प्रतीक्षा नै प्रतीक्षा

ठमेलका गल्लीगल्लीमा गन्धर्वहरूले लुम्बिनी भ्रमण–वर्षका बारेमा गीत गाइरहेका थिए । टुरिस्ट गाइडहरूले गन्धर्वका गीतको भाव अनुवाद गरेर विदेशी पाहुनाहरूलाई सुनाइरहेका थिए । गन्धर्वहरूदेखि टुरिस्ट गाइड, होटलका स्टाफ, ट्राभल्स एजेन्टसम्मले ‘लेट्स गो लुम्बिनी’ लेखिएका टिसर्ट पहिरिएका थिए । लुम्बिनी भ्रमण–वर्षलाई उत्सवमयी रूपले प्रचार–प्रसार गर्न आमनेपाली लागिपरेका थिए । गैरबौद्धधर्मालम्बीहरू पनि उल्लेख्य संख्यामा लुम्बिनी भ्रमणमा आइरहेका थिए । बौद्धधर्मालम्बी लुम्बिनी लभर्स नहुने कुरै थिएन । यही मान्यताले लुम्बिनीलाई विश्वव्यापीकरण गर्न गन्धर्वहरूदेखि आमनेपाली अनि अन्तर्राष्ट्रिय शुभचिन्तकहरूसम्म लागिपरेका थिए । यसलाई विरोध गर्नेहरूले पनि लुम्बिनीको राम्ररी प्रचार–प्रसार गरिरहेका थिए । यहाँसम्म कि उनीहरूले लुम्बिनीमा राष्ट्र संघका महासचिव आउनु हुँदैन भनी समेत आत्मरतिको विजय उत्सव मनाए ।
समय बित्न बेर लाग्दो रहेनछ । मेगम सक्तो स्रोतसामग्री संकलन गरेर विश्वविद्यालय फर्किइसकिछिन् । उसलाई अत्तोपत्तो थिएन । उनीहरूले सुनियोजित किसिमले उसलाई यसबारे जानकारी दिएका थिएनन् । अनलाइनमा पनि एक हप्तासम्म उनीहरू सम्पर्कमा आएका थिएनन् । जब उनीहरूबीच सम्पर्क भयो, त्यतिन्जेलसम्म मेगम विश्वविद्यालय फर्किसकेकी थिइन् । प्रतीक्षा पनि क्यान्टोनमेन्ट फर्किएर आफ्नो कर्ममा लागिसकेकी थिइन् । प्रतीक्षासँग पनि अब अनलाइन र मौका मिले प्रत्यक्ष सम्पर्क गर्न उसका लागि अपायक थिएन । इन्टेलेक्चुअल आमा हेलेनले इमेलमार्फत् उसलाई चमेली उर्फ प्रतीक्षालाई बिहे गर्न सुझाइरहेकी थिइन् । मेगम पनि अन्तत: त्यही चाहन्थिन् । हिजोको उनीहरूबीचको सम्बन्धलाई दुवैले इतिहासको सुनौलो बाकसभित्र लुकाएर राखिसकेका थिए । त्यो सुनौलो विगतलाई सम्झनाको उच्च स्थानमा सजाएर राख्ने उनीहरूबीच मौन सहमति भएको थियो । समाजको नजरमा एक ‘अवैध’ छोरीकी आमालाई अर्धांगिनीका रूपमा अँगाल्न ऊ आतुर थियो तर त्यसलाई व्यक्त गर्न उपयुक्त समय जुरिसकेको थिएन ।
क्यान्टोनमेन्टका सेनालाई समायोजन र बिदाई गर्ने क्रममा विवादास्पद मुद्दा उठिरहेको थियो । समायोजनबारे विभिन्न ताण्डव मञ्चन भइरहेकै थिए । अन्योलकै बीचमा पनि उनीहरूको भेटघाट भइरहेको थियो । सरकारले अन्तत: सेना समायोजन र अवकाशको प्याकेज ल्यायो । प्रतीक्षाले स्वैच्छिक अवकाश रोजिन् । अनि क्यान्टोनमेन्टबाट छिट्टै बिदाईको प्रतीक्षामा थिइन्, प्रतीक्षा । प्रतीक्षा र समीक्षा उसको जीवनको अभिन्न अंग बनिसकेका थिए । समीक्षा ऊसँग साथीझैँ चल्थिन्, खेल्थिन् । ऊ र प्रतीक्षाबीच कहिले टेलिफोन त कहिले इमेलमार्फत पनि नियमित कुराकानी भइरहेको थियो । अन्तत: विवादैविवादबीच प्रतीक्षाले लडाकुको शिविरे जीवनबाट बिदाई लिइन् । एक हातमा चेक र अर्को हातमा समीक्षा डोर्‍याउँदै क्यान्टोनमेन्ट जीवनबाट उनी बाहिर आइन् । सारा सम्पत्तिका नाममा एउटा चेक, एउटा झोला, जिन्दगीको नाममा एउटा जिन्दगी, थप एउटी छोरी । बस † चेक बुझेर बाहिर निस्किएको दिन प्रतीक्षालाई संसारै अर्कैझैँ लागिरहेको थियो । कस्तो–कस्तो, सस्तो–सस्तोजस्तो लागिरहेको थियो । स्वतन्त्रको पनि स्वतन्त्र जीवनजस्तो । शरणार्थीको पनि शरणार्थी जीवनजस्तो । केही नभएर पनि सबै भएजस्तो । सबै भएर पनि केही नभएजस्तो । त्यो तीन लाख ५० हजार केही होइन जस्तो । त्यो केही लाख केही हो जस्तो पनि । कस्तोकस्तो अनुभूति । जनयुद्ध व्यर्थ लडेजस्तो । जनयुद्ध व्यर्थ नलडेजस्तो पनि । निरन्तर युद्ध, निरन्तर क्रान्ति अनि मात्र शान्तिका प्रशिक्षणको भट्टीबाट खारिएर निस्किएकी प्रतीक्षालाई अब के गर्ने, के नगर्नेको अन्योलले घेरेको भान भयो । त्यो केही लाखले के गर्नु, के नगर्नु ? त्यो पनि नपाएमा झन् के गर्नु ? प्रतीक्षालाई शरणार्थी शिविरका अगि तेर्सिएका तेस्रो देश पुनर्वासीका कहानी र उनीजस्ता स्वैच्छिक अवकाशीका इतिहासमाझ छताछुल्ल पोखिएका आत्मपराजयका पीडा उस्तैउस्तै लाग्यो । अनिश्चित सपनाको अनिश्चित समाधिको खोजी उस्तैउस्तै लाग्यो । कुर्नु नै जीवन हो भने भित्र बसे पनि उही हो, बाहिर बसे पनि उही हो भन्ने लाग्यो । शरणार्थी तेस्रो देश गए पनि सपनाको समाधि कुर्नुपर्ने, दोस्रो देशमै बसे पनि कुर्नुपर्ने अवस्थाजस्तै शान्तिप्रक्रियाका सपना, क्रान्तिका सपना, सपनाका समाधिका सपना सबै कुर्नुको विकल्प थिएन । कृषि विकास बैंकमै समीक्षाको शिक्षा र भविष्यका लागि प्रतीक्षाले मुद्दति खाता खोलिन् । प्रतीक्षालाई बौद्धिक सिर्जनात्मक क्रान्ति गर्नु थियो । विश्वशान्तिको पक्षमा पनि सक्तो क्रान्ति गर्नु थियो । र, गर्नु थियो– निसर्त प्रेमको क्रान्ति । बौद्धिक भेङ्गार्डको जीवन–संघर्षका लागि अबका दिन कठोर काठमाडौंमा बस्नु उनको बौद्धिक सपनाको बाध्यता पनि थियो । द्वन्द्वदर्शनमा एमफिल अनि विद्यावारिधिको सपनाको समाधिस्थलको खोजी र त्यसका लागि पूर्वाधार निर्माण गर्नु पनि थियो । प्रतीक्षा र समीक्षाका लागि उसले काठमाडौँमा एउटा सकेसम्म सस्तो कोठा खोजेर ठीक पारिसकेको थियो । विश्वविद्यालय र पुस्तकालय पायक पर्ने किसिमले लोकेसन छनोट गरिएको थियो । प्रतीक्षा एक झोला झिटीझाम्टा बोकी नयाँ संसारमा आइपुगिन् । उसले प्रतीक्षाका लागि बौद्धिक सेटलमेन्टमा पायक पर्ने वातावरणको व्यवस्था गर्न सक्तो सहयोग गर्‍यो । अनि अन्य कुरा … । प्रतीक्षाको कोठामा केही थिएन । मुस्किलले दुईजनालाई पुग्ने ओछ्यान, दुई थान थालकचौरा, एकसरो पकाउने भाँडाकँुडा, अली बढी थियो भने किताबकै चाङ मात्र । त्यो पनि महँगा किताबका फोटोकपी नै बढी । उसको कोठा र उनको कोठा मित लगाए पनि फरक पर्नेवाला थिएन । ऊ विदेशी पाहुना लिएर बाहिर नगएका बेलामा कि त उनको कोठामा हुन्थ्यो कि भने उनी उसको कोठामा । उसको रुम पार्टनर विद्यार्थी भाइ पनि बेलाबखत विदेशीको भरिया बनेर बाहिर जाने भएकाले उसले उनलाई सहजै उसकहाँ खानाका लागि आमन्त्रित गर्न सक्थ्यो । उसलाई उनको कोठामा जान आउन कुनै अप्ठ्यारो थिएन । ऊ आफूलाई अध्ययनशील ठान्थ्यो । उसलाई पछिल्लो समय ऊभन्दा बढी उनी पो अध्ययनशीलझैँ लाग्दै थियो । प्रतीक्षा चमेली अवतारमै हुँदा उसले उनीसँग पुस्तकमित्रताको प्रस्तावसहित पत्र र पुस्तक पठाएको कथा र त्यसले निम्त्याएको विपत्तिले ऊ अझै बेलाबखत कहिले झस्किन्थ्यो भने कहिले भावुक बन्ने गथ्र्यो । प्रतीक्षाले आजसम्म उसको त्यही बुकफ्रेन्डसिपको परिकल्पनालाई व्यवहारमा प्रयोग गर्दै आएकी रहिछिन् । पुस्तकमित्रताको परिकल्पनाको सफल प्रयोगको सत्यकथा सुनेर ऊ एक्कासि आफूलाई सम्हाल्नै नसकिने गरी आश्चर्य प्रकट गर्दै पुलकित भयो । उसले अचानक उनीसित हात मिलायो । केहीबेरसम्म उसले प्रतीक्षाको हात समातेको समात्यै भयो । समीक्षाले निर्दोष मुस्कान छर्दै हेरिरहेकी थिइन् । उनले बिस्तारै हात छुटाइन्, मौन सहमतिमा ।
प्रतीक्षाका एक दर्जनभन्दा बढी विशेष पुस्तकमित्र रहेछन् । कोही नजिकका, कोही अलि परका । सस्तो हुलाक तथा पुस्तकमित्रका सञ्जालद्वारा आदान–प्रदान हुँदोरहेछ पुस्तक । प्रतीक्षाले एउटा पुस्तक किनेर दर्जनभन्दा बढी किताब अध्ययन गर्न पाइने संयन्त्र बनाएकी रहिछिन् । कसैले एउटा पुस्तक किनेपछि तीनदेखि पाँच दिनभित्र पढिसकेर अर्का साथीकहाँ हस्तान्तरण गर्ने संयन्त्र । कुनै पनि पुस्तक पढिसकेपछि कसैको पुस्तक व्यक्तिगत र्‍याकमा थन्किदोरहेनछ । पढिसकेपछि गतिवान् बनेर अर्का साथीकहाँ पुग्दोरहेछ पुस्तक । फिरन्तेझैँ घुमिरहँदारहेछन्, पुस्तकहरू । सञ्जालका सदस्य कहिल्यै नयाँ पुस्तकविहीन बन्नुनपर्ने रहेछ । थोरै पुस्तक किनेर धेरै पढ्न पाइने यस संस्कृतिलाई जति सक्यो बढी फराकिलो बनाउँदै लैजाने योजनामा थिइन्, प्रतीक्षा । ऊ पनि त्यसमा सतप्रतिशत समर्पित ।
पुस्तकलाई कोठामा थन्क्याएर धमिरा लगाई ठूलो विद्वान् सम्झने चरम व्यक्तिवादी बुद्धिजीवीविरुद्ध एक सामूहिक हस्तक्षेपको अभियान थियो, त्यो । उसको परिकल्पनामा आधारित । उनको व्यावहारिक प्रयोगले परिष्कृत, बुकफ्रेन्डसिप अभियान । जसका लागि ठूलो कुनै कुराको आवश्यकता पर्दैनथ्यो । फगत इमानदारिता र सहकारिताको भावना भए पुग्थ्यो । आर्थिक रूपले विपन्नवर्गका साथीहरूले पनि घरमै बसेर नयाँ पुस्तक नियमित पढ्न पाउने सामूहिक संस्कृति यो अभियान उनको सर्कलमा निकै प्रभावकारी हुँदै गएको थियो । अब अर्को सदस्य ऊ पनि थपिएको थियो र मेगम पनि । ऊ प्रतीक्षाप्रति निकै कृतज्ञ बन्न पुगेको थियो । जुन कुरा उसले व्यक्त नगरी बस्नसक्ने कुरै भएन । ऊ मौन बस्न सकेन । एक शनिबार स्वयम्भू घुम्ने क्रममा उसले मनका केही उकुसमुकुस पोख्यो । अलि परको पसलबाट बौद्धदर्शन मन्त्रसँग सम्बन्धित मीठो संगीत एकनासले घन्किरहेको थियो–
….ओम्….माने….पेमे….हुँ….।
….ओम्….माने….पेमे….हुँ….।
जिन्दगी प्रतीक्षा हो । प्रतीक्षा जिन्दगी । प्रतीक्षा र प्रतीक्षाले उसको र उनको जीवनमा धेरै प्रभाव पारिसकेको थियो । कस्तो संयोग भनौँैं कि समयको खेल । दुई दशक ऊ र उसका आफन्तले गएगुज्रिएको जीवन बाँचेर स्वदेश फिर्तीका लागि प्रतीक्षा गरे । अहिले ऊ प्रतीक्षाकै प्रतीक्षामा छ । प्रतीक्षा पनि प्रतीक्षामै छिन् । मुलुक प्रतीक्षामा छ । प्रतीक्षा नै प्रतीक्षा । वरिपरि प्रतीक्षा । ऊ र प्रतीक्षा । प्रतीक्षा र ऊ । ऊभित्र प्रतीक्षा । प्रतीक्षाभित्र ऊ । प्रतीक्षाभित्र प्रतीक्षा । धार्मिक धुनसँगै उसले सप्तरंगी प्रतीक्षाको समयचक्र घुमिरहेको विसंगत तस्बिर देख्यो । दिवास्वप्नको स्वर्णिम संसारमा ऊ हरायो, …।
(चर्चित किताब ‘शक्ति, स्रस्टा र सवाल्र्टन’का लेखक डा. तारालाल श्रेष्ठको आजै सार्वजनिक हुने पहिलो उपन्यास ‘सपनाको समाधि’को एक अंश । उपन्यास डिस्कोर्स पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।)

प्रतिक्रिया