अलमलिएको भविष्य

स्वैच्छिक अवकाश रोजेर लडाकु शिविर छाडेपछि चित्रबहादुर विश्वकर्माका अगाडि एउटै प्रश्न तेर्सिइरहेको छ– भविष्यमा के गर्ने ? हत्केलामा चिउँडो अड्याएर भावी दिनको गन्तव्य खोजिरहन्छन् । साथीहरूसँग सल्लाह लिन भौँतारिइरहेका हुन्छन् । फर्किएर घर जाँदा बाबु हुर्मत विकलाई दिन सक्ने कोसेली केही छैन उनीसँग । ‘वर्ग संघर्ष’को बाटोबाट युद्ध लडेर समतामूलक समाज बनाउने भन्दै नेताहरूले बाँडेका सपना भत्किएको छ उनका लागि । खाली हात ‘सुकुम्बासी’ बनेर भविष्य खोज्दै यताउति चहारिरहेछन् ।
आठ वर्षसम्म पूरै लडाइँमा बिताए । केही अघिसम्म राष्ट्रको सेना बनेर मातृभूमिको सेवा गर्छु भन्ने गतिलो जोस अनि सपना थियो । स्वैच्छिक अवकाशसँगै त्यो बाटै टुंगिएझैँ भएको छ । शान्ति–सम्झौतापछि बनेको योजनाअनुरूप अस्थायी शिविरभित्र पसेको प्रतिविम्ब भने स्मृतिपटलमा बारम्बार फर्किन्छ । ‘६ महिनाका लागि भनेर जंगलभित्र टहरा बनायौँ, यहीँ बस्यौँ, सेना बनेर जनताको सेवा गरौँला भन्ने अभिलाषा थियो, अब सबै अधुरो भो,’ उनले सम्झे ।
त्यतिबेला तयार गरिएको योजनाअनुसार ६ महिना शिविरमा बसेर समायोजनमा जाने भन्ने थियो । तर, समयले ६ महिना, वर्षदिन हुँदै पाँच वर्षको फेरो मारेको छ र उनी स्वैच्छिक अवकाशबापत पाएको अढाई लाख रुपियाँ लिएर फर्कंदै छन् । परिवर्तनको आन्दोलनमा घोट्टिएका उनी अहिले यस्तो निष्कर्षमा पुगेछन्– ‘आफ्नै जीवनमा जस्तै देशको जीवनमा पनि केही परिवर्तन होलाजस्तो छैन ।’ माओवादीमा लागेको साढे १३ वर्ष भएछ । उनको स्मृतिमा फेरि लडाइँका प्रतिविम्ब झल्किए, तिनले निराशाजनक निष्कर्ष उब्जाइदिए– ‘क्रान्तिको इतिहास अधुरो भो ।’
२०५६ साल साउन १५ गतेदेखि उनले आफ्नो थातथलो सल्यानमा रहेको परिचित पहाड कुमाखजस्तै अटल योद्धा बन्छु भनेर लडाइँको मैदान रोजेका रहेछन् । त्यसैले आफ्नो नामलाई ‘कुमाख’ मा परिवर्तन गरे । साम्यवादी विचारको प्रशिक्षित कार्यकर्ता बने, त्यसपछि लडाकु । उतिबेला ‘साम्यवाद स्थापनाको शत्रु’ भनेर नेपाली सेनासँग लडाइँको मैदानमा आफूलाई समर्पित गरे । अहिले मन अमिलो बनाउने विषय पनि सेनासँगै जोडिएको रहेछ– ‘पार्टी नेतृत्वले आफूहरूको भावनै नबुझी शिविरमा नेपाली सेना पठायो ।’
आठपटकसम्म नेपाली सेनाको ब्यारेकमा भएका हमलामा भाग लिएको सुनाउँछन् उनी । रुकुमको खारा, जुम्ला, अछाम, दाङको घोराही, लमही, भालुवाङ उनले अग्रपंक्तिमा बसेर सम्हालेका लडाइँका मोर्चा हुन् रे । दाङकै सद्वरियामा मोर्चाबन्दी असफल भएछ । अर्घाखाँची सदरमुकाममा लड्दा पाखुरामा गोली लागेछ । तर, आफूलाई विचलित हुन दिएनछन् । त्यतिबेला एउटै सपना थियो, ‘देशमा वर्गविहीन समाज स्थापना गरेर चमत्कार निम्त्याउनुपर्छ ।’ चितवनको शक्तिखोर शिविरमा आउनुअघि मकवानपुरको फापरबारीमा अन्तिम ‘लडाइँ’ लडेका रे यी पूर्वलडाकुले ।
युद्ध मैदानमै आफ्नै उमेरकी लडाकु भावना विकसँग उनको मन मिलेछ । सधैँ साथ दिने प्रतिबद्धता जनाउँदै उनीहरूले क्रान्तिकारी बिहे गरे । तर, तीन वर्ष पनि जीवनसाथी भावनाको सामीप्य पाएनन् । २०५९ सालमा उनले लडाइँकै मैदानमा सहादत पाइन् । तर, पनि उनी मक्किएनन् । मुटु जोसिलो बनाएर मुठ्ठी कसे– ‘क्रान्तिलाई सफल बनाएरै छाड्छु ।’
अहिले यस्तो ठहर्‍याउँछन् उनी– ‘शान्ति–सम्झौतापछि २०६३ सालमा शिविरमा लगेर हतियार बिसाएसँगै क्रान्तिले लक्षित गरेको शिखरमा विजयको चिराग बोकेर चमचमाइरहेको सफल योद्धा बन्ने सपना चकनाचुर हुन पुगेछ ।’ सात कक्षा पढ्दापढ्दै बाबुआमाको आँसु लत्याउँदै घरबाट भागेकामा अहिले पछुतो मान्छन् । बाबुआमा कमाउन नसक्ने भइसके, एउटी बहिनी पढ्दै छिन् । पढाउनुपर्ने दायित्व उनका काँधमा छ ।  शिविरमै बसेपछि प्लाटुन सहकमान्डर तहकी शान्ता उपरकोटीसँग वैवाहिक सम्बन्ध जोडे उनले । शिविरमै एउटा छोरा पनि जन्मिएको छ । शान्ता पनि स्वैच्छिक अवकाशबापतको चेक बुझेर सामान्य नागरिक बनिसकिन् । चारतिरको बोझ सम्हाल्नुपर्ने अवस्थामा चित्रबहादुर आफूलाई झनै रित्तो देख्दै छन् ।
‘पार्टीका नेताले घात गरे,’ युद्धमै जीवनका उर्वर समय बलिदान गरेको लडाकुको भविष्यप्रति नेताहरूको गैरजिम्मेवारीपनलाई यत्ति भन्छन् उनी । पाँच वर्षसम्म शक्तिखोर शिविरको दिनेश रामजी स्मृति ब्रिगेडमा बटालियन सहायक कमान्डर भएर बसेका विकले किन अवकाशै रोजे त ? भन्छन्– ‘नेतृत्वले बाटो बिराएकाले ।’ अब पार्टीको नाममा लागेर चकनाचुर भएको परिवारलाई दह्रो बनाउनु छ उनले । त्यसकै लागि जन्मघर सल्यान होइन, नेपालगन्जमा नयाँ बसाइ जमाउने योजना बुनेका छन् । त्यहीँबाट पार्टीको सम्पर्कमा पनि बसिरहने सोचेका छन् ।
‘एनेकपा माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईजस्ता नेताहरू राजनीतिको हिलोमा कमल बनेर फुल्नुको सट्टा गन्हाएर गए’ –उनको प्रतिक्रिया । तर, उनी राजनीति छोड्नचाहिँ चाहँदैनन् । माओवादी उपाध्यक्ष मोहन वैद्यपक्षका उनले योजना सुनाए– ‘केही मुठ्ठीभर दलालले हामीलाई आत्मसमर्पण गराए । तर, क्रान्तिको इतिहास पूरा हुन थोरै मात्रै बाँकी छ । कुनै न कुनै पंक्तिले यो अधुरो कडीलाई अवश्य जोड्नेछ ।’

प्रतिक्रिया