत नदिए उनको ज्यानै जान सक्छ । नेपालगन्जको ब्लड बैंकमा भेटिएकी शोभाले भनिन्, ‘रगत कम भएछ, रातभर छोरा अचेत भएको थियो । आज रगत चढाउन ल्याएकी छु ।’
उनका अनुसार जन्मेको दुई वर्षसम्म सहजरामको स्वास्थ्य ठीक थियो । त्यसपछि ज्वरो आउने र कान पाक्न थाल्यो । कानको उपचारपछि पेट फुल्ने र बेहोस हुने समस्या सुरु भयो । अहिले सहजरामको पेट असामान्य रूपमा ठूलो भएको छ । रगतको कमी हुनेबित्तिकै उनी बेहोस हुन्छन् । अन्यबेला भने साथीसँंग रमाइलो गर्छन् । नेपालगन्जमा कानको उपचार गर्नेबित्तिकै सहजरामलाई काठमाडांैको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँंका चिकित्सकले छोरा धेरै वर्ष नबाँच्ने भनी औषधि दिएर पठाएको उनले बताइन् । त्यसपछि उनीहरूले क्यान्सरको आशंकामा चितवनको भरतपुर क्यान्सर अस्पताल पुर्‍याए । चिकित्सकले क्यान्सर नभएको पुष्टि गरे ।
सहजरामलाई नेपालगन्जस्थित बालरोग विशेषज्ञ दुर्गा प्रधानको अस्पतालमा प्रत्येक महिना रगत दिइन्छ । प्रधानले रक्तल्पताका कारण सहजरामलाई यस्तो भएको र नियमित रगत दिनुपर्ने बताएको आमा शोभाले जानकारी दिइन् । डाक्टरका अनुसार विदेशमा उपचार गर्न सके मात्र सहजरामको रोग जाती हुन्छ । उनका पति कोहलपुरमा मजदुरी गर्दा रहेछन् । छोराकै रेखदेखमा समय बिताउने उनले पतिले कमाएको पैसाले खानै नपुग्ने बताइन् । ‘दुई कट्ठा जमिन बेचिसक्याँै, अब घरमात्र बाँकी छ, अब कसरी उपचार गर्ने होला ?’ उनले भनिन्, ‘म छोराको मृत्युको दिन गनेर बसिरहेकी छु ।’ (सौस)

प्रतिक्रिया